‘वर एण्ड बधु’का लागि एक्सनका दृश्य खिचाउँदै आँचल र विवेक, गरिमाको पनि इन्ट्री-Sutra News

‘वर एण्ड बधु’का लागि एक्सनका दृश्य खिचाउँदै आँचल र विवेक, गरिमाको पनि इन्ट्री

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । निर्देशक मिलन चाम्सले निर्देशन गरिरहेको फिल्म ‘वर एण्ड बधु’को एक्सनका दृश्य खिचिएको छ ।



रोमानियामा ५० प्रतिशत छायांकन भएपछि रोकिएको फिल्मको सुटिङ यति बेला अगाडि बढिरहेको छ । पहिलो चरणको छायांकन सकेर केही समय ब्रेक गरेपछि दोस्रो चरणको छायांकन गरिरहेका छन् । हाल छायांकन भइरहेको फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएको हो । जसमा उनीहरू केही खलपात्र (भिलेन) हरुसँग लड्दै गरेको अवस्थामा भेटिए ।

उक्त छायांकन स्थल पुगेर हेर्दा नव-नायक विवेकसँग फाइट गरेपछि भिलेनहरु आँचलमाथि जाइलागेको दृश्य देखिइन्थ्यो। तर, आँचल शर्मा पनि कम देखिएकी थिइनन् । उनी पनि केही भिलेनहरुसँग जमेरै फाइट गरिरहेकी थिइन् ।

एक्सनको दृश्यको कोरियोग्राफी गरिरहेका निर्देशक हिमाल केसी र छायांकार सुदिप बराल आँचल र विवेकको प्रशंसा गरेर थाकेनन् । हिमालले भने, ‘आँचल शर्माको काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन् । विवेकले गरेको एक्सन देखेर दर्शकहरू दंग पर्नुहुनेछ । उनी कहीँ कतैबाट पनि नयाँ देखिँदैनन् ।’

नायिका आँचल शर्माले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो त्यस्तै काम गर्न पाएको बताइन् । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ ।’ आँचलले भनिन् ।

नायक विवेक कर्माचार्य पनि काम निकै राम्रो भएको भन्दै दंग देखिए । उनले, फिल्मका लागि प्याक्स समेत बनाएका छन् । यसका लागि उनले नुन छाडेको चार साता भयो । दिनमा एक लिटर मात्र पानी पिएका छन् । चिनी र तेल छोएकै छैनन् । विवेक फिल्मबाट निकै आशावादी सुनिए ।

यता, फिल्म ‘वर एण्ड बधु’मा मोडल गरिमा शर्माको समेत प्रवेश भएको छ । उनी फिल्म भित्रको एक विशेष पात्रका लागि बिहिबार अनुबन्धित भएकी हुन् ।  निर्देशक चाम्सले गरिमाको के-कस्तो भूमिकाको हो भन्ने विषयमा केही पनि खुलाएका छैनन् ।

गरिमाले फिल्ममा काम गर्ने पक्का भएसँगै मिडियासँग कुरा गर्दै भनिन्, ‘मेरो भूमिका फिल्ममा विशेष छ । यसका लागि उत्साहित छु । मिलन दाइसँग काम गर्न पाउँदा खुशी लागेको छ ।’ यसअघि फिल्ममा मोडल कुसुम शर्माको पनि प्रवेश भएको थियो ।

फिल्मको छायांकन अझै एक साता भन्दा बढी समय लाग्ने चाम्सले बताए । दुई वटा गीतको छायांकन सकेपछि सम्पूर्ण छायांकन सकिने उनको भनाई छ ।

फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । छायांकन सकिएपछि फिल्मको प्रदर्शन मिति तोक्ने निर्देशक चाम्सको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट