देवेन्द्र पौडेललाई प्रश्न : कांग्रेसलाई लत्याएर एमालेसँग किन सहकार्य ?-Sutra News

देवेन्द्र पौडेललाई प्रश्न : कांग्रेसलाई लत्याएर एमालेसँग किन सहकार्य ?

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

कांग्रेससँग सत्ता सहकार्यमै रहेको बखत माओवादी केन्द्रले एकाएक एमालेसँग हात मिलाउँदै सत्ता समीकरण परिवर्तन गरेको छ । कांग्रेसलाई पन्छाउँदै माओवादी केन्द्रले एमालेलगायतलाई सत्तामा भित्र्याएको छ । २०७९ पुस १० मा एमालेसँगकै सहकार्यमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पछिल्लो घटनाले सोही अवस्थामा राजनीतिलाई पुर्‍याएको छ ।



एकाएक राजनीतिमा आएको परिवर्तनका सन्दर्भमा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग गरिएको प्रश्नोत्तरको सम्पादित रुप । यो प्रश्नोत्तर प्रधानमन्त्री निवास बालुवाटार कक्षमा लिइएको हो ।

कांग्रेसलाई लत्याएर एमालेसँग किन सहकार्य ?

अहिले पनि प्रधानमन्त्री कम्र्फटेबल बहुमतमै हुनुहुन्थ्यो । समीकरण परिवर्तन गर्न आवश्यक थिएन । यो स्टेप समग्र राजनीतिको कोर्ष करेक्सन गरेर वामपन्थी ध्रुवीकरणतर्फ मुलुकलाई लैजानुपर्छ भन्ने कोणबाट आएको हो ।

मुलुकमा वामपन्थीहरु झन् झन् कमजोर भए भन्ने कुराको समीक्षासहित जनताको चाहनाअनुसार पनि यो स्टेप चालिएको हो । यो सुझबुझपूर्णरुपमा चालिएको कदम हो । यसलाई कांग्रेसलाई पन्छाउने वा एमालेसँग टाँसिने भन्ने रुपमा मात्रै लिन मिल्दैन ।

वामपन्थी धुव्रिकरणको कुरा गर्नुभयो, विगतकै अवस्थामा एकताको विषय सम्भव छ ?

राजनीतिमा जिकज्याक त भइरहन्छ । तथापि, जनमतलाई हेर्ने हो भने जनताले वामपन्थीहरुलाई दुई तिहाईभन्दा बढी मत दिए । जनतालाई दोष दिने ठाउँ छैन ।

जनताले दिएको मतलाई सम्मान गर्दै जोगाएर अगाडि जानु अनिवार्य थियो । कमी कमजोरी सच्याएर, अहम्ता त्याग्दै जानुपथ्र्यो । त्यसका निम्ति छिट्टै एकताभन्दा पनि सबै कुराको समीक्षा गरेर अगाडि जानु आवश्यकता थियो । तर, भएन । अब त्यो घटनालाई सिकाईको रुपमा लिँदै अगाडि जानुपर्छ ।

संयोग हो वा के हो ? सहकार्य पनि खटपट परेकै बेला, अप्ठ्यारो परेकै बेला हुने रैछ ?

कुनै न कुनै बेला ‘ब्रेक थ्रू’ गर्नको लागि पोइन्टमा पुग्नैपर्छ । मान्छेहरुले हिँडिराखेको पाइला जब गौडा आउँछ तब असहज हुन्छ, राजनीतिमा पनि त्यस्तो बिन्दु आउँछ, जसले पनि स्टेप अगाडि लैजान महत्वपूर्ण भूमिका खेल्छ । यसलाई पनि त्यहीरुपमा लिनुपर्छ ।

प्रत्येक स्टेपमा गठबन्धन फेरिरहने विषयलाई सामान्यरुपमै बुझ्ने ?

यो कुनै नयाँ कुरा होइन । अस्वभाविक कुरा पनि होइन । बीचमा टुटेको थियो । फेरि सहकार्य बन्ने अवस्था बन्यो ।

हिजो भएकै कुरा हो, अब बामपन्थी समीकरणको कुरा अगाडि बढ्छ । यसलाई सकारात्मकरुपमै लिऔं ।

तपाइँहरु समाजवादी मोर्चाको पनि कुरा गरिरहनु भएको छ । यो सन्दर्भमा अब समाजवादी मोर्चा कसरी अगाडि जान्छ ?

यो झन् समाजवादी मोर्चालाई अगाडि लैजान सहज वातावरण बन्यो । अब समाजवादी मोर्चा बृहत हुँदै अगाडि बढ्छ ।

सबै वामपन्थी पार्टीलाई सँगै लिएर जाने भन्ने हाम्रो लाइन हो । समाजवादी मोर्चामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीदेखि संसदमा नभएको विप्लव नेतृत्वको नेकपा पनि छ । हामीले बैठक बसेर सबैलाई समेटेर जानुपर्छ भनेर निर्णय लिएका छौं ।

एकीकृत समाजवादीलाई समेट्ने विषयमा एमाले सकारात्मक हुन्छ ?

वामपन्थी भनेपछि सकारात्मक हुनुपर्‍यो नि । हामी एमालेसँग पनि कुरा गर्छौं । राजनीतिमा इगो लिएर हुँदैन । हिजो इगो लिँदा बिग्रियो । आज फेरि इगो लिँदा कहाँ पुगिएला ? वामपन्थी जनमतलाई ध्यान दिएर अगाडि जाऔं भन्ने हो ।

विगतमा तिता कुरा बिर्सेर अगाडि जानुको विकल्प छैन । भोलि केही नहुनुभन्दा मिलेर जानु नै अहिलेको उक्त विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट