फिफा रेटिङमा माथि चढेका र तल झरेकाहरु-Sutra News

फिफा रेटिङमा माथि चढेका र तल झरेकाहरु

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- केही दिन अगाडि इए स्पोर्टले फिफा-२१ खेलाडीहरुको रेटिङ सार्वजनिक गरेको थियो। उक्त रेटिङअनुसार धेरै खेलाडीको रेटिङमा सुधार आएको छ भने केहीको गिरावट पनि आएको छ।



संसारका उत्कृष्ट खेलाडीका रुपमा परिचित लियोनेल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमारजस्ता खेलाडीहरुको रेटिङमा गिरावट आएको छ। त्यस्तै फ्रान्सेली स्टार एन्टोइन ग्रिजम्यान, बेल्जियन स्टार इडेन हाजार्डजस्ता चर्चित खेलाडीका रेटिङमा भारी गिरावट आएको छ।

सन् २०१८ का ब्यालोन डिआर बिजेता लुका मोड्रिकको रेटिङ र स्थान दुबैमा आश्चर्य लाग्दो हिसाबले गिरावट आएको छ। गतवर्षको रेटिङमा ८९ रेटिङसहित ९औं स्थानमा परेका मोड्रिक यसपालीको रेटिङमा भने २९औं स्थानमा झरेका छन्।

फिफाको रेटिङप्रति खेलाडीहरुले विभिन्नखाले टीकाटिप्पणी गरिरहेका छन्। रेटिङ निकालेको केही समयमै फ्रान्सेली क्लब पीएसजीका स्टार किलियन एमबाप्पेले आफ्नो आक्रोश सामाजिक सन्जालमा पोखिसकेका थिए। यो क्रमलाई अन्य खेलाडीले निरन्तरता दिइरहेका छन्।

रेटिङमा उकालो लागेका खेलाडीहरु

फिफाको रेटिङ र स्थान सुधार गरेका खेलाडीहरुमा धेरैजसो युवा खेलाडीहरु छन्। जसमा चर्चित खेलाडीहरु अर्लिङ हल्यान्ड, जोडन सान्चो, सर्जी गन्याब्री, टिमो वार्नर, केइ हाभेर्ज, ट्रेन्ट अलेक्जान्ड आर्नल्ड, किलियन एमबाप्पेसहित १८ जना नयाँ खेलाडी छन्।

ukalo1.jpg

उनीहरु फिफाको उत्कृष्ट सयमा पर्न सफल भएका छन्। यीमध्ये बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्डको रेटिङ अरुको भन्दा एकदम लोभलाग्दो देखिन्छ। उनी गत वर्षको रेटिङमा ७३ रेटिङसहित मात्रै सिल्भर कार्डमा सीमित थिए। तर यसपाली उनको रेटिङ बढेर ८४ पोइन्टसहित गोल्ड कार्डमा बढुवा भएका छन्।

युवा खेलाडीमध्ये एक वर्षको बीचमा सबैभन्दा धेरै रेटिङ र स्थान सुधार गर्ने उनी एक्ला खेलाडी हुन्। लिभरपुलका अलेक्जान्ड आर्नल्डले पनि आफ्नो रेटिङमा उल्लेख्य सुधार गरेका छन्। गत वर्ष उनको रेटिङ ८३ मात्रै थियो भने यसपाली रेटिङ बढेर ८७ पुगेको छ।

पीएसजीका किलियन एमबाप्पेले पनि रेटिङ र स्थान दुबैमा सुधार गरेका छन्। गत वर्ष उनी ८९ रेटिङसहित ११औँ स्थानमा थिए। अहिले उनी ९० रेटिङसहित आठौँ स्थानमा चढेका छन्। लिसेस्टर सिटीका ३३ वर्षीय जेम्मी भार्डी पनि इतिहासमै पहिलोपटक सूचीको उत्कृष्ट सयभित्र परेका छन्। प्रिमियर लिगमा गोल्डेन बुट जितिसकेका भार्डीको नयाँ रेटिङ ८६ रहेको छ, जुन म्यानचेष्टर उनाइटेडका पाउल पोग्बा, बार्यन म्युनिखका थोमस मुलर र पीएसजीका मार्को भरार्टीसँग बराबरी हो।

म्यानचेष्टर युनाइटेडमा आधा सिजनमात्रै खेलेका ब्रुनो फर्नान्डेजले आफ्नो र्‍यांकिङमा अत्यधिक सुधार गरेका छन्। फिफा २० मा ९९औँ स्थानमा रहेका उनी अहिले ४४औँ स्थानमा चढ्न सफल भएका छन्। गत सिजन ३६ गोल गरेर युरोपियन गोल्डेन बुट जित्न सफल लाजियोका फर्वार्ड सिरो इम्मोब्ले ७०औँ स्थानबाट ३०औँ स्थानमा चढ्न सफल भएका छन्। सिरोको अविश्वसनीय स्थान सुधारलाई लिभरपुलका डिफेन्सिभ मिडफिल्डर फाविनोले पछ्याएका छन्। उनी फिफा २० मा ८२औँ स्थानमा थिए अहिले ४४औँ स्थानमा चढेका छन्।

त्यसैगरी लिभरपुलका हेन्डरसनले पहिलोचोटि उत्कृष्ट सयमा पर्न सफल भए। रोबर्ट फिर्मिन्होले पनि आफूलाई ६२औँ बाट ४१औँ स्थानमा उक्लिन सफल भएका छन्। उता चेल्सीका हाकिम जियाज ९७औँ स्थानबाट स्थान सुधार गर्दै ७२औँ स्थानमा उक्लेका छन्। च्याम्पियन्स लिग बिजेता जोसुआ किमिक ५६औँ स्थानबाट १९औँ स्थानमा उक्लेका छन्।

रेटिङमा ओरालो झरेका खेलाडीहरु

फिफा २१ मा सबैभन्दा अभागी रियल मड्रिडका बेल्जियन स्टार इडेन हाजार्ड साबित भएका छन्। उनको रेटिङ ९१ बाट घटेर ८८ मा पुगेको छ। त्यतिमात्रै हैन गत वर्ष चौथो स्थानमा रहेका उनी अहिले २२औँ स्थानमा झरेका छन्।

jhareko.jpg

रियल मड्रिडमा रोनाल्डोको स्थान लिन आएका उनी लामो समयसम्म घाइते भएर अधिकांश खेलहरु गुमाएका थिए। पछि खेलेका खेलहरुमा पनि खास प्रभाव पार्न सकेका थिएनन्। स्थान खस्किनेहरुमा हाजार्डमात्रै ठूलो नाम हैन। यसमध्ये एन्टोइन ग्रिजम्यान, लुका मोड्रिच, जर्जियो चिलिनीजस्ता खेलाडीहरु पनि छन्।

गतवर्ष ८९ रेटिङसहित २०औँ स्थानमा रहेका ग्रिजम्यान यस्पाली ८७ रेटिङसहित १८ स्थान तल झर्दै ३८औँ स्थानमा झरेका छन्। एटलेटिको मड्रिड रहँदा उत्कृष्ट प्रदर्शन गरिरहेका उनले बार्सिलोना आएको पहिलो वर्ष खास प्रभाव जमाउनलाई सफल भएनन्।

रेटिङप्रति खेलाडीको आक्रोश

फिफाले रेटिङ सार्वजनिक गरेपछि सबैभन्दा पहिला आक्रोशित बनेका खेलाडी हुन् पीएसजीका किलियन एमबाप्पे। उनले फिफाको रेटिङप्रति सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आक्रोश व्यक्त गरेका थिए। त्यस्तै गत सिजन म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलन पुगेका रोमियो लुकाकुले पनि आक्रोश पोखेका छन्। उनले फिफाप्रति कडा शब्दमा आफ्नो रिस देखाएका छन्।

Cooment.jpg

उनले ट्विटरमा लेखेका छन्- ‘इमान्दार होउँ त फिफाले रेटिङसँग फोहोरी खेल खेलेको छ। यसलाई हामी खेलाडीले उजुरी गर्नुपर्छ। म सहमत छैन यो मूल्यहीन कुरासँग। मलाई थाहा छ म कति गर्छु।´

‘म्यानचेष्टर सिटीका डिफेन्डर ऐमेरिक लापोर्टेले पनि रेटिङप्रति व्यंग्य गरेका छन्। उनी आफू फिफाको रेटिङ कुरेर बसेको र रेटिङ देखेपछि अचम्ममा परेको भन्दै व्यंग्य गरेर तस्बिर पोस्ट गरेका थिए।

आर्शनलका फरवार्ड औबामेयाङले पनि आफ्नो रेटिङप्रति व्यंग्य गर्दै ट्विटरमा कमेन्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट