कलाकारलाई महामारीमा पनि उस्तै अफर, तर स्क्रिप्टमा देखिएन दम-Sutra News

कलाकारलाई महामारीमा पनि उस्तै अफर, तर स्क्रिप्टमा देखिएन दम

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं- लकडाउनको अवधिमा अभिनेता दयाहाङ राईले थुप्रै स्क्रिप्ट पढे। यो अवधिमा उनलाई करिब २३ फिल्मको अफर आयो। त्यसमध्ये कुनै पनि फिल्ममा काम गर्न उनी तयार छैनन्। कारण, स्क्रिप्ट चित्त नबुझ्नु।



तर कोरोना महामारीको समयमा यति धेरै प्रस्ताव आउँदा उनी चकित छन्। उनलाई लागेको थियो- महामारीपछि नेपाली सिनेमा निर्माणको संख्या घट्ने छ, स्तर बढ्नेछ। ‘तर, अहिलेसम्म आएको प्रस्ताव हेर्दा दृश्य ठीक उल्टो होलाजस्तो छ,’ उनी भन्छन्, ‘सिनेमा निर्माणको संख्या घट्लाजस्तो लागेन। अहिलेसम्म आएको स्क्रिप्ट हेर्दा फिल्मको कथा र प्रस्तुतिमा पनि परिवर्तन महसुस हुन सकेन।’

कोरोना महामारीका कारण नेपाली सिनेमाको सबै काम गत चैतबाट ठप्प छ। हलहरु बन्द छन्। सिनेमाको निर्माणदेखि प्रदर्शनसम्मका कामहरु स्थगित छन्। लकडाउन सुरु भएको केही महिनापछि फिल्म निर्देशक दीपेन्द्र के. खनालले हामीसँग अड्कल काट्दै भनेका थिए, ‘महामारीका कारण यो वर्ष एक दर्जनजति फिल्म पनि बन्ने अवस्था म देख्दिनँ।’

तर, हामीले फिल्म क्षेत्रमा व्यस्त हुने केही कलाकारसँग सम्पर्क गर्दा लकडाउनकै समयमा उनीहरुलाई सिनेमाको धेरै अफर आएको पाइयो। यसले के देखायो भने कोभिड-१९ पछि पनि नेपाली सिनेमाको निर्माणमा कमी हुँदैन, झन् बढ्ने सम्भावना छ। 

अभिनेता विपीन कार्कीले कोभिड-१९ पछि ‘प्रसाद’ सिनेमाको सिक्वेल ‘प्रसाद २’मा काम गर्नेगरी हस्ताक्षर गरिसकेका छन्। त्यसबाहेक गत चैतयता कोभिड-१९ को जोखिम कम गर्न जारी गरिएको लकडाउनको अवधिमा पनि उनले केही स्क्रिप्टहरु पाएका थिए। विपीन भन्छन्, ‘लकडाउनको अवधिमा ७-८ वटा स्क्रिप्टहरु मकहाँ ठोक्किएका थिए। केही पढिसकेँ। केही पढ्नेक्रम जारी छ।’

लकडाउनको समयमा पनि चलचित्र निर्माताहरुले विपीनलाई स्क्रिप्टहरु दिइ नै रहेका छन्। केही स्क्रिप्ट पढिसकेका छन् भने केही अझै पढ्न बाँकी छ। उनी भन्छन्, ‘सिनेमा, वेवसिरिजहरुको स्क्रिप्टहरु आइरहेका छन्। स्क्रिप्ट पढ्नमै व्यस्त हुने संख्यामा स्क्रिप्ट आएका छन्। अझै आइरहेका छन्। महामारीपछि उल्लेख्यरुपमा सिनेमा बन्ने संकेत देखिरहेको छु।’

अभिनेत्री वर्षा सिवाकोटीलाई पनि गत चैतबाट लकडाउन भएपछि ५ वटा स्क्रिप्टको अफर आइसक्यो। तुलनात्मकरुपमा पहिलाको जस्तो नभएपनि अहिले आएका स्क्रिप्टका संख्या हेर्दा निराशाजनक नभएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘यो लकडाउनको समयमा मैले ५ वटा स्क्रिप्टहरु पढेँ। पहिलाको जस्तो अत्यधिक संख्यामा अहिले स्क्रिप्ट त आएको छैन।’

सरकारले सिनेमा छायांकनको अनुमति दिनासाथ उल्लेख्य संख्यामा सिनेमा निर्माण हुनेमा विश्वस्त छिन्, शिवाकोटी। भन्छिन्, ‘यो समयमा सबै जना फ्रि हुनुभयो। सबैले लेख्ने समय पनि पाउनुभयो। अब सिनेमा बन्न सुरु गरेपछि अत्यधिक संख्यामा सिनेमाको निर्माण हुन्छ भन्ने लागेको छ।’

अभिनेत्री स्वस्तिमा खड्काले पनि लकडाउनको अवधिमा आधा दर्जन जति फिल्मको अफर पाइन्। तीमध्ये तीनवटा त सिक्किमबाट मात्रै आए। तर दीपेन्द्र के खनालको ‘चिसो मान्छे’बाहेक अन्य स्क्रिप्ट रोचक नलागेको उनी बताउँछिन्।

चिसो मान्छेले यो महामारीको समयलाई पनि सम्बोधन गरेको बताउँदै उनी भन्छिन्, ‘यो फिल्मको स्क्रिप्टचाहिँ साँच्चै मनपरेको छ। यसबाट आशा पनि धेरै छ।’

buddhi-tamang-sutranews.jpgअभिनेता बुद्धि तामाङलाई पनि लकडाउनको अवधिमा १४ वटा फिल्मको प्रस्ताव आयो। सबैका स्क्रिप्ट पढिसके। तीमध्ये केहीमा काम गर्ने सम्झौतासमेत भइसक्यो। तर, कोरोनाकाल भएकाले पहिलाको जस्तो भेटेर सम्झौता वा हस्ताक्षर गर्ने काम भने भएको छैन। भन्छन्, ‘पहिलाको तुलनामा संख्यात्मक हिसाबले सिनेमाको अफर संख्या कम भएको छैन। यो अवधिमा पनि उत्तिकै संख्यामा स्क्रिप्ट पाइरहेको छु।’

आफूले काम गर्ने निधो गरेका सिनेमाहरु हल खुलेमा सिनेमा हलमा नत्र डिजिटल प्रसारणका माध्यमबाट भए पनि देखाउने सल्लाह भइरहेको उनी बताउँछन्। सिनेमालाई सिरिजको रुपमा प्रसारण गर्नेबारे पनि निर्माण समूहले कुरा निकालेको उनले जानकारी दिए।

यो अवधिमा उनले पढेका स्क्रिप्टहरुमा कोरोनाकालको कथा भने समावेश भएको पाएनन्। ‘अहिले जति पनि स्क्रिप्ट पढेँ, त्यसमा अहिलेको समयको कथा छैन भन्दा हुन्छ,’ उनले भने, ‘हुन त पहिलाबाटै काम भइरहेका स्क्रिप्टहरु हुन्। अहिले सकिएर हामी माझमा आइपुगेको होला। अब कोरोनाकालीन कथालाई समेटेर लेखिएका स्क्रिप्ट पनि आउँछन् भन्ने लागेको छ।’

चलचित्र विकास बोर्डका निर्माण तथा चलचित्रकर्मी कल्याण कोष अधिकृत हरि सिंह राईखोलाका अनुसार यस आर्थिक वर्षको सुरुवात भएपछि १६ वटा चलचित्र दर्ता भइसकेका छन्। साउन र भदौ महिनामा गरी १६ वटा कथानक चलचित्र निर्माणका लागि दर्ता भइसकेको उनले बताए।

संख्यात्मक हिसाबमा हेर्ने हो भने यो संख्या उत्साहजनक नै रहेको उनी बताउँछन्। त्यसो त गत आर्थिक वर्ष ०७६-०७७ मा ८६ वटा कथानक चलचित्र निर्माणका लागि दर्ता भएका थिए। ०७५-०७६ भन्दा ०७६-०७७ आर्थिक वर्षमा केही कम मात्रामा सिनेमाको निर्माण भएको उनी बताउँछन्। विकास बोर्डका अनुसार ०७५-०७६ मा १ सय ६७ कथानक चलचित्र निर्माणका लागि दर्ता भएका थिए। सिंह भन्छन्, ‘यस आर्थिक वर्षको सुरुवात हुँदा दुई महिनामै दर्ता भएको सिनेमाको संख्या उत्साहजनक देखिएको छ। विगतका वर्षहरुको तुलनामा यो संख्या कम होइन।’

संख्या त बढ्छ तर स्तर ?

एउटा सिनेमा बन्नलाई लामो समय लाग्छ। प्रक्रियागतरुपमा काम हुने हुँदा आजको भोलि नै सिनेमा बन्दैन्। विगत केही वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका सर्जकहरुले यो समयमा स्क्रिप्ट पूरा गरेका देखिन्छन्। अभिनेता विपीन कार्की भन्छन्, ‘विगत १ वर्षदेखि तयारी गरिरहेका सिनेमाहरु यो वर्ष बन्ने तयारी भइरहेका थिए। तर, कोभिडका कारण सिनेमा बन्न सकेनन्।’

लामो समयदेखि बन्ने घोषणा वा तयारी भएका सिनेमाहरु कोभिडका कारण रोकिएलाले अब सिनेमा निर्माण सुरु हुँदा संख्यात्मक हिसाबमा उल्लेख्य सिनेमाको निर्माण हुने उनको मत छ।

‘सर्जकलाई पनि छटपटी भएको छ काम गर्न नपाएर,’ अभिनेता कार्की भन्छन्, ‘अहिले माहोल सामान्य बन्दै गइरहेको छ। सबैले आ-आफ्नो तर्फबाट बल गरिररहेका छन् सिनेमा निर्माणका लागि।’

अभिनेत्री शिवाकोटीलाई यो वर्ष संख्यात्मक हिसाबले सिनेमा निर्माणमा कमी नआए पनि गुणात्मक सिनेमा बन्नेमा भने शंका छ। अभिनेता तामाङलाई पनि फिल्मको कन्टेन्टमा महामारीको प्रभाव पर्नेमा शंका नै छ।

‘फुर्सदको समयमा धेरै फुराउन सकिने क्षेत्र हो, कला क्षेत्र,’ तामाङ भन्छन्, ‘त्यसैले मलाई लाग्छ, यो समयमा सर्जकहरुले कथा फुराएका छन्। तर, अहिले हामीले पढिरहेका स्क्रिप्टहरु पहिलाबाटै काम भइरहेका स्क्रिप्टहरु हुन्। त्यसैले यसमा अहिलेको कुरा छैन। महामारीको समय र प्रभाव समेटिएका स्क्रिप्टहरु सायद केही समयपछि आउनेछन्।’

‘तीन कदम अगाडि गएर सिनेमा निर्माण हुनुपर्छ’

निर्देशक तथा समिक्षक दिपेन्द्र लामा अब बन्ने सिनेमामा निर्माण गर्दा नयाँ शैली ल्याउनुपर्ने चुनौती भएको बताउँछन्। अब बन्ने सिनेमाहरु पहिला बनिरहेका सिनेमाको शैलीभन्दा फरकपनसहित निर्माण हुनुपर्ने लामाको तर्क छ।Dipendra Lama1.jpg

फिल्म हल पहिलाको जस्तै पूर्णरुपमा सञ्चालनमा आउने स्थितिको सिर्जना हुँदा एक वर्ष ग्याप भइसकेको हुन्छ यो अवधिमा दर्शकले आफ्नो घरमै बसेर पनि विश्व सिनेमासँग साक्षतकार गर्ने भएकाले नेपाली सिनेमाबाट पनि त्यही स्तरको अपेक्षा गर्ने लामा बताउँछन्।

‘यो लकडाउनको समयमा दर्शकले धेरै देशविदेशका सिनेमाहरु हेरिसकेका छन्,’ उनी भन्छन्, ‘हामीले पहिलाको जस्तै सिनेमा बनाउँदा उनीहरुको अपेक्षा पूरा गर्न सकिँदैन। पहिलाको सिनेमा त्यसै पनि कमजोर नै थियो। जसकारण दर्शकको अपेक्षा पूरा गरेर सिनेमा निर्माण गर्नुपर्ने स्थिति आएको छ।’

अब बन्ने नेपाली सिनेमाले कथा, पटकथा, शैलीदेखि दृश्यांकनसम्ममा तीन कदम अगाडि गएर बन्नुपर्ने लामा बताउँछन्। ‘जस्तो पायो त्यस्तै सिनेमा हेर्न दर्शक हलसम्म आउँदैनन्,’ उनी भन्छन्, ‘हल खुल्नसाथ दर्शक हलमा गएर सिनेमा हेर्न पनि डराउँछन्। जसले गर्दा चलचित्र निर्माण गर्नेले दर्शकले हेर्नैपर्ने सिनेमाको निर्माण गर्नुपर्ने चुनौति छ।’

अबका नयाँ सिनेमा बन्दा कोरोनाकालीन कथालाई ल्याउने हो भने दर्शकलाई तान्ने सम्भावना कम हुने तर्क गर्छन् लामा। यो अवधिमा कोभिडका कारण उत्पन्न भएका समस्याले आम मानिस उकुसमुकुस भएकाले यही कथामा सिनेमा बन्दा त्यसतर्फ दर्शकको बढी चासो नहुनसक्ने उनको अड्कल छ।

‘पुराना कथा र यो समयका कथाभन्दा पनि केही फरकपनसहित सिनेमाको निर्माण गरिनुपर्छ,’ लामा भन्छन्, ‘कोरोनाकै वरिपरिका कथालाई तत्काल सिनेमामा देखाउँदा दर्शकलाई तान्न सकिँदैन। अहिलेलाई केही नयाँपन र नयाँ शैलीसहितका कथालाई नयाँ किसिमले दृश्याकंन गर्न सकियो भने मात्रै दर्शकलाई तान्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट