कोरियाबाट फर्केर माछा पालन रमाउँदै पुन-Sutra News

कोरियाबाट फर्केर माछा पालन रमाउँदै पुन

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१
काठमाडौं । बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका हुन् ।
उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हून् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन् ।
“श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ”, उनले भने, “कोभिड १९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो, त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।”
पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ । ५० लाख लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए ।
उनले छोरा अमृतलाई समेत माछापालनमा लगाएका छन् । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन् । “कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु”, उन्ले भने ।
चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक एक लाख ५० हजार भाडा तिर्नु पर्छ । उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारी खेती लगाएका छन् ।
पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनको भनाइ थियो । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए ।
तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२-१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा रु पाँच छ लाखमै सीमित हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट