विदेशी नाम परिवर्तन नगर्ने विद्यालयलाई भर्ना गर्न नै रोक-Sutra News

विदेशी नाम परिवर्तन नगर्ने विद्यालयलाई भर्ना गर्न नै रोक

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । बुधबार पुनः एक सूचना जारी गर्दै महानगरले सात दिनभित्र सम्पर्क गरी मौलिक नामाकरण प्रक्रिया अगाडि बढाउन नबढाए विद्यार्थी भर्ना प्रक्रियामै रोक लगाउनेसहितका कानूनी कारबाहीको चेतावनी दिएको छ ।



“महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकूल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधि ७ दिन मा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ती प्रक्रियामा रोक लगाउनेसहित कानुनबमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ”, सूचनामा भनिएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) र काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।

“विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ । अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधनसहित) काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ”, महानगरको सूचनामा भनिएको छ ।

महानगरले गत वर्षदेखि नै पटक–पटक विद्यालयको नाम परिवर्तन गर्न आग्रह गर्दै आएको थियो । लगातार आग्रह गरिरहँदा पनि निजी विद्यालयहरुले नटेरेपछि समयसीमा तोकेर अल्टिमेटम दिएको हो । हाल अधिकांश निजी विद्यालयको नाम विदेशी छ । विभिन्न देश, देशका शहर र त्यहाँका चर्चित नामका आधारमा विद्यालयको नाम राखिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट