कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको पुटिनको घोषणा लगत्तै घट्यो सुनको मूल्य-Sutra News

कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको पुटिनको घोषणा लगत्तै घट्यो सुनको मूल्य

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं–निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा यो हप्ता ब्रेक लागेको छ। १ लाख ५० हजार पुग्ने अनुमान गरिएको छापावाल सुनको मूल्य बुधबार ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सयमा झरेको छ। सुनको मूल्य निरन्तर बढेर प्रतितोला १ लाख माथि पुग्नुमा कोभिड–१९ र विश्वव्यापी प्रभाव थियो। तर,रुसले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको दावी गरेलगत्तै मूल्य घटेको जानकारहरूले बताएका छन्।



बजारमा सुनको मूल्य बढ्दै जाँदा अधिकतम मूल्य १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो, अधिक मूल्यका कारण यसको व्यापार नहुने अवस्था समेत सिर्जना भएको थियो। तर,कोभिड–१९ को बढेको सुनको मूल्य भ्याक्सिन परीक्षण सफल भएको रुसको दावीसँगै ह्वात्तै घट्न पुगेको छ। ‘सुनको बढ्दो मूल्यमा अब ब्रेक लागेको छ’ सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले भने ।

मंगलबारमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता भएको घोषणा गरेका थिए। पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीलाई लगाइसकेको पनि जानकारी दिएका थिए।सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘रुसी राष्ट्रपति पुटिनको यो घोषणाले सुनको मूल्य घट्नमा भूमिका खेलेको छ ।’

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा लगानीकर्ताहरू अन्य क्षेत्रमा लगानी गर्दा जोखिम हुने भएकाले सुनमा लगानी गर्न आकर्षित भएका थिए। यसकारण पनि विश्व बजारमा नै सुनको मूल्य बढेको थियो। ‘त्यसको असर नेपालको सुनचाँदी व्यवसायमा परेको छ’ महासंघका उपाध्यक्ष शाक्यले भने।

सुनको मूल्य बढ्नुमा कोभिड–१९ को मात्र भूमिका थिएन। अमेरिका र चीनको व्यापार युद्धले पनि यसमा उत्तिकै भूमिका खेलेको थियो। यसका अलावा आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले सुनको भन्सार शुल्क बढाएकाले पनि सुनको मूल्य बढेको थियो ।

‘सुनको उत्पादनमा कमी आएकाले पनि सुनको मूल्य बढेकाले पनि सुनको मूल्य बढेको थियो’ महासंघका पूर्व अध्यक्ष शाक्यले सूत्रन्यूजसँगको कुराकानीमा भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट