‘बोक्सीको घर’को आक्रामक व्यापार, चार दिनमा कति कमायो ?-Sutra News

‘बोक्सीको घर’को आक्रामक व्यापार, चार दिनमा कति कमायो ?

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । नेपालमा आक्रामक व्यापार गरेपछि यो फिल्मको विदेशमा समेत माग बढेको छ ।



अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको यो फिल्मले प्रदर्शनमा आएको चार दिनमा ३ करोड २४ लाख रुपैयाँ कमाइ गरेको छ। सुरुवाती दुई दिन शुक्रबार र शनिबार २ करोड ३० लाख ग्रस व्यापार गरेको फिल्मले पछिल्लो दुई दिन आइतबार र सोमबार ९४ लाख ग्रस व्यापार गरेको हो ।

यो व्यापारिक आँकडा वितरण कम्पनी टी-फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको हो । दर्शकबाट मिलेको बलियो ‘वर्ड अफ माउथ’ को प्रभावले फिल्मले बक्सअफिस कलेक्सनमा अनपेक्षित ‘ओपनिङ’ गर्न सफल भयो ।

फिल्मले विशेष गरी महिलाहरूलाई हलमा आकर्षित गरेको छ । यसको प्रकाश सपुतको सिर्जना र समिक्षा अधिकारीको आवाज रहेको प्रमोशनल गीत सार्वजनिक भएसँगै थप ‘वर्ड अफ माउथ’ मिलेको थियो ।

‘बुझिन मैले’ बोलको गीत ब्लकबस्टर हुनुको फाइदा यो फिल्मको ओपनिङमा देखिएको छ । यस गीतलाई सामाजिक सञ्जाल जताततै देख्न र सुन्न सकिन्छ । यो गीतले बोक्सिको घरको प्रचारमा समेत ठूलो राहात दिलायो ।

सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो फिल्मले समाजमा व्याप्त रुढीवादी प्रथाको कथा भन्छ । बालविवाह र समाजमा रहेको बोक्सीको कुप्रथाको कथालाई देखाएको फिल्ममा केकी अधिकारी, सुलक्षण भारतीय, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलाकारको अभिनय छ ।

यता फिल्म प्रदर्शन भएसँग फिल्ममा बाल कलाकारको भूमिकामा देखा परेकी सुपलाले त फिल्मलाई थप उचाइमा पुर्‍याइदिइन् । उनी यसमा ‘जुना’को भूमिकामा छिन् ।

पछिल्लो समय मल्टिस्टारर फिल्म फ्लप भएको अवस्थामा बोक्सिको घरले भने बक्स अफिसमा कमाल देखाउन सफल भएको छ । दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले लामो यात्रा गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट