‘बोक्सीको घर’ले दुई दिनमै कमायो २ करोड १५ लाख-Sutra News

‘बोक्सीको घर’ले दुई दिनमै कमायो २ करोड १५ लाख

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा बम्पर कमाई गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले घरेलु बक्स अफिसमा दुई दिनमा २ करोड १५ लाख रुपैयाँ कमाइ गरेको छ ।



समाजमा प्रचलित चित्रण गर्ने बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई प्रस्तुत गरिएको सोसल-थ्रीलर ड्रामा रहेको यो फिल्मले पहिलो सप्ताहन्त २ करोड १५ लाख रुपैयाँ कमाएको यसका वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन् । उनले फिल्मको यो व्यापारिक प्रदर्शनलाई बम्पर र आश्चर्यजनक भनेका छन् ।

नाटकमा आधारित भएर बनेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । लेखन पनि निर्देशक स्वयंको छ । फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन् । उनी यो फिल्मकी निर्मात्री पनि हुन् । निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् । यो फिल्म अभिनेत्री केकीको करिअरमै उत्कृष्ट ओपनिङ गर्ने फिल्म बनेको छ ।

फिल्ममा केकी र सुलक्षणका अलवा शुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

‘बोक्सीको घर’ले २५० शो पाएकोमा शनिबार १५० शो हाउसफुल भएको र बाँकी शो मा ८० प्रतिशत माथिको अकुपन्सी रहेको थियो । पहिलो दिन नै ठूलो संख्यामा दर्शकलाई हलसम्म तान्न सफल भएको फिल्मले शुक्रवार बिहानी शोमा औसत सुरुवात गरे पनि मध्यान्हबाट हाउसफुल व्यापार गरेको र शनिबार भने बिहानैदेखि आफ्नो प्रभाव देखाउन थालेको थियो । फिल्मका प्राय: सबै शोहरु हाउसफूल भएका थिए ।

शनिबार देशभरका हलको अकुपेन्सी ८० देखि शतप्रतिशत देखियो । विशेषगरी फिल्मको व्यापार काठमाडौंमा आक्रामक रह्यो । मोफसलका बुटवल, चितवन, धरान जस्ता ठूला सहरहरुमा पनि फिल्मको अकुपेन्सी सुखद थियो । शुक्रबारदेखि नै वक्सअफिसमा आक्रमक हुन सुरु गरेपछि केही मल्टिप्लेक्सले शनिबार फिल्मको शोहरु समेत भारी मात्रामा थपेका थिए ।

फिल्मले सकारात्मक प्रतिक्रिया बटुल्नुमा प्रकाश सपुतको संगीतमा तयार भएको ‘बुझिन मैंले‘ बोलको प्रचार गीतले ह्वातै बढाउने काम गरेको छ । जसकाकारण, फिल्म हेर्नका लागि महिला दर्शकको उपस्थिति बाक्लो देखिएको थियो ।

यता, फिल्मको ‘वर्ड अफ माउथ’ बलियो बनेसँगै अभिनेत्री केकी शुक्रबार र शनिबार दिनभर नै प्रतिक्रिया बुझ्न हल-हलमा पुगेकी थिइन् । फिल्मलाई दर्शकले दिएको साथ देख्दा सपनाझैँ लागिरहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट