

काठमाडौं । पश्चिमी राज्य महाराष्ट्रमा धार्मिक कार्यक्रममा खाना खाँदा महिला र बालबालिकासहित करिब तीन सय जना बिरामी परेका छन् ।
घटना मंगलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दु धार्मिक अनुष्ठानका क्रममा भएको हो ।
भोजन र प्रसाद ग्रहण गरेका थुप्रै व्यक्तिले बान्ता, पखाला, वाकवाकी र बेचैनी भएको बताएपछि उनीहरूलाई सरकारी स्वास्थ्य संस्थामा लगिएको थियो । अस्पतालमा शैयाको अभावका कारण अस्पतालको भवनबाहिरै खुल्ला ठाउँमा बिरामीको उपचार भइरहेको बताइएको छ ।
घटना स्थलबाट टेलिभिजनमा प्रशारण गरिएको भिडिओ फुटेजमा जमिनमा लडिरहेका बिरामीहरूलाई अस्पतालबाहिर खुल्ला ठाउँमा रूखका हाँगाबाट डोरीमा बाँधिएका बोतलहरूबाट इन्ट्राभेनस फ्लुइड खुवाइँदै गरेको देखाइएको थियो ।
जिल्ला कलेक्टर कार्यालयका स्थानीय सरकारी अधिकारीका अनुसार यो विषाक्त खानाको असर हो । अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका छन् र बाँकी रहेकालाई विभिन्न अस्पतालहरूमा निगरानीमा राखिएको छ ।
यसैबीच अधिकारीहरूले खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षण र विश्लेषणका लागि पठाएका छन् । घटनाबारे अनुसन्धान जारी छ ।