सत्ता संकट टरेको कि बढेको ?-Sutra News

सत्ता संकट टरेको कि बढेको ?

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

वर्तमान सत्ता गठबन्धन टुट्नबाट बल्ल बल्ल बाँचेको छ । तर यसको आयु अब कति लामो समयसम्म जाला, यसै भन्न सकिने अवस्था छैन । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि माधव कुमार नेपाल र उपेन्द्र यादवले यही सरकारमा रहने संकेत गरिसकेका छन् । फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जोगाउँछु भनेको छ । नयाँ जसपाको आश्वासनपछि अत्तालिइसकेका प्रचण्डले लामो सास फेरेका छन् । उपनिर्वाचनबाट अलि बढी उत्साहित भएका एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नै तालमा छन् । जे होस् गठबन्धनको भविष्यमाथि मडारिएको कालो बादल तत्कालका लागि अलिकति फाटेको छ तर, पुरै हटिसकेको भने छैन । अहिले मौसम पनि त्यस्तै छ, पानी परेपछि पनि खुलिसकेको छैन । 



जसपा नेपाल एकाएक फुटेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि एकाएक आफ्नो रणनीति परिवर्तन गरे । यो सरकार कुनै पनि बेला ढल्न सक्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेपालले सोमबार पार्टी बैठकमै भने, “तत्काललाई यही समीकरणलाई निरन्तरता दिनुपर्छ ।” माधव नेपालको यो भनाइले गठबन्धनको संकट थोरै भएपनि टरेको संकेत देखायो । 

तर, विभाजनको चोट लागेको वर्तमान गठबन्धनकै अर्को दल जसपा नेपालले के निर्णय गर्छ भन्ने आशंका चाहिँ छँदै थियो । तत्कालका लागि यो पनि निवारण भएको छ । बुधवार काठमाडौंमा आयोजित जसपा नेपालको पत्रकार सम्मेलनमा अध्यक्ष एवम् वर्तमान सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि वर्तमान गठबन्धनकै निरन्तरताको संकेत गरेका छन् । 

तर, जसपा अध्यक्ष यादवको यो संकेत आफैंमा अस्थायी प्रकृतिको छ । घटनाक्रमले गठबन्धनको भविष्यमाथि मडारिएको कालो बादल अलिकति फाटेको देखाएपनि पूरै नहटिसकेको स्वयम् यादवकै अभिव्यक्तिबाट पाउन सकिन्छ । पत्रकार सम्मेलनकै क्रममा उनले गठबन्धन भत्कन सक्ने अन्य सम्भावनालाई भने नकारेका छैनन् । 

पछिल्लो समय जति पनि घटनाक्रम भएका छन् ति सबै गठबन्धन तोड्ने एकीकृत समाजवादी र जसपा नेपालको सम्भावित कदमको गर्भबाट निस्किएका देखिन्छन् । जसपा नेपालबाट अलग्गिएको जसपा समूहले त पार्टी विभाजनलाई गठबन्धन तोड्ने नेपाल–यादवको रणनीतिविरुद्धकाे कदम भनेर सार्वजनिक रूपमै भनेको छ । 

पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेटबाट अंकुराउन खोजेको वैकल्पिक गठबन्धनको टुसा जमिन नचिर्दै ओइलिएको छ । तर, बीज अझै सुकिसकेको चाहिँ छैन । मलजल पायो भने टुसा पलाउने मात्र होइन वैकल्पिक गठबन्धनको ठूलै वृक्षका रूपमा आफूलाई उभ्याउने सम्भावना जीवितै छ । 

पहिलो त भर्खरै फुटेका जसपा नेपाल र जसपा दुवै एउटै सरकारमा रहनु गठबन्धनका लागि आफैमा अप्ठ्यारो परिस्थिति हो । यी दुईबीचको इगो सिंगो सत्ता गठबन्धनलाई घाँडो बन्न सक्छ । दोस्रो, देउवा–नेपालको भेटमा भएको वैकल्पिक गठबन्धनको खोजीलाई निरन्तरता दिने समझदारी, मौका पाउने बित्तिकै पूनः ब्युँतिन सक्छ ।

तेस्रो, प्रचण्डले सरकार टिकाउन पार्टी फुटाएको भन्ने तुस यादवको मनमा बाँकी नै रहेको हुन सक्छ । यो सन्दर्भलाई हल्का मुस्कानका साथ सामान्यीकरण गर्ने प्रयत्न गरे पनि यादवले पत्रकार सम्मेलनमै प्रचण्ड–ओलीलाई चेतावनीपूर्ण भाषा प्रयोग गरेका थिए । अर्कोतर्फ, वैकल्पिक गठबन्धनका लागि लागि परेका नेपाल–यादवप्रति प्रचण्डभित्र आक्रोश नामेट भइसकेको छैन । चौथो, गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले गठबन्धनप्रति खासै मोह देखाएको छैन । र सबैभन्दा महत्वपूर्ण पाटो त गठबन्धन बनेको छोटो अवधिमै दल र नेताहरूबीच इगो बढ्नु आफैंमा राम्रो संकेत होइन । 

यही कारण दल विभाजनसम्मको घटनाले गठबन्धनको भविष्य सुरक्षित छैन भन्ने त संकेत गरिसकेको छ । तसर्थ, संकटको बादल अलिकति फाटेकोसम्म हो, पूरै हटिसकेको छैन । कुनै पनि बेला हावाहुरी र मेघगर्जनसहित पानी वर्षन सक्ने आधारहरू प्रशस्तै छन् । 

खैर, लोकतन्त्रमा राजनीतिक दल विभाजन हुनु, सकारात्मक हुँदै होइन । यसले राजनीतिक दल, प्रणाली र सिंगो राजनीतिलाई कमजोर बनाउँछ । दलभित्रको व्यक्तिवादी र स्वार्थी प्रवृत्तिलाई मलजल गर्ने बाहेक केही प्राप्त हुँदैन । तर विडम्बना, नेपाली राजनीति अहिले मात्र होइन लामो समयदेखि यही गोलचक्करमा फसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट