नयाँ जनादेशबाट मात्रै सत्तामा जान्छौंः डा.प्रकाशशरण महत [अन्तर्वार्ता]-Sutra News

नयाँ जनादेशबाट मात्रै सत्तामा जान्छौंः डा.प्रकाशशरण महत [अन्तर्वार्ता]

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रूपमा असंवैधानिक र वदनियतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ ।



यसैबीच पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तय गरेको छ । यसै सेरोफेरोमा न्यूज एजेन्सी नेपालले नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतसँग कुराकानी गरेको छ ।

कुराकानीमा सहमहामन्त्री महतले कांग्रेसले आन्तरिक राजनीति र संगठनको लागि महाधिवेसनमा केन्द्रीत हुने र प्रतिनिधिसभाको आवधिक निर्वाचनको लागि तयार हुनेगरी तयारी थाल्ने बताएका छन् ।

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । अब कांग्रेस संवैधानिक संकटतर्फ उन्मुख हुँदै गएको हो ?

केही संकटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रूपमा उपयोग गर्न सक्छौं । हामीले के कुरा विर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो त्यो सम्पन्न गर्नको लागि देश एक वर्ष नै कोभिडमय रह्यो । त्यसमा पनि करिब ५ महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो ।

लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरू सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौं । त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नको लागि कठिनाइ उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नको लागि उपयोग गर्नुपर्ने आवश्यकता पर्यो ।

त्यसमा पनि संसद् विघटन पछि जुन हाम्रो विरोधको निरन्तर श्रृङ्खला पार्टीले सञ्चालन गर्यो । त्यो कारणले हामीले माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरूलाई दिएका थियौं । आन्दोलनको कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन ।

त्यसकारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता पर्यो । त्यसपछि छानविनको प्रक्रिया आउँछ । छानविनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशिल सदस्यता सार्वजनिक गरेपछि अधिवेसन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेसनको श्रृङ्खला सुरु हुन्छ । महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं ।

त्यसो भए भदौ ७ गते कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो ?

होइन, हाम्रो समय सकिनेभन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौं ।

कोभिड लगत्तै प्रतिनिधिसभाको विघटनमा जानुपर्यो भन्नुभयो । तर, कांग्रेस आन्दोलनमा हो की चुनाव प्रचारमा हो ?

नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबर्जस्ती सत्तामा जाने कुरा अरू पार्टीहरूको लागि स्वभाविक हुनसक्छ तर नेपाली कांग्रेसको लागि स्वभाविक हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको वस्तुस्थितिको बारेमा जनतालाई सुशुचित गर्ने कुराहरू महत्वपूर्ण हुन ।

नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन गर्यो । हामीले जनतालाई खर्च गरेर काठमाडौंमा आउ भन्नुको सट्टा हामी जिल्ला जिल्लामा वडा वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद् विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम जनतामा पुर्यउन सफल भयौं ।

त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरु दलले गरेको जस्तो खासगरी कम्युनिस्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो त्यस अर्थमा हामी स्वस्फूर्त रूपमा विरोधका कार्यक्रमहरु गर्यो ।यद्यपी यसमै हामी रोकिन्छौं भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरू पनि हामी गर्न सक्छौं । त्यो गर्दा पनि जनताको स्वस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौं ।

सभापति शेरबहादुर देउवाले विरोधसभामा अथवा सञ्चार माध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौं तर तपाईहरू चुनावको तयारीमा लाग्नुहोस् भन्ने अभिव्यक्ति दिनुभएको छ । यसले त कसरी आन्दोलन गरेको भयो ?

होइन अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाउ भन्यो भने हामी तयारीबिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो आदालतले निर्देश गर्छ त्यसको लागि हामी तयार हुनुपर्छ भन्नेपनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनःस्थापना होस् त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्यौं भने त्यो निर्णयलाई हामी अवेज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद् स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाइ उपयुक्त नै हो ।

रामचन्द्र पौडेलले संसद् पुनःस्थापनामा मात्रै जोड दिनुभएको छ, चुनावमा कम छ तर सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ नि !

व्यक्तिगत रुपमा कुनै नेताले के भन्नुभयो त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ त्यो महत्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौं ।

जनताको तहसम्म पुग्छौं भनेर भनेको कुरा महत्वपूर्ण हो । त्यसैमा पार्टी हिंडेको छ । सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिको लागि हामी तयार हुनुपर्छ र पुनस्थापना नै भएपनि ढिलो चाँडो जनतामै जानुपर्छ अव डेढ वर्ष पछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो । किन भने यो तीन वर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो ।

जनतालाई हिजो गरेको वाचा बन्धन उहाँहरूले पुरा गर्न सक्नु भएन । उल्टो दिशामा हिंडनु भयो । भन्नेकुरा जनताले महसुस गरिराखेका छन् र जनता नयाँ जनादेश दिनको लागि आतुर छन् ।

त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौं भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन तर कथमकदाचित सत्तामा बस्नेहरुले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरि नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरुमा भन्नुभएकै छ ।

संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दैगर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दवाब दिन हुन्छ की हुँदैन ?

त्यसैले त हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाइमा संविधानका सबै स्टेप पूरा नगरिकन विघटन भयो । तर त्यसको अन्तिम निक्र्यौल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गछौं भने फेरि अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं ।

त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ । तर त्यो निर्णयलाई हामी मान्दैमान्दैनो भन्न चाहिं हामी सक्दैनौं । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ ।

त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो त्यसमा हामी कडा हुन्छौं । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ ।

दलहरूले सत्तामा जानेकुरालाई आफ्नो लाभको रूपमा स्वभाविक रूपमा हेरिनै हाल्छन् । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो ?

यो लड्डुको कुरै होइन । यो कसले भन्यो मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभांवित हुनुपर्छ । जनताप्रति प्रतिबद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो ।

जनताको आवश्यकता पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ की हुँदैन कुन पार्टीको हातमा लड्डु हुन्छ कसको हातमा लड्डु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन ।

मूल कुरा जनता मजबुत हुन्छन की हुँदैनन, जनता अधिकार समपन्न हुन्छ की हुँदैन जनताको आवश्यकता, पीरमर्काप्रति सत्ता संवेदन छ की छैन त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिस्ट शासनकाल गफमय भयो । कुरामय भयो । काममा पटक्कै ध्यान दिनुभएन ।

राज्यको साधनस्रोत, संयन्त्रलाई व्यापक दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरूले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौं । त्यसकारण तपाईंले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिस्ट पार्टी प्रचण्डण्माधव पक्षकोमा के फरक छ भने हामीले संसद्को विघटनसहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छ ।

भ्रष्टाचार लगायतका चरम दुरुपयोगका कुराहरू पनि हाम्रो विरोध कार्यक्रमको अंग हो । संसद् विघटन मात्रै होइन । उहाँहरूको एकबुँदे संसद् विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषय सहितको आन्दोलन हो ।

संसद् विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधिसभाको पुनःस्थापना भएपनि वा चुनावमा गए पनि विभिन्न खालका आश्वासन र आग्रहहरू गरिराख्नु भएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ?

कुनै पनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ । त्यो मेरो सरोकारको विषय होइन हामीले जे भनिराखेका छौं भनिरहेका छौं भन्नुभएको छ ।

नेपाली कांग्रेस मुलभुतरूपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तात्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन ।

कार्यकर्ताहरू अलमल भइरहेका छन् नि ?

पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट