‘खजुरे ब्रो’को नयाँ पोस्टर: हातमा पैसा, साथमा हाँसो र सम्झनामा सुन्दरी-Sutra News

‘खजुरे ब्रो’को नयाँ पोस्टर: हातमा पैसा, साथमा हाँसो र सम्झनामा सुन्दरी

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ‘षडङ्ग’ निर्देशक सुरज सुनुवार निर्देशित कमेडी जनरामा बन्नेको यो फिल्म धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा बनेको हो।



धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि निधन भइसकेको छ। यूट्यूबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु देख्न सकिन्छ। जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ। ‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ। फिल्ममा खजुरे ब्रोको भूमिका रेयरले निर्वाह गरेका छन्।

फिल्मको सार्वजनिक पोस्टरमा शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा अत्यन्त खुशी मुद्रामा देख्न सकिन्छ। एकातीर पैसाले यी दुई पात्रलाई दिलाएको खुशी देख्न सकिन्छ भने अर्कोतर्फ खजुरेले यो खुशीमा आफूले मनपराएकी सुन्दरी युवती (नीति शाह)लाई याद गरिरहेको देखिन्छ। यी दुई कुराले फिल्मको बारेमा भन्ने कुराहरु बुझ्न सकिन्छ र साथमा केही जिज्ञाशाहरु पनि उब्जाएको छ।

के खजुरे उसको साथीको साथमा भएको यति धेरै पैसाका कारण आफूले मनपराएकी युवतीलाई पाउने आशामा यति पुलकित छ, या यो आशा केवल आशामा सीमित हुनेछ? विभिन्न प्रश्नहरु उब्जाउने यो पोस्टरले फिल्म प्रेम र पैसाको वरीपरी घुमेको स्पष्ट संकेत गर्छ।

बैशाखको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा अर्का कलाकार नविन मानन्धरलाई पनि स्थान दिइएको छ। पोस्टरमा उनलाई कुनै तहको परिक्षामा दिक्षित भएपछिको खुशी मुद्रालाई प्रस्तुत गरिएको छ। फिल्ममा पनि उनी प्रमूख भूमिकामा रहेका छन्।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्स्न मल्टीप्रपोजसँग सहकार्य गरेर निर्माण गरिएको यो फिल्ममा रेयर, महेश, नीति, नविनका अलावा प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्। शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरूङको सम्पादन छ। फिल्मका गीतमा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट