अर्ना, डिसहोम र केएमसीको छिर्के दाउ, तैँ चुप मैँ चुपको अवस्थामा क्यान-Sutra News

अर्ना, डिसहोम र केएमसीको छिर्के दाउ, तैँ चुप मैँ चुपको अवस्थामा क्यान

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । यतिबेला काठमाडौंमा एशियाली क्षेत्रको टि–२० विश्वकप छनोट प्रतियोगिता चलिरहेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।



शुक्रबार बिहान मुलपानी क्रिकेट मैदानमा हुने खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्न सके नेपाल सन् २०२४ मा आयोजना हुने टि–२० विश्वकपमा प्रवेश गर्नेछ । युएईले बिहीबार नै आफ्नो समूहचरणको अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गरेको विश्वकप छनोट प्रतियोगिता खेल्ने खेलाडीहरूलाई यतिबेला विभिन्न संस्था तथा व्यवसायिक संस्थाले आर्थिक सहयोगको प्याकेज सार्वजनिक गरेका छन् । केहि महिना अगाडि पाकिस्तान र श्रीलंकामा सम्पन्न एशिया कपको भारतविरुद्धको म्याचबाट खेलाडीलाई प्रदर्शनको आधारमा आर्थिक प्याकेजको घोषणा सुरुवात गरेको अर्ना बियर नामक कम्पनीले यसपटक पनि प्रदर्शनको आधारमा आर्थिक प्याकेजको घोषणा गरेको छ ।

यता, फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क र काठमाडाैं मेडिकल कलेजले पनि प्रदर्शनमा आधारित पुरस्कारको घोषणा गरेका छन् । व्यवसायिक कम्पनीहरूले राष्ट्रकै सान बनेका क्रिकेट खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउनु स्वभाविक नै भएको भएपनि नेपाली क्रिकेटको नियमनकारी संस्था क्यानको समन्वयबिना नै यस्ता पुरस्कार घोषणा गरिँदा भविष्यमा यसले पार्न सक्ने असरप्रति भने कसैले ध्यान जान सकेको छैन । क्यानले पनि यसको विषयमा कुनै ठोस कदम चाल्न सकेको छैन ।

अहिलेको विश्वकप छनोट प्रतियोगिताको मुख्य प्रायोजक रहेको डाबर नेपाल प्रा. ली, नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनर आइएमई पे, कोकाकोलालगायतका आधा दर्जन बढी यो प्रतियोगिताका व्यवसायिक साझेदार हुन् । तर, प्रतियोगिताका ठूलो रकम खर्चिएर प्रायोजक बनेकाभन्दा अहिले सस्तो पुरस्कार रकम घोषणा गर्नेहरूको ज्यादा चर्चा भएको छ । हुन पनि क्यानसँगको साझेदारीमा प्रतियोगिताको आयोजनामा व्यवसायिक साझेदार बनेकाभन्दा पनि अहिले खेलाडीलाई विभिन्न शीर्षकमा पुरस्कार रकम घोषणा गर्नेहरूको बजारमा चर्चा बढी छ ।

यसपटक प्रतियोगिता आयोजनामा साझेदारी गर्नेभन्दा पनि अरुको चर्चा हुनुले आगामी दिनमा प्रतियोगिता आयोजना गर्न क्यानले व्यवसायिक साझेदार नपाउने सम्भावना बढेको खेल सम्बद्ध विश्लेषकहरु बताउँछन् । क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष चतुरबहादुर चन्दले पनि क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन गर्न सबैले आर्थिक सहयोग गर्न सक्ने भएपनि एउटा निश्चित मापदण्ड बनाएर अगाडि बढ्न आवश्यक रहेको स्वीकार गरे ।

अहिलेकै ट्रेन्ड जारी रहे प्रतियोगिता आयोजनामा साझेदार बनेर क्यानसँग सहकार्य गर्नेभन्दा पनि पुरस्कार रकम घोषणा गर्दै ब्रान्डको चर्चा र मार्केटिङप्रति लालयित बन्ने स्थिति देखिन्छ । यसले आगामी समय क्यानलाई प्रतियोगिताहरु आयोजना गर्न सकस बन्ने देखाउँछ ।

अघिल्लो वर्ष आफैंले आयोजना गरेको नेपाल क्रिकेट लिगको पारिश्रमिक दिन नसकेर आलोचित बनेको क्यानले थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न व्यवसायिक साझेदार पाउन सकस नहोला भन्न सकिन्न । फेरि अर्कोतिर खेलाडीलाई आर्थिकरूपबाट सबल बनाउन पनि व्यवसायिक साझेदारहरूको सहयोग पनि उत्तिकै अपरिहार्य छ । यस्तोमा नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानले नै लाठी पनि नभाँचिने र सर्प पनि मर्ने विकल्प अगाडि बढाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट