बझाङमा एमाले उम्मेदवार विजयी, गठबन्धन तोड्दा मारमा पर्‍यो कांग्रेस-Sutra News

बझाङमा एमाले उम्मेदवार विजयी, गठबन्धन तोड्दा मारमा पर्‍यो कांग्रेस

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)को उपनिर्वाचन एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी विजयी भएका हुन् ।



भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाए ।

मुख्य दुई दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने तेस्रोको लागि प्रतिस्पर्धामा देखिए । जहाँ माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए ।

२०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका पृथ्वीबहादुर सिंहले जित हात पारेका थिए । तर, सडक दुर्घटनामा उनको निधन भएसँगै यहाँ उपनिर्वाचन भएको हो ।

तत्कालिन समय कांग्रेसका सिंहले माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि मत पाउँदा जित हात पारेका थिए । सिंहले १७ हजार ११२ मत पाउँदा एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाएका थिए ।

२०४८ पछि यो क्षेत्रमा तीन पटक कांग्रेस र चार पटक एमाले जित हात पारेको थियो । २०७९ मा गठबन्धनको साहारामा जितेको कांग्रेसलाई यसपटक गठबन्धन नबन्दा एमालेले एक्लै हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट