कोशी घटनाको प्रभाव : कांग्रेसभित्र एक्लिन थाले शेखर-Sutra News

कोशी घटनाको प्रभाव : कांग्रेसभित्र एक्लिन थाले शेखर

आइतबार, १२ कार्तिक २०८०

आइतबार, १२ कार्तिक २०८०

काठमाडौं । कोशी घटनासँगै सत्तारुढ नेपाली कांग्रेसभित्र राजनीतिकरुपमा ठूलो उथलपुथल भएको छ । उक्त घटनाको प्रभाव, कांग्रेसभित्र पुराना गुट उपगुट भत्कने र नयाँ गुट उपगुट सिर्जना हुने क्रम चलेको छ ।



उक्त उथलपुथलका बीच कोशीमा विद्रोह गराएर सत्ताको नेतृत्व हत्याउन सफल शेखर कोइराला पार्टीभित्र भने क्रमशः एक्लिन थालेका छन् । उनले चलाएको समूह विभाजित भएको छ र उनको पक्षमा देखिएका नेताहरु टाढिएका छन् ।

कोशी घटनासँगै महामन्त्री गगन थापासहितका नेताहरु कोइरालाको पक्षमा छैनन् भने बढ्दो उथलपुथलका बीच अन्य नेता पनि क्रमशः कोइरालाको पक्षमा उभिन छाडेका छन् । विगतमा करिब ४० प्रतिशत हिस्सासहित निर्णायक पोजिसनमा देखिएको कोइराला समूह पछिल्ला घटनाक्रमसँगै गन्ती नहुने अवस्थामा पुग्न थालेको देखिन्छ ।

संसदीय दलको निर्वाचनदेखि नै विभाजित

कोइराला–थापा समूह संसदीय दलको नेता चयनको प्रक्रियादेखि नै विभाजित बनेको थियो । ८९ सांसदमध्ये गन्तीमा ३६ सांसद देखिएपनि चुनावी प्रक्रियामा गगन थापाको पक्षमा जम्मा २५ सांसद उभिएका थिए । तत्कालिन समयमा कोइरालाले आफूलाई धोका दिएको आरोप थापाले सार्वजनिकरुपमै लगाएका छन् ।

तत्कालिन समय केहीलाई मन्त्री बनाउने सर्तसहित सभापति शेरबहादुर देउवाको पक्षमा स्वयम् कोइरालाले मत हाल्न लगाएको नेताहरु बताउँछन् । जुन घटनापछि थापा कोइरालाबाट टाढिएका थिए ।

कोशी घटनासँगै भने विधिवतरुपमै दुई नेता टाढिएको देखिन्छ । कोशी घटनापछि कोइराला र थापा बेग्ला–बेग्लै समूह निर्माणको खेलमा लागेको देखिन्छ । उक्त घटनापछि थापा सभापति देउवा नजिक देखिन्छन् । थापाको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरु खुलेका छन् ।

संसदीय दलमा एक चौथाई पुर्‍याउन पनि सकस

संसदीय दलको निर्वाचनदेखि हालसम्म आउँदा कोइराला पक्ष क्रमशः एक्लिँदै र कमजोर हुँदै गएको छ । कोइराला नेतृत्वको समूह विभाजित हुँदै गइरहेको छ । संसदीय दलभित्र ३६ सांसदको गणना गरिएको कोइराला समूहमा अहिले एक चौथाई पनि सांसद नरहेको नेताहरु बताउँछन् ।

तत्कालिन समय ‘इन्टेक’ भनिएका अधिकांश सांसद गगन थापा पक्षमा रहेको नेताहरुको भनाई छ । हाल कोइरालाको पक्षमा बढीमा १० देखि १२ सांसद खुल्न सक्ने अवस्था बनेको बताइन्छ ।

कांग्रेसका एक नेता कोइरालाले मन्त्री बनाएका नेता नै उनको पक्षमा खुल्ने अवस्थामा नरहेको बताउँछन् । उनका अनुसार मन्त्री पद नहुने अवस्थामा उनीहरु कोइराला पक्षमा उभिने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट