तर्सिएका माधवको फेरिन थाल्यो बोली-Sutra News

तर्सिएका माधवको फेरिन थाल्यो बोली

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । “परिस्थिति जटिल छ, छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन, कतिन्जेल टिक्छ भन्न सकिँदैन ।”



यो भनाई वैशाख १० गते काठमाडौंमा भएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधनका क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको सम्बोधनको अंश हो । उक्त कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले सरकार जुनसुकै बेला ढल्नसक्ने अवस्था भएको बताएका थिए । उनले विशेषगरी आफ्नो पार्टी सरकारबाट बाहिरिने अवस्थामा पनि पुगेको बताएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालमात्रै होइन, उनी पक्षीय केही नेताहरूले सरकार ढल्दै गरेको प्रचार गरिरहेका थिए । नेताहरूले सार्वजनिकरूपमै वैशाखभित्रै सरकार ढल्ने पनि बताएको पाइन्छ । दीर्घ सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले सघाउन आनाकानी गरेको घटनापछि त एकीकृत समाजवादीका नेताहरूले गठबन्धन ढाल्ने चेतावनी दिन थालेका थिए ।

तर, राजनीति उही ढंगबाट अघि बढेन । एकीकृत समाजवादीको तर्फबाट जे–जस्ता अभिव्यक्ति आएका थिए, ति अभिव्यक्ति नै घातक हुनेगरि घटना विकास भए ।

एकीकृत समाजवादीले गठबन्धन ढलाउने चुनौति दिइरहेका बेला एकाएक सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल फुट्यो । जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकै बखत आइतबार अशोक राई नेतृत्वमा नेताहरू बेग्लै दल दर्ताको निवेदन बोकेर निर्वाचन आयोग पुगेका थिए ।

जुन निवेदनलाई निर्वाचन आयोगले पनि सदर गरी नयाँ दल जनता समाजवादी पार्टी (जसपा)लाई दलको मान्यता दिएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने १२ सांसदमध्ये नयाँ जसपामा ७ सांसद छन् ।

जसपाको अप्रत्याशित विभाजनसँगै सत्ता संकट पनि तत्कालका लागि टरेको भनाई नेताहरूको छ । नवगठित जसपाका नेताहरूले सरकार जोगाउन पार्टी विभाजन गरेको बताएका छन् ।

हुन पनि एकीकृत समाजवादी जस्तै उपेन्द्र यादव पक्षीय जसपा पनि सरकारसँग तिव्र असन्तुष्ट थियो । उसले जुनसुकै बेला सरकार छाड्न सक्ने चेतावनी दिइरहेको थियो ।

जसपा त विभाजित भयो तर, एकीकृत समाजवादी पनि सत्ता समीकरणलाई लिएर तिव्र विभाजित छ । अध्यक्ष नेपाल पक्ष वर्तमान सत्ता समीकरणको विरुद्धमा उभिँदा सम्मानित नेता झलनाथ खनाल पक्ष भने यही समीकरणकै पक्षमा देखिन्छ ।

सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनबाट पार्टी दायाँ–बायाँ नलाग्ने बताइरहेका छन् । उनले सरकार ढाल्ने चुनौति दिइरहेका अध्यक्ष नेपालसहितको समूहलाई चुनौतिपूर्ण भाषामा ‘कुनै व्यक्तिको पछि लागेर पार्टी सती नजाने’ पनि बताएका छन् ।

यस्तोमा सत्ता समीकरण ढाल्न खोज्ने स्थितिमा एकीकृत समाजवादी पनि फुट्ने निश्चित जस्तै छ । तर, जसपाको विभाजनसँगै सत्ता समीकरण फुटाउनु गणितीय हिसाबले पनि तत्कालका लागि करिब अर्थहीन बनेको छ ।

जसपाको विभाजनसँगै एकीकृत समाजवादीलाई पार्टीलाई जोगाउनु नै मुख्य एजेन्डा बन्न गएको छ । यस्तोमा पार्टी अध्यक्ष नेपालको भनाई पूर्ण फेरिन थालेको छ । विगतमा प्रचण्ड नेतृत्वको सत्ता समीकरण ठीक छैन भन्ने नेपाल क्रमशः यसैको निरन्तरताको पक्षमा उभिन थालेका छन् । उनले वर्तमान सत्ता समीकरणको विकल्प खोज्ने पक्षमा आफू नरहेको स्पष्टीकरण दिन थालेका छन् ।

बुधबार कालिका खबरको वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यही सरकारले बजेट ल्याउने, यही सरकारले निरन्तरता पाउने बताए ।

“यसको विकल्प खोजिएको छैन, यही सरकारले नै बजेट ल्याउँछ”, अध्यक्ष नेपालले भनेका छन्, “बरु बजेटका विषयमा सबैको ध्यान जानुपर्छ, बजेटको शिलशिलामा प्रधानमन्त्रीसँग हाम्रो पनि भेटघाट भइरहेको छ, बजेटलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट