अस्ताए ‘यो दाजुको मिरमिरे आँखा’ का सर्जक धनबहादुर-Sutra News

अस्ताए ‘यो दाजुको मिरमिरे आँखा’ का सर्जक धनबहादुर

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

पोखरा- गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा-१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर-अमर गीतका सर्जक थिए ।



विसं २०२१ मा जन्मेका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए ।

उनी ‘लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ’  भन्नेमा विश्वास गर्थे ।  गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए । 

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए ।  

एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् ।

लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थपेका थिए । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट