बागमतीमा कोशीको डिजाइन, सत्ता पल्टाउन कति सम्भव ?-Sutra News

बागमतीमा कोशीको डिजाइन, सत्ता पल्टाउन कति सम्भव ?

बिहिबार, २ कार्तिक २०८०

बिहिबार, २ कार्तिक २०८०

काठमाडौं । कोशी सरकार आफ्नो पक्षमा पार्न सफल भएको नेपाली कांग्रेसको शेखर कोइराला समूहले बागमतिमा पनि सरकार परिवर्तनको खेल सुरु गरेको छ । जसका लागि कोइराला समूहले पार्टी नेताहरुसँग छलफल प्रारम्भ गरेको छ ।



कोइराला समूहका सांसदहरुले पार्टी महामन्त्री गगनकुमार थापासँग सरकार परिवर्तनबारे सुझाब मागेका छन् । थापाले बताएअनुसार बिहीबार कोइराला निकटका सांसदहरु थापालाई भेट्न गएका थिए । उनीहरुले माओवादीको नेतृत्वलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

“म कहाँ बागमतीका सांसदहरु आउनुभयो, उहाँहरुले हामी सबैभन्दा ठूलो पार्टी हो, माओवादीको नेतृत्वलाई मान्न सक्दैनौं, सरकार बदलौं भन्नुभयो”, थापाले सांसदहरुसँगको भेटबारे भनेका छन् ।

कोइराला समूहका सांसदहरुले पार्टी सभापतिलाई पनि भेट्ने तयारी गरेका छन् । पार्टीभित्र सुझाब मागेर सरकार परिवर्तनको खेल सुरु गर्ने उनीहरुको योजना छ ।

कोइराला पक्षीय नेताहरुले कोशी घटनापछि सार्वजनिकरुपमै देशव्यापी सरकार परिवर्तनको खेल सुरु हुने बताएका छन् । नेताहरुले सबैजसो प्रदेशमा कांग्रेसको नेतृत्वमा बनाइने बताएका छन् ।

कोइराला पक्षीय सांसद डा. सुनील शर्माले केन्द्रको सरकार पनि परिवर्तनको खेल दसैँ लगत्तै सुरु हुने बताएका छन् । सुत्र न्यूजसँगको कुराकानीमा उनले जनताबाट मत नपाएको सानो दलको नेतृत्वमा सरकार चलाउने कुरा सम्भव नभएको बताए ।

“लोकतान्त्रिक पद्धतिमा यो सुहाउने कुरा होइन, ३२ सिट भएको सानो पार्टी माओवादीको नेतृत्वमा ठूला दलहरु रहने, यो हुँदैन, यो परिवर्तन हुन्छ, प्रदेशदेखि केन्द्रसम्म परिवर्तनको खेल घोषितरुपमै हुनेछ”, उनले भनेका छन् ।

तर, सहज छैन अंकगणित

११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । प्रदेशसभामा सिंगाे कांग्रेससँग ३७ सिट छ । सिंगाे कांग्रेसलाई नै बहुमत जुटाउनका लागि थप १९ सिट अपुग छ ।

सिंगो कांग्रेसलाई सहज बहुमत जुटाउन कि माओवादी केन्द्रको साथ चाहिन्छ कि एमालेको साथ चाहिन्छ । प्रदेशसमा एमालेसँग २७ सिट छ भने माओवादी केन्द्रसँग २१ सिट छ ।

सिंगो कांग्रेसलाई साना दलको साथले बहुमत जुटाउन सकेपनि अवस्था जटिल हुने देखिन्छ । प्रदेशमा राप्रपासँग सभामुखसहित १३ सांसद छन् भने एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन् ।

हाल बागमतीमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धनको सरकार छ । विभिन्न प्रदेशमा भागवण्डा गर्दा कांग्रेसले बागमती माओवादीका लागि छाडेको थियो ।

यस्तोमा कोइराला पक्ष जसरी पनि बागमतीमा आफ्नो नेतृत्वको सरकार बनाउने लाइनमा छ । तर, कोशीमा जस्तै कांग्रेस विभाजित भएको खण्डमा कोइराला पक्षलाई बहुमत जुटाउन बागमतीमा सकस हुने देखिन्छ ।

संसदीय दलको नेता बन्दा भएको प्रतिस्पर्धालाई हेर्दा बागमतीमा कोइराला पक्षमा मात्रै १६ सांसद छन् । संसदीय दलको नेता बन्नका लागि भएको निर्वाचनमा बहादुर सिंह लामाले २१ मत पाएका थिए भने इन्द्र बानियाँले १६ मत पाएका थिए ।

तत्कालिन संसदीय दलको मतलाई हिसाब गर्दा, सिंगो एमालेले सघाए पनि कोइराला पक्षमा बहुमत पुग्दैन । प्रदेशमा राप्रपासहितका अन्य सबै साना दलले सघाएको खण्डमा मात्रै कोइराला पक्षले बहुमत जुटाउन सक्छ । तर, त्यस्तो परिस्थिति त्यति सहज छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट