गीत ‘भाइरल’ बनाउन टिकटकको सहारा: सर्जकलाई कति फाइदा?-Sutra News

गीत ‘भाइरल’ बनाउन टिकटकको सहारा: सर्जकलाई कति फाइदा?

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं–  तीन महिनाअघि अमेरिका नर्थ क्यालोरिना क्षेत्रमा बस्ने नेपाली मुलका अभि वास्ताकोटी (कर्टिस वाटर्स)को ‘स्टनिन्’ बोलको गीत चर्चामा आयो। युट्युबमा रिलिज भएको केही दिनसम्म गीतले सुस्त गतिमा चर्चा पाइरहेको थियो। तर, कर्टिसले जब यही गीतमा साथीभाइसँग नाचेको भिडियो टिकटकमा राखे, गीतले एक्कासि ‘पिकअप’ लियो।



त्यसअघि पनि टिकटकमा सोही गीतमा नाचेर उनले भिडियो नराखेका होइनन्। केही प्रयासपछिको भिडियो भने अचानक हिट बन्न पुगेको थियो। अहिले कर्टिसको गीत युट्युबमा १ करोछ ६० लाखभन्दा धेरै पटक हेरिएको छ भने उक्त गीतमा टिकटकमा १३ लाखभन्दा धेरै भिडियो बनाइएका छन्।

कर्टिसले आफ्नो टिकटकमा गीतमा नाचेको एक भिडियोमा क्याप्सनमा लेखेका थिए, ‘भाइरल नहुँदासम्म आफ्नै गीतमा नाच्छु।’ उनले आशा गरेजस्तै केही समयपछि उनको गीत युट्युब, स्पोटिफाई लगायतका माध्यमहरुमा चर्चित भइसकेको थियो।

कर्टिसको गीतजस्तै अहिले प्रायः चर्चामा आएका नेपाली गीत हिट हुनुमा टिकटकको भूमिका देखिन्छ। बजारमा सार्वजनिक हुने नयाँ गीतहरुमा पनि तीनै गीतले अत्यधिक चर्चा पाउँछन्, जसलाई टिकटक केन्द्रित भएर निर्माण गरिएको हुन्छ।टिकटकमा १५ वा ५९ सेकेन्ड अभिनय गरेर हालिएका भिडियोले अहिले गीतलाई चर्चा दिलाइरहेको पाइन्छ।

केही समयअघि तीजको छेको पारेर सार्वजनिक भएको खेम सेन्चुरी र मधु क्षेत्रीको गीत ‘काइँयो र ऐना’ बोलको गीतको ‘सोचेझैं जिन्दगी रैनछ’ अंश निकै चर्चामा आएको थियो। गीतको सोही अंश चर्चामा आउनुको कारण थियो– उक्त अंशमा बनेका टिकटकहरू। टिकटकमा सो गीतको अंशमा ४३ हजारभन्दा बढी पटक टिकटक भिडियो बनाइसकिएको छ।

थुप्रै गीत छन्, जसका केही अंश टिकटकमा चर्चामा आएपछि पूरै गीतलाई नै हिट हुन कत्ति पनि बेर लागेको छैन। उदाहरणको रुपमा पछिल्लो समय आएको सजन राईको गीत ‘गाउँघरै रमाइलो’, एलिना चौहान तथा भीम विष्टको आवाजमा रहेको ‘छेकेर माया छेकिन्न’, किशोर शिवाकोटीको गायनमा रहेको ‘पर्ख तिमीलाई’, निशान भट्टराई तथा सोनिका लामाको आवाजमा रहेको ‘आँटो पिठो’ लगायतका गीत टिकटकको माध्यमबाट निकै चर्चामा आएका छन्।

त्यसो त गीत स्वयं पनि चर्चामा नआउने भन्ने होइन। तर,गीतको चर्चा निर्धारण गर्न टिकटकले भूमिका खेलेको देखिन्छ। तत्कालको लागि गीत चर्चित हुने वा नहुने भन्नेमा टिकटक आधार भएको देख्न सकिन्छ।

प्रायः टिकटकमार्फत् चर्चामा आएका व्यक्तिमार्फत् गीतमा भिडियो निर्माण गरिनुले पनि त्यसलाई धेरै माझमा पु¥याइरहेको छ। सजन राईको गीत ‘गाउँ घरैको जीवन रमाइलो’मा टिकटकमार्फत् निकै चर्चित भएका सुधिर श्रेष्ठले भिडियो बनाएका थिए।

त्यसपछि, टिकटकमा धेरै फलोअर्स भएका अन्यले पनि गीतमा भिडियो बनाए। जसकारण गीतका केही अंशले निकै चर्चा पाएर। र ,समग्र गीत नै चर्चित बन्यो। सजन राईको अकाउन्टबाट राखिएको गीतमा हालसम्म २ सय हाराहारीले टिकटकमा भिडियो बनाएका छन्।

अहिलेका कुनै पनि गीत चर्चित हुनुमा टिकटकको हात भएसँगै टिकटकमा अत्यधिक फलोअर्स रहेका व्यक्तिहरुमार्फत् आफ्नो गीतमा भिडियो बनाएर पनि विज्ञापन गरिएको पाइन्छ।

सर्जक तथा गीत निर्माण गर्नेहरुले टिकटकमा बढी फलोअर्स रहेकाहरुलाई आफ्नो गीतमा भिडियो बनाएर पनि प्रोमोसन गर्न लगाएको स्पष्टसँग बुझिन्छ। एउटै गीतमा टिकटकमा बढि फलोअर्स हुने प्रयोगकर्ताहरूले एकै पटक भिडियो निर्माण गरेर त्यसको चर्चा निर्धारण गरिरहेका छन्।

गायक सजनका अनुसार गीतको टिकटकमा भिडियो बनाउनका निम्ति अनुरोध गरिएको थियो। तर, पैसा तिरेरै टिकटक बनाउन लगाइएन। सजन भन्छन्, ‘सुधिर जीलाई व्यक्तिगत चिनिएको थियो। उहाँलाई अनुरोध गरेपछि बनाइदिनुभयो।’

संगीतकार तथा गायक बसन्त सापकोटा टिकटकको माध्यमबाट अहिले गीतको विज्ञापन गर्न सहज भएको स्विकार्छन्। टिकटकको निर्माण गर्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १५ सेकेन्डसम्म कपिराइट नलाग्ने कुरालाई ध्यानमा राखिएको छ। जसकारण अहिले गीतहरुको कुनै अंशलाई लिएर त्यसमा अभिनय गर्ने वा लिपसिंक गरेर भिडियो बनाउनेहरु थुप्रै भेटिन्छन्।

गायक तथा संगीतकार सापकोटा भन्छन्, ‘टिकटकमा प्रयोगकर्ताहरुले सर्जकको सिर्जना प्रयोग गरिरहेका हुन्छन्। त्यसबाट चर्चासँगै आम्दानी पनि भइरहेको हुन्छ। तर, टिकटकमा हिट भएका प्रयोगकर्ताहरु हामीले गीतसंगीतमा अभिनयको लागि भन्दा नमान्ने पनि भइरहेको छ।’

गीत स्वयं पनि चर्चामा नआउने भन्ने होइन। तर,गीतको चर्चा निर्धारण गर्न टिकटकले भूमिका खेलेको देखिन्छ। तत्कालको लागि गीत चर्चित हुने वा नहुने भन्नेमा टिकटक आधार भएको देख्न सकिन्छ।

गायक निशान भट्टराई टिकटकलाई एउटा माध्यमको रुपमा लिनुपर्ने बताउँछन्। ‘इन्स्टाग्राम, फेसबुक, युट्युबजस्तै टिकटक पनि एउटा माध्यम हो,’ उनी भन्छन्, ‘यो माध्यम चलाउने मान्छे नै भयो। टिकटक अहिले हामीले नै चलाएर गीतसंगीतलाई चर्चामा ल्याउन भूमिका खेलिरहेको छ।’

कुनै प्रयोगकर्ताले कुनै गीतमाथि टिकटकमा भिडियो बनाएर राख्दा त्यो गीत राम्रो भएमा मात्रै त्यसमा दर्शकहरू तानिने निशानको तर्क छ। गीत आफैंमा राम्रो बनेको छ भने टिकटकमार्फत् चर्चामा आउने उनी बताउँछन् । भन्छन्, ‘हामीलाई मन परेका गीत वा गीतको अंशमा हामी भिडियो बनाएर टिकटकमा राख्छौं। त्यो गीत वा अंशमा कुनै राम्रो कुरा छ भने नै त्यो फैलिने हो। यसलाई नकरात्मक रुपमा लिनुपर्ने छैन।’

निशानले पछिल्लो समय गाएको ‘के माया लाग्छ र?’ बोलको गीत टिकटकमा निकै चर्चित भएको थियो। उक्त गीतमा ४ लाखभन्दा धेरै टिकटक भिडियो निर्माण भएका छन्। निशान भन्छन्, ‘टिकटकमार्फत् आफ्नो प्रतिभा देखाउनेहरुले हामी सर्जकको गीत संगीतलाई पनि दर्शक/श्रोता माझ पुर्याउन मद्दत गरिरहनु भएको छ।’

टिकटकले गीतलाई दर्शकस्रोताको माझमा पु¥याउन मद्दत गरिरहे पनि टिकटकमै हिट होस् भनेर गीतको निर्माण नहुने पर्ने निशानको तर्क छ। टिकटकले गीतको चर्चामा भूमिका खेलिरहँदा कुनै पनि सर्जक वा गायकलाई स्वभाविक रुपमा नै टिकटकमा चल्ने गीत निर्माण गर्ने सोच आउन सक्छ।

यस विषयमा निशान टिकटक केन्द्रित भएर गीत निर्माण नहुनुपर्ने बताउँछन्। निशान भन्छन्, ‘गीतलाई गीतकै रुपमा निर्माण गर्दा टिकटकले गीतलाई दर्शकसम्म पु¥याउने भूमिका खेलिरहेको हुन्छ। तर, हिट हुन्छ भनेर टिकटक नै केन्द्रित भएर गीत बनाउनु भनेको मुर्खता हो।’

टिकटकरलाई फाइदा, गायकलाई के?

अहिले टिकटकमा विभिन्न माध्यमबाट आम्दानीसँगै उपहारहरु पाउन सक्ने प्रावधान छ। अर्कातिर टिकटकमा गीतको भिडियोमा लिपसिंक गरेर अभिनय गर्ने टिकटकरहरुले चर्चासँगै विभिन्न म्युजिक भिडियो लगायतमा अभिनय गर्ने पनि मौका पाउँछन्। सँगै कुनै नयाँ गीत सार्वजनिक हुँदा त्यसमा टिकटक भिडियो बनाइदिनका लागि पनि उनीहरुलाई अफर आउँछ। यसरी हेर्दा टिकटकमार्फत प्रयोगकर्ताले कुनै न कुनै रुपमा फाइदा पाइरहेका हुन्छन्।

गायक तथा संगीतकार सापकोटा सर्जकको सिर्जनाको प्रयोगबाट प्रयोगकर्ताले कुनै न कुनै रुपमा फाइदा पाइरहँदा सर्जक भने मारमा पर्ने बताउँछन्। कुनै गीतको निर्माण गर्दा पूरा गीतको समयसीमासम्मै उत्तिकै मेहेनत हुन्छ।

कुनै अंशमा कम मेहेनत र कुनै अंशमा बढी मेहेनत गरिने होइन। तर, टिकटकमार्फत् निश्चित अंश चर्चामा आइदिन्छ। मान्छेको मुखमा पनि निश्चित अंश मात्रै बस्छ। सापकोटा भन्छन्, ‘यसले नकरात्मक असर पनि पारिरहेको छ। एकातिर पूरा गीतले महत्व गुमाइरहेको छ भने राम्रा गीतहरु छायामा परिरहेका छन्।’

गायक सजन राईलाई पनि टिकटकमार्फत् गीतहरू चर्चामा आइदिँदा राम्रा गीतहरु छायामा पर्ने हो जस्तो लाग्छ। ‘राम्रो सिर्जनालाई टिकटकको ट्रेण्डले छायामा पारिरहेको छ,’ सजन भन्छन्, ‘कुनै गीतको १५ सेकेन्ड राम्रो छ भने टिकटकबाट त्यो निकै चर्चामा पुग्छ । तर, कुनै गीत पूर्ण रुपमा राम्रो छ र त्यसको प्रचार टिकटकमा गर्न सकिएन भने त्यो छायामा परिरहेको छ जस्तो लाग्छ।’

टिकटक केन्द्रित भइदिँदा गीत निर्माण गर्दा पनि १५ वा ५९ सेकेन्डलाई नै फोकस गरेर गीत बनाइने र सोही अंश मात्रै चर्चामा रहेको सजनको तर्क छ। यसले समग्रमा राम्रा सिर्जनाहरुलाई ओझेलमा पारेको बताउँछन् उनी। भन्छन्, ‘अब अहिले टिकटकमा प्रचार गर्न सके गीत हिट । तर, भिडमा आएर प्रमोसन गर्न सकिएन भने राम्रो सिर्जना पनि हराउँछ।’

निशान भने गीतको अंशले चर्चा पाउनु भनेको गीतले नै चर्चा पाउनु सरह भएको तर्क गर्छन्। टिकटकमार्फत् गीतको अंशले चर्चा पाउँदा त्यसले दर्शकस्रोतालाई पूरा गीतसम्म डोहोर्‍याउने तर्क दिन्छन्।

‘यसले कुनै अंशलाई चर्चामा ल्याउने कुनैलाई छायामा पार्ने हुँदैन, समग्रमा एक अंशले चर्चा पाउँदा गीतले पनि चर्चा पाएको हुन्छ,’ उनी भन्छन्, ‘टिकटकबाट गीत सुनेर दर्शकस्रोताले युट्युब वा अन्य माध्यममा गीत हेर्न आइपुग्छन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट