‘म गोविन्द बन्छु… पटक-पटक सेयर गर्न नपरे हुन्थ्यो’-Sutra News

‘म गोविन्द बन्छु… पटक-पटक सेयर गर्न नपरे हुन्थ्यो’

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं- डा.गोविन्द केसी मंगलबार काठमाडौं आएपछि प्रहरीले उनको इच्छाविपरीत ट्रमा सेन्टर लगेको थियो। डा. केसीले आफू शिक्षण अस्पताल जान चाहेको बताउँदा-बताउँदै प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो। ट्रमामा डा. केसीले कुनै पनि उपचार नलिने र प्रहरीको चौतर्फी विरोध भएपछि उनलाई साँझ शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।



डा.केसीमाथि प्रहरीले देखाएको व्यवहारको सामाजिक सञ्जालमा आलोचना भइरहँदा एक गीत पनि सामाजिक सञ्जालमा चर्चित बनेको छ। गीतको बोल थियो, ‘म गोविन्द बन्छु’। तीन वर्षअघि सार्वजनिक भएको गीतलाई हिजो फेरि सेयर गरियो।

उक्त गीत सन् २०१७ मा सार्वजनिक भएको थियो, आर्टमान्डु युट्युब च्यानलबाट। गीतको संगीत, गायन तथा शब्द सबै अंकित बाबु अधिकारीका हुन्। अधिकारि भन्छन्, ‘दुःख लाग्छ, जब पटक-पटक यो गीत सेयर गर्नुपर्छ।’

अधिकारीले सन् २०१६ ताका यो गीत रेकर्ड गरेका थिए। त्यो बेला डा. केसीको १२औं अनसन चलिरहेको थियो। केसीको समर्थनमा कलाकारिता क्षेत्रबाट केही गर्नुपर्छ भन्ने लागेको थियो अंकितलाई। त्यहीबेला केसीको समर्थनमा रहेका एक समर्थकले अंकितलाई गीत बनाउन अनुरोध गरेका थिए।

अंकित आफू अस्वस्थ्य हुँदा-हुँदै गीत रेकर्ड गराएका थिए। २०७३ असोज ९ गतेबाट सुरु भएको अनसन चाडपर्वका कारण ११ गते डा. केसीले स्थगन गरेका थिए। त्यसकारण त्यसबेला गीत रिलिज हुन पाएन। डा. केसी अनसनरत हुँदा रिलिज नभएको गीतलाई २०७४ साउन ३० गते रिलिज गरियो।

अंकितले गीतमा डा. केसीलाई विम्बको रुपमा प्रस्तुत गरेका छन्। उनको गीतमा गोविन्द केसी एक व्यक्ति नभएर प्रवृत्ति हुन्, जसले सरकारको अकर्मण्यताविरुद्ध आवाज उठाइरहेका छन्, भविष्यमा आम नेपालीको लागि आवाज उठाइरहेका छन्। हरेक नेपालीभित्रको गोविन्द कुनै दिन व्युँझिने उनको गीतले भाव बोकेको छ।

‘मैले गोविन्द केसीलाई व्यक्ति नभएर एक प्रवृत्तिको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको हुँ,’ अंकित भन्छन्, ‘उनी स्वयं जुन मुद्दामा लडिरहेका छन्, त्यो उनको मात्रै नभएर सारा नेपालीको विषय हो।’

अंकितले भनेजस्तै गीतका शब्दहरुले पनि बताउँछन्-

‘विहान एउटा चेतनाको मुसुक्क मुस्काइ उदाउनेछ एकदिन

सारा नेपालीले एकैस्वर मिलाइ चिच्याएर भन्लान्-

म गोविन्द बन्छु’

अंकित स्वयंले डा.गोविन्द केसीका मागबारे विस्तृत अध्ययन गरेका थिए, गीत लेख्दा। उनले उठाएका माग, उनका कुराहरु बुझे अंकितले। उनी भन्छन्, ‘म आफू मेडिकल क्षेत्रमा नभए पनि डा. केसीले उठाउनुभएको विषय, मुद्दा मेरो निम्ति पनि थियो। उहाँको मागलाई समर्थन गरेर गीत गाउन पाउँनु आफैंमा ठूलो सौभाग्य पनि थियो मेरो लागि।’

नेपालका गायक, संगीतकार, कलाकार लगायतलाई सधैं लाग्ने आरोप थियो- समाजप्रति सचेत नभएको। अंकितले ‘म गोविन्द बन्छु’ गीत गाउँदा आफूहरुमाथि लाग्ने आरोपलाई भत्काए। गीतपनि उनले सोचेजस्तै बन्यो। उनी भन्छन्, ‘कलाकारहरुलाई सधैं समाजप्रति सचेत नभएर प्रेम, मायाजस्ता विषयमा गीत गाएको आरोप लाग्थ्यो। त्यो आरोप सही थियो कि गलत, तर यो गीत गाएपछि मैले त्यो आरोप भत्काएँजस्तो लाग्छ।’ एक कलाकारसँगै एक नेपाली भएको आधारमा अंकितले आफ्नो कुरा राखेका थिए, गीतको माध्यमबाट।

सरकारले, प्रशासनले डा.केसीलाई एक्लो देखेपछि उनी स्वयं एक्लो नभएको भाव छ उनको गीतमा। प्रशासनले डा. केसीलाई एक्लो देख्छ, सरकारले डा.केसीलाई भोको देख्छ। तर, सारा नेपालीभित्र एक गोविन्द रहेको भन्दै अंकितले प्रस्तुत गरेका छन्ः

तिमीले देखेको म एक्लो गोविन्द, भोकभोकै बस्ने ऊ कमजोर गोविन्द

गोविन्द गोविन्द जोडिँदै गए, चट्टान तगडा विशाल बन्छु

मेरो बोली लुटेर फेरि ढाल मलाई, म उठ्दै हुनेछु

अंकित आफूले त्यो बेला गाएको गीतमा प्रस्तुत गरेको भाव अहिले पनि देखिने बताउँछन्। उनी भन्छन्, ‘जुन बेला गीत लेखियो, जुन बेला यो गीत गाएँ। अहिले पनि त्यस्तै छ। हिजो डा. केसीको साथमा जे व्यवहार गरियो, त्यसले हिजो र आजमा केही फरक नभएको देखिन्छ।’

डा. केसीले १९औं पटकसम्म अनसन बसिसक्दा सरकारले उनको माग पूरा गर्ने भन्दै अनसन तोड्न लगाउने गरेको अंकित बताउँछन्। उनी भन्छन्, ‘सरकारले माग पूरा गर्छौ भन्दै अनसन तोड्न लगाउँछ। तर कार्यन्वयन हुँदैन। यी कुराहरुले पनि देखाउँछ, हिजो र आजको सरकारमा केही फरक छैन।’

युट्युबमा हालसम्म गीतलाई ७ हजार ५ सय हाराहारी हेरिएको छ। हुन त गीतको स्तर वा गीत कति अर्थपूर्ण छ भन्ने भ्युजले निर्धारण गर्ने होइन। तैपनि जुन संख्यामा गीतमा भ्युज छ, त्यसलाई गीतले पाउनुपर्ने दर्शक र स्रोताभन्दा निकै कम पाएको देखिन्छ। अंकित आफू पनि यो कुरा स्वीकार्छन्। उनी भन्छन्, ‘यो गीतले जुन चर्चा पाउनुपर्थ्यो, त्यो नपाएको जस्तै लाग्छ मलाई पनि।’

युट्युबमा दैनिक सैयौं नेपाली गीतहरु सार्वजनिक भइरहेका हुन्छन्। दैनिक कैयौं भिडियो राखिन्छन्, काण्ड नामक भाइरल हुने अतिरञ्जित कुरा प्रसारण भइदिन्छन्। जसले अर्थपूर्ण र मानिसको पहुँचमा पुग्नुपर्ने कुरालाई छाँयामा पारिरहेको हुन्छ। अंकित भन्छन्, ‘मलाई पनि यो गीतले चर्चा नपाउनु वा युट्युबमै पनि कम भ्युज आउनुको कारण त्यही होजस्तो लाग्छ। भाइरल कुरा, गीतमा पनि अलि चटपट गीतहरु बढी चलिदिन्छन्। यसले बोक्ने भाव र यसको अर्थलाई बुझुने मान्छे माझमा मात्रै गीत पुगेको छ भने त्यही खुसीको कुरा हो।’

विसं २०६९ मा बाबुराम भट्टराई तत्कालीन प्रधानमन्त्री रहेको बेला सुरु भएको केसीको अनशनको क्रमशः १९औं पटकसम्म पुगिसकेको छ। डा.केसी विगत ८ वर्षदेखि विभिन्न पार्टी नेतृत्वको सरकारविरुद्ध लडिरहेका छन्।

अंकित पनि आफू यो गीत पटक-पटक सेयर गर्नुपर्ने परिस्थिति नआओस् भन्ने चाहन्छन्। तर, पटक-पटक सरकारको व्यवहार र प्रवृत्तिले उनलाई यो गीत सम्झाउँछ। अंकितलाई गोविन्दको विम्बभित्र लुकेका आम नेपालीहरु सम्झना आउँछ।

अंकित भन्छन्, ‘म सर्जक र आम नेपाली नागरिकको नाताले यो गीत पटक-पटक सेयर गरिरहनुपर्दा दुःख लाग्छ। सरकारले आम जनताको कुरा सुनिदिए यो गीत पटक-पटक सेयर गर्नुपर्ने थिएन होला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट