एक हप्ताको फरकमा राउटे बस्तीमा तीनको मृत्यु-Sutra News

एक हप्ताको फरकमा राउटे बस्तीमा तीनको मृत्यु

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो ।



एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित  कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियोे ।

परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गर्नुभयो ।

मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन  आएका थिएनन् ।

“बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्”, उनले भने, “बालबालिकालाई जुकाको औषधि खुवायौँ । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।”

 जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा   केही औषधि उपलब्ध गराइएको र थप  औषधि  पछि पठाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट