कतारी राजासँग एउटै गाडीमा हिँडेका मन्त्री भन्छन्- भ्रमणको परिणाम छिट्टै देखिन्छ-Sutra News

कतारी राजासँग एउटै गाडीमा हिँडेका मन्त्री भन्छन्- भ्रमणको परिणाम छिट्टै देखिन्छ

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्च स्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् । भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ ।



अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्व दिएको थियो । कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो । समग्रमा कतारका अमिरको नेपाल भ्रमण र यसका उपलब्धिबारे मन्त्री बस्नेतसँग रमेश लम्साल र अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ । सरकारले तपाईंंलाई सवारी मन्त्रीको जिम्मेवारी दिएको थियो । अमिरको भ्रमणलाई कसरी लिनु भएको छ ?

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ । यो भ्रमण आफैँमा महत्वपूर्ण र ऐतिहासिक छ । सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ । बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु ।

राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्तामा समेत मैले त्यो अनुभव गरेँ । सँगसँगै हिड्ँदाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नु भएको थियो । उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो । उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नु भएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु ।

उहाँको दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ । उहाँसँगको सामिप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नु हुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ । नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नु भएको थियो ।

कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ । त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ । नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ । प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ ।

नेपालीले कतारको निर्माण क्षेत्रमा निर्वाह गरिराखेको भूमिका कारण पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक रहेको पाएँ । भ्रमणका क्रममा नेपाल सरकार र नेपालीले देखाएको सद्भाव र सत्कारको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नु भयो । यस भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको मैले महसुस गरेको छु । यो आफैँमा महत्वपूर्ण छ । यो कुरा दुवै पक्षबाट छलफलका क्रममा समेत अभिव्यक्त भयो ।

भौतिक पूर्वाधार निर्माणमा कतारले गरेको प्रगति र अमिरको भ्रमणपछि त्यस क्षेत्रमा के कस्तो सहयोग रहला रु द्विपक्षीय भेटवार्ताका क्रममा के कस्ता छलफल भए ?

ऊर्जा (जलविद्युत् र नवीकरणीय), पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबीच महत्वपूर्ण छलफल भएका छन् । कला, संस्कृति, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा पनि दुई देशबीचमा समझदारी भएका छन् । निजी क्षेत्रबाट पनि दुईवटा महत्वपूर्ण समझदारी भएका छन् । यी उपलब्धिलाई अहिले सुरुआतका रुपमा लिन सकिन्छ ।

आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन् । दुई मुलुकबीचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको हामीले महसुस गरेका छौँ । जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको छ ।

वार्ताका क्रममा दुई देशका उच्च तहको सहभागितामा कार्य समूह बनाउने समझदारी भएको छ भन्नु भयो । त्यसले के कस्ता विषयलाई सम्बोधन गर्ला ?

विषयगत कार्य समूह बनाएर काम अगाडि बढाउने सहमति भएको छ । द्विपक्षीय रुपमा भएको यस सहमतिले आगामी दिनमा ठोस आकार ग्रहण गर्ने छ । केही दिनपछि हुन लागेको तेस्रो लगानी सम्मेलनमा पनि त्यसको अनुभूति हामीले गर्न पाउने छौँ । त्यसमा मेरो विश्वास छ ।

अमिरको यसपटकको भ्रमणको उपलब्धि दीर्घकालमा देखिन्छ भन्ने यहाँको विश्वास हो ?

निश्चय नै । अहिले भएका विषय संकेत मात्रै हुन् भनेस बुझ्न सकिन्छ । लगानी सम्मेलनबाट थप प्रष्ट हुन्छ भन्ने मेरो विश्वास छ । दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको अनुभति भएको छ ।

खाडी मुलुकबाट पहिलो पटक भएको यस प्रकारको उच्चस्तरको भ्रमणले भविष्यमा महत्वपूर्ण अर्थ राख्ने नै छ । लाखौँ नेपाली खाडी मुलुकमा रहेका अवस्थामा पनि यो भ्रमणको विशिष्ट महत्व छ । यसलाई व्यवस्थित गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि भ्रमणले आधार प्रदान गरेको छ ।

भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्री ज्यूलाई कतार भ्रमणको निम्ता पनि दिनु भएको छ । प्रधानमन्त्रीले पनि चाँडै उपयुक्त समयमा कतार भ्रमण गर्ने वचन दिनु भएको छ । छोटो समयका लागि भएको यस भ्रमणमा के सम्झौता भयो र के लेखियो भन्ने कुराले मात्रै भ्रमणको महत्वलाई सीमित गर्दैन । भ्रमणको महत्व दूरगामी, व्यापक र महत्वपूर्ण पनि हुन्छ । मलाई विश्वास छ, यस भ्रमणको ठोस उपलब्धि समयक्रमसँगै व्यवहारिक रुपमा पनि देखिने छ ।

कतारले भौतिक पूर्वाधारका क्षेत्रमा लोभ लाग्दो प्रगति गरेको छ । यसअघि कतारले केही जलविद्युत् आयोजनामा लगानी गर्ने विषय उठाएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि यहाँ सहभागी हुनु भयो । ती विषयमा उहाँहरुको धारणा के पाउनु भयो ?

ऊर्जा क्षेत्रमा उहाँहरुको निकै चासो भएको पाइयो । उहाँहरु वातावरणप्रति पनि गहिरो चासो र सरोकार रहेको पनि पाइयो । जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने उहाँहरुको इच्छा छ । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । हामीले पनि सहकार्यका निम्ति आग्रह गर्यौं । ऊर्जा क्षेत्रमा पनि केही सकारात्मक परिणाम आउने विश्वास छ ।

नेपाल र कतारबीच श्रम सम्झौताको पुनरावलोकन गर्ने विषय अभिव्यक्त हुँदै आएको थियो । यी विषयमा के कुराकानी भयो ?

भ्रमणका क्रममा छलफल भएका विषयलाई मूर्त र व्यवस्थित रुप दिन कार्यसमूह निर्माण गर्ने समझदारी भएको छ । श्रम सम्झौता पुनरावलोकनको विषयमा सकारात्मक छलफल भएको छ । यसले सकारात्मक वातावरण बनाएको छ ।

कतारका अमिरले आफूले निकै सकारात्मक प्रभाव लिएर फर्कदै छु भनेर भन्नु भएको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध अर्को चरणमा प्रवेश गर्यो भन्ने खालका अभिव्यक्ति पटक-पटक दोहोर्याउनु भएको थियो । यी सबै विषयलाई व्यवस्थित बनाउन कार्य समूह बनाएर अघि बढ्ने समझदारी बनेको छ ।

कतारका अमिरको नेपाल भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ । मलाई लाग्छ, खाडी मुलुक नेपालीको प्रमुख श्रम गन्तव्य हो । खाडी क्षेत्रबाट यो स्तरको पहिलो भ्रमण हुनु आफैँमा ऐतिहासिक छ । कतारको अमिरको नेपालमा उपस्थितिले मात्रै होइन, द्विपक्षीय छलफलमा उठेका विषयवस्तुका दृष्टिबाट हेर्दा पनि भ्रमण महत्वपूर्ण भएको छ ।

त्यसलाई परिणामुखी बनाउन तत्काल जुन ढङ्गले पहलकदमी अघि बढाउने समझदारी भएको छ, त्यो दृष्टिबाट हेर्दा पनि यस भ्रमण निकै महत्वपूर्ण र उपलब्धिमुलक रह्यो भन्न सकिन्छ । (राष्ट्रिय समाचार समिति)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट