मलाई ओलीले दिएको पद होइन, म अहिले पनि एमालेको उपाध्यक्ष नै हुँ: भीम रावल (भिडियो र्वार्ता)-Sutra News

मलाई ओलीले दिएको पद होइन, म अहिले पनि एमालेको उपाध्यक्ष नै हुँ: भीम रावल (भिडियो र्वार्ता)

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं– नेकपा एमालेका नेता डा. भीम रावलले आफूहरूलाई केपी शर्मा ओलीले विधान विपरीत गरेको कारवाहीको कुनै अर्थ नभएको बताएका छन् । सूत्रटिभीको कार्यक्रम साझा सरोकारमा कुरा गर्दै रावलले पार्टीको विधान विपरीत अघि बढ्ने ओलीलाई नै कारबाही गर्ने चेतावनी दिए ।



‘म नेकपा एमालेको नवौं महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित उपाध्यक्ष हुँ । मलाई हटाउने अधिकार केपी ओलीलाई छैन ।’ उनले भने ।

नेता रावलले ओली संविधान, कानुन र पार्टीको विधानसमेतलाई कुल्चेर स्वेच्छाचारी र तानाशाही ढंगबाट अघि बढेको आरोप लगाए । ‘हामीहरू एमाले फुटाउने पक्षमा छैनौं, केपी ओली सच्चिएर अघि बढ्नुभयो भने मिल्न सक्ने ठाउँ बाँकी नै छ, पहिलो कुरा फागुन २८ गतेको निर्णयबाट पछि हट्नुपर्छ’, रावलले भने ।

उनले ओलीले नै पार्टीभित्र गुटबन्दी र अनुशासनहीन काम गरेको टिप्पणी गरे । ‘पार्टीमा समस्याको मुख्य जड नै केपी शर्मा ओली हो । विगतमा नेकपा एमाले छँदा पनि मदन भण्डारी फाउण्डेसनको नामबाट उहाँले देशभरी कार्यक्रम गर्नुभयो । फाउण्डेसनलाई उहाँले विदेशी पैसा लिएर चलाउनुभयो, रावलले भने, ‘नेपाल कम्युनिष्ट पार्टी बनिसकेपछि त्यसको बैठकमा जानु भएन, बैठकका निर्णय मान्नु भएन । उहाँले गत वैशाखमा पार्टी विभाजन गर्न अध्यादेशद्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने दुष्प्रयास गर्नुभयो ।’

रावलले आफूहरू यसअघि भदौ २६ गते नै स्थायी कमिटीबाट पाँच वर्षका लागि प्रधानमन्त्री हुनुहोस्, अध्यक्ष पनि नै हुनुहोस् भनेर पार्टी मिलाउन खाजे पनि ओलीले त्यसको उल्लंघन गरेको बताए । ‘सर्वोच्च अदालतको फैसलापछि पनि हामीले भन्यौं– नेकपा एमालेलाई एकताबद्ध गरौं । कहाँ के गल्ती कमजारी भए त्यो सच्याउँ । अब विगतको अध्याय सिद्धियो । १५ दिनभित्र एकता गर्ने भए फेरि आउनु भनेर अदालतले भनेको छ । त्यो सम्भावना पनि खोजौं । भन्दाखेरी उहाँले त्यसलाई मान्नुभएन । उहाँले फागुन २८ गते पार्टी विधान विपरीत सदस्य थपेर हामीलाई जिम्मेवारीबाट हटाएर स्वेच्छाचारी काम गर्नुभयो । फेरि यो पार्टीलाई विभाजन गर्ने खेल खेल्नु भएको छ । अब यो खेलको विरुद्धमा हामी उभिन्छौं ।’

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलसँग सूत्र टिभीको कार्यक्रम ‘साझा सरोकार’का लागि ऋषि थपलियाले गरेको अन्तर्वार्ताः

हेर्नुहोस्- 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट