खोलिएला त दरबार हत्याकाण्डको फाइल ?-Sutra News

खोलिएला त दरबार हत्याकाण्डको फाइल ?

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडौं । वीरेन्द्र शाहको वंशनाशपछि राजा महेन्द्रका माइला सन्तान ज्ञानेन्द्र शाह राजा बने । राजगद्यी सम्हालेलगत्तै जेठ २२ मा एक शाही घोषणा गर्दै उनले दरबार हत्याकाण्डको वास्तविकता बाहिर ल्याउने भन्दै तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरे ।



सो समितिमा तत्कालिन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो । तर, पछि माधव नेपाल सम्भावित विवादको भयले समितिमा बसेनन् ।

सो दुई सदस्यीय समितिले जेठ ३२ मा छानबिन प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिवेदन सर्वस्वीकार्य भएन ।

एकातिर छानबिन समितिमाथि नै प्रश्न उठ्यो भने अर्कोतिर समितिको प्रतिवेदनमा उल्लेखित तथ्यलाई विश्वास मान्ने आधार देखिएन । जसमाथि सामान्य नागरिकदेखि उच्च तहसम्मकाले प्रश्न उठाए ।

घटनाका प्रत्यक्षदर्शी तर, पूर्ण सुरक्षित बनेका र घटनापछि स्वयम् उत्तराधिकारी ज्ञानेन्द्र शाहको परिवारमाथि प्रश्नहरु सोझिए । आम नागरिक तहसम्मले शाहमाथि प्रश्न उठाए । शाहलाई अन्तिम राजा बन्ने स्थिति र उनकै हातबाट राजसंस्था अन्त्य गराउने अवस्था पनि यही परिस्थितिले बनायो ।

नेपाली राजनीतिमा ठूलो उथलपुथल ल्याउन कारक बनेकाे दरबार हत्याकाण्डको पहेली अहिलेसम्म पनि खुल्न सकेको छैन । उठेका थुप्रै प्रश्न अहिलेसम्म पनि अनुत्तरित नै छन् ।

रहस्यको पर्दा नउतारिएको यो हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ । गणतन्त्र प्राप्तिपछि बनेको पहिलो सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने बताएको थियो । गणतान्त्रिक व्यवस्थाका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरुपमै दरबार हत्याकाण्डको वास्तविक बाहिर ल्याउने घोषणा गरेका थिए ।

तर, गणतन्त्र प्राप्तिपछिको डेढ दशकमा पनि उक्त घटनामाथि छानबिन हुन सकेन । घटना रहस्यमै रह्यो । तर, घटनामाथि प्रश्न भने निरन्तर उठिरहेको छ ।

घटनालाई पुनः सम्झाउँदै ज्ञानेन्द्र

बितेको १५ वर्षको अवधिमा मुलुक गणतान्त्रिक अभ्यासमै केन्द्रीत बन्यो । राजसंस्थाको विषयमा यताकता सामान्य बहस चलेपनि त्यसले प्राथमिकता पाएन ।

तर, पछिल्लो केही समययता मुलुकमा राजसंस्थाको एजेण्डाले प्राथमिकता पाउन थालेको छ । केन्द्रीय राजनीतिमै यो एजेण्डामाथि बहस हुन थालेको छ । राजसंस्थाको पक्षमा जनप्रदर्शन पनि देखिन थालेका छन् ।

स्वयम् सामान्य नागरिकको हैसियतमा झरेका पूर्वराजा शाह पनि ‘नागरिक अभिनन्दन’को नाममा सडकमा ओर्लिएका छन् । उनले आफ्नो मौनता तोडेका छन् । पूर्वराजा शाहले आफ्नो छुटेको भूमिका खोज्न थालेका छन् ।

शाहले आफूमाथि लागेका आरोप पनि खण्डन गर्न थालेका छन् । हालै वीरगञ्जमा भएको एक कार्यक्रममा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे बोलेका थिए । उनले आफ्नो भावनामाथि राजनीति गरिएको आरोप अहिलेको राजनीतिक नेतृत्वमाथि लगाएका छन् ।

“जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना (राजा वीरेन्द्रको वंशनाश) जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको छ”, ज्ञानेन्द्रले भनेका छन्, “हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि भएका छन्, सत्य सधैँ सत्य हुन्छ, असत्यको विजयी कहिले हुँदैन ।”

पूर्वराजा शाहले वीरगञ्जबाट आफूमाथि लगाइएको आरोप मात्रै पखाल्ने प्रयास गरेका छैनन्, उनले आफूले भूमिका पाउनुपर्ने कुरा पनि स्पष्टरुपमा राखेका छन् । उनले विगत १५ वर्षमा राजनीतिक दलले जनतालाई निराशातर्फ डोहो¥याएको दाबी गरेका छन् ।

“२०६५ जेठ २९ मा आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले त्यसबेला व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले अहिले सान्दर्भिकरूपमा सम्झिरहेको छु”, ज्ञानेन्द्रले भनेका छन्, “राजदरबार परित्याग गर्दा २०६५ जेठ २९ गते नै मैले भनेकै थिएँ– देशमै बसेर नेपालको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु, स्वाभिमानी नेपालीको समग्र हित होस् कामना छ, हाम्रो राष्ट्रप्रेम र राष्ट्रिय सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ, त्यस्तो विकृतिबाट आम जनातामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरकै आकंलन हो, बितेका १५ वर्षपछि आज त्यही असन्तोष, चासो, चिन्ता र आक्रोश सर्वत्र छताछुल्ल भएको छ ।”

तरंगित राजनीतिक नेतृत्व

आफूमाथि लागेको आरोप पखाल्दै सार्वजनिक रुपमै भूमिका खोज्नेगरी पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिन थालेपछि राजनीतिक नेतृत्व तरंगित बनेको छ । नेताहरुले सार्वजनिकरुपमा पूर्वराजाको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै आलोचना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ‘दरबार हत्याकाण्डको फाइल’ खोलिने धम्की दिएका छन् । “पूर्वराजा (ज्ञानेन्द्र शाह)ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्”, प्रचण्डले भनेका छन्, “दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ ।”

यहीबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि ज्ञानेन्द्रको अभिव्यक्तिमाथि निन्दा गरेका छन् । उनले पुनः राजा बन्ने सपना नदेख्न सुझाएका छन् । साथै, दरबार हत्याकाण्डपछि बनाइएको समिति र प्रतिवेदन स्वीकार्य नभएको कुरा स्पष्ट पारेका छन् ।

“त्यसबेला पनि छानबिन गरिएको हो, तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो– त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्‍यौं”, ओलीले भनेका छन्, “नेपालीहरूले विवेक गुमाउनु हुन्न, विचरा दीपेन्द्र ! दीपेन्द्रले आफैं मरेर मरिसकेपछि हान्यो ? एउटा राजा हुन लागेको मानिस त्यसरी मर्छ ? यस्तो कुरा पनि पत्याएर हिँड्ने ?”

ओलीले पूर्वराजा शाहलाई राजा हुने हैसियत नै नभएको भनेर पनि टिप्पणी गरेका छन् । “ज्ञानेन्द्र शाह भनेको राजा होइन, बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्”, ओलीले भनेका छन्, “राजाको जेठो छोरो राजा हुन्छ, तर जेठो त के कान्छो र छोरी नै मारिइसकेपछि राजतन्त्र समाप्त भयो, त्यतिबेलाको सरकारको कमजोरी हो– अलि समय राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई सजाउने काम भयो ।”

खोलिएला त हत्याकाण्डको फाइल ?

सडकमा ओर्लिएका पूर्वराजा शाहले आफूमाथि लगाइएको आरोप पखाल्दै, आफ्नो भूमिका खोज्दै गर्दा राजनीतिक नेतृत्व तरंगित देखिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई हेर्दा, पूर्वराजा शाहमाथि दरबार हत्याकाण्डको फाइल खोलिने धम्की दिन थालिएको छ ।

तर, राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई अहिलेको राजनीतिक नेतृत्वले दरबार हत्याकाण्डबारे छानबिन गर्ने ल्याकत नराख्ने बताउँछन् । बितेको १५ वर्षलाई समीक्षा गर्दा पनि दलहरुको हैसियत त्यो तहमा नरहेको उनको भनाई छ ।

“खपतका लागि प्रतिक्रिया दिने विषय एउटा हो, तर, यी सत्तासिन राजनीतिक दलहरुले दरबार हत्याकाण्डको छानबिन गर्ने ल्याकत राख्ने मैंले देखिन्न”, उनले भनेका छन्, “१५ वर्षसम्म किन गरेनन् ? अहिले प्रतिक्रियाका लागि प्रतिक्रिया दिएभन्दा भिन्न देखिन्न ।”

भट्टराई दलहरुको भूमिकामाथि पनि प्रश्न उठेको बताउँछन् । “यिनीहरुले यतिका वर्षसम्म त्यति ठूलो घटनामाथि छानबिन गर्न चासो नदिनुले एकातिर यिनीहरुको क्षमतामाथि प्रश्न उठाउँछ अर्कोतिर संलग्नता त होइन भन्ने प्रश्न पनि उठाउँछ”, उनले भनेका छन् ।

यदि भनिएजस्तो पुनः फाइल खोल्ने परिस्थिति बनेमा छानबिन भएर कारबाही होइन, आरोपितलाई चोख्याउने काम हुनसक्ने भट्टराईको आशंका छ । “बिलियाड हल भत्काइएको छ, धेरै प्रमाणहरु नष्ट भएका छन्”, उनले भनेका छन्, “छानबिन गरिएमा आरोपितलाई चोख्याउने परिस्थिति बन्ने आशंका छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट