‘पुजार सार्की’मा भूमिका कम हो भन्ने टिप्पणीपछि पल शाहको यस्तो स्पष्टिकरण-Sutra News

‘पुजार सार्की’मा भूमिका कम हो भन्ने टिप्पणीपछि पल शाहको यस्तो स्पष्टिकरण

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडाैं । आगामी जेठ १० गते प्रदर्शनमा आउन लागेको फिल्म ‘पुजार सार्की’को मंगलबार ट्रेलर रिलिज गरिएको थियो ।



दिनेश राउतको निर्देशनमा बनेको फिल्मको युट्युबमा सार्वजनिक भएको दुई दिनमा ट्रेलरलाई १० लाख ३७ हजारभन्दा बढीले हेरिसकेका छन् । फिल्मले जातीयताको कथालाई उठान गरे छ ।

सुरुवातमा नेपाली कलाकार एकआपसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्दै स्टार अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित गराएर बजारमा तरंग सिर्जना गराइएको थियो ।

रोजाइका तीन स्टारहरू एकसाथ यो फिल्ममा देखिँदा यसले दर्शकमा छाड्ने छापसँगै स्मरणीय हुने अपेक्षा गरिएको छ । तर, यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फिल्मभित्र स्टार नायकहरूको भूमिकालाई लिएर यतिबेला चर्चा हुन थालेको छ ।

विशेषगरि ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएपछि नायक पलको भूमिकालाई लिएर केही टीका टिपणी भइरहेका छन् । ट्रेलरमा पललाई कमै देखाइएपछि उनको भूमिका पनि फिल्ममा कम छ ? भन्ने चर्चा भइरहेको छ । यता, पलका समर्थकले पनि भूमिका थोरै भएको भन्दै गुनासो गरिरहेका छन् ।

सार्वजनिक ट्रेलरमा अर्का नायक प्रदीप हाबी छन् । योसँगै उनको कामको तारिफ पनि भइरहेको छ । यसैबीच आफ्नो भूमिकाको विषयमा गुनासो धेरै गरेपछि पल शाहले स्पष्टिकरण नै दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले फिल्ममा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्, भने निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील तबरले ट्रेलरमा देखाइएको बताए ।

उनले लेखेका छन्, ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ, चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है।’

पलले ‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा दश लाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन् । उनले यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा कारणसहित क्षमा मागेका छन् ।

‘म अर्को फिल्म ‘रावायण’को छायांकनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोशिसका बाबजुद उपस्थित हुन सकिनँ, त्यसको लागि क्षमा चाहन्छु,’ शाहले लेखेका छन्, ‘मैले यो फिल्ममा अन्य चलचित्रभन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु, ट्रेलरबाट तपाईंले मेरो अभिनयबारे राख्नु भएको चासो र समर्थनप्रति आभारी छु ।’

आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बीर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्, ‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु, यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु, पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि, यो फिल्ममा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ ।’

यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्ममा तीन नायकसँग अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । फिल्मका निर्माता सुवास भुसाल हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट