उम्मेदवार छुट्याउन सकस- देउवाले शनिबार कुर्ने, पौडेलले आजै ट्राई गर्ने-Sutra News

उम्मेदवार छुट्याउन सकस- देउवाले शनिबार कुर्ने, पौडेलले आजै ट्राई गर्ने

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार छनोट गर्ने प्रक्रिया चलिरहेको छ



आज बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।

देउवाको आफ्नै निजी निवास बुढानिलकण्ठमा बैठक बस्यो तर उक्त बैठकले सभापतिको उम्मेदवार भने छुट्याउन सकेन ।

एक नेताले दिएको जानकारीअनुसार आकांक्षी धेरै भएका कारण संस्थापन पक्षले उम्मेदवार खडा गराउन नसकेको हो ।

संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् ।

त्यस्तै यता रामचन्द्र पौडेल समूहबाट पनि सभापति छनोट गर्नका लागि रस्साकस्सी चलेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के । आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने दबाबमा रहेका पौडेल त्यहाँबाट सिधै नेता कृष्णप्रसाद सिटौलाको घर पुगे ।

सिटौला पनि आफू निकट नेताहरूसँग महाधिवेशनको तयारीबारे छलफलमा थिए । बेलाबेला पौडेल र सिटौलाबीच संवाद र छलफल भने भइरहने गर्छ । तर, आज बिहान दुवै नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

१३औं महाधिवेशनपछि पौडेल र सिटौला अलग अलग भएका हुन् । सो महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा सिटौलाले साथ दिएपछि पौडेल पराजित भएका थिए ।

त्यसयता उनीहरूबीच खासै राम्रौ सम्बन्ध छैन । तर, सभापतिको साझा उम्मेदवार घोषणा गरेर नगए यसपटक पनि देउवाले जित्ने ठानेर पौडेल सिटौलाको सहयोग माग्न पुगेका थिए । भेटमा पौडेलले मिलेर जान आग्रह गरेका थिए । सिटौला निकट स्रोतका अनुसार पौडेलले उपसभापतिमा बसिदिन र पदाधिकारीमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए । सिटौलाले यसबारे आन्तरिक छलफल गर्ने बचन दिएका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट