द्वारिकलालले आफ्नै घरमा माधव नेपाललाई दिए लन्च पार्टी-Sutra News

द्वारिकलालले आफ्नै घरमा माधव नेपाललाई दिए लन्च पार्टी

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८
madhaw nepal lunch party

नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् ।



एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत नेकपा (एस)का नेतालाई घरमा भोज खुवाएका हुन् ।

चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।

उनले स्वागत गर्दै इटहरी उपमहानगरभित्र बाढीको समस्या, छ लेन सडकमा भएको अवरोध तथा अन्य विषयमा लिखित ध्यानाकर्षण पत्रसमेत नेपाललाई र मुख्यमन्त्री राईलाई दिएका थिए ।

दुई दिनअघि मात्र उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेका थिए । उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए । बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए ।

समाजवादीको इटहरी नगर कमिटीको फेसबुकवालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट