चलचित्र छायांकनको उत्कृष्ट गन्तव्य बन्दै इलाम-Sutra News

चलचित्र छायांकनको उत्कृष्ट गन्तव्य बन्दै इलाम

सोमबार, १५ मंसिर २०७७

सोमबार, १५ मंसिर २०७७

इलाम- मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने चलचित्रबाट पछिल्लो समय पर्यटन प्रवद्र्धन समेत गर्न थालिएको छ । नयाँ-नयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने क्रम बढेको छ ।



चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो होइन । इलाममा भने यो नयाँ उद्देश्यका साथ चलचित्र बनाउने क्रम चल्न थालेको छ ।

केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको थियो ।

प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो चलचित्रमा हालसम्म कुनै चलचित्रमा नदेखाइएका ठाउँ पनि छायाङ्कनमा परेकाले छायाङ्कन क्षेत्र केही राम्रो देखियो ।

चलचित्रको व्यापार औसत भयो तर पर्यटनको प्रवद्र्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित ‘यस्तो गीत गाउँछु’ चलचित्रबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिल्यो । यस्तै, पछिल्लो समय इलामकै भूभागमा नयाँ चलचित्र ‘कृष्ण लीला’ छायाङ्कन थालिएको छ ।

इलामकै ८० प्रतिशत भूभागमा छायाङ्कन गरिने यस चलचित्रले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगरलगायतका क्षेत्रमा छायाङ्कन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायाङ्कन पाँचथरका विभिन्न ठाउँमा गरिने छ ।

हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवद्र्धन गर्ने चलचित्रको उद्देश्य रहेको चलचित्रका निर्माता केवल तामाङ बताउँछन् ।  चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फेलगायतको भूमिका रहने छ ।

‘पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ’, नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं १ का अध्यक्षसमेत रहेका तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवद्र्धन गर्न गाह्रो भएको बताउँछन् । 

‘हामीलाई केन्द्रीय सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छु, तामाङले भने, ‘अहिले त चलचित्रको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन ।’

चलचित्रका निर्देशक दीपक ओलीका अनुसार चलचित्रमा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा मायारप्रेम जोडेको आधार रहेछ । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, ‘रोल्पा रोग’ चलचित्र निर्देशन गरिसकेका छन् । 

यसअघिका चलचित्र व्यावसायिक रूपमा कमजोर भए पनि ‘कृष्ण लीला’ भने दर्शकले मन पराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । ‘पैसा कम कमाए भनेर मात्रै पनि सबै चलचित्रलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ’, ओलीले भने ।

हुन त इलाममा चलचित्र छायाङ्कन हुने क्रम नौलो होइन ।केही वर्षअघि जीवन लुइँटेल र नीता ढुङ्गाना अभिनित ‘नोट बुक’, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित ‘मुर्चुङ्गा’, प्रियङ्का कार्की र स्वस्तिमा खड्का अभिनित ‘नाइ नभन्नु ल-५’,लगायतका दर्जन बढी चलचित्र छायाङ्कन भइसकेका छन् तर, प्रायः चलचित्रमा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका चलचित्रमा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ । चलचित्रमा नयाँ क्षेत्र देखाउँदा चलचित्रका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा चलचित्र छायाङ्कन थालेको चलचित्रका अर्का निर्माता रत्न श्रेष्ठले बताउँछन् ।

यता चलचित्रका नायक पुष्प खड्का पनि उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर चलचित्रमा काम गर्दा नयाँ अनुभव हुने बताउँछन्, ‘पहिले एउटा चलचित्रमा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो ।’ इलामको देउमाई नगरपालिकास्थित पानीटारमा चलचित्र छायाङ्कनका क्रममा रहेका खड्काले आफूले नयाँ ठाउँमा चलचित्र खेल्न पाएको बताए ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र आउँदो ‘भ्यालेन्टाइन डे’ मा ‘रिलिज डेट’ तोकेको निर्माता तामाङको भनाइ छ । ‘स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौँ ।’ चलचित्रमा इलाममै छायाङ्कन गरिएका तीन वटा गीत रहने छन् भने चलचित्र दुई घण्टाभन्दा बढीको रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट