बार्सिलोनाको अर्को सिकार बन्‍ने खतरामा लुइस सुवारेज-Sutra News

बार्सिलोनाको अर्को सिकार बन्‍ने खतरामा लुइस सुवारेज

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा भद्रगोलको लहर सकिसकेको छैन। आफ्ना क्लबका सुपरस्टार खेलाडी लियोनेल मेस्सी पुन क्लबमै बस्ने घोषणा गरेपछि भने स्थिति केही सामान्य भएको जस्तो देखिएको छ। तर उसले बेच्ने भनेका खेलाडीलाई न बेचेको छ, न किन्छु भनेका खेलाडीलाई किनेको छ। उसले बेच्ने सूचीमा राखेको क्रोयशियन मिडफिल्डर इभान रकिटिचलाई मात्रै बेचेको छ।



मिडियामा आएका हल्लाअनुसार चिलियन मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मीलानलाई बेच्दैछ। बेच्ने सूचीमा राखिएका उरुगेली फरवार्ड लुइस सुवारेजलाई पनि इटालियन क्लब युभेन्टसलाई नै बेच्ने हल्ला छ। तर बार्सिलोनामा मोटो रकमको तलब खाइरहेका सुवारेजलाई किन्न युभेन्टसलाई पनि सजिलो छैन। किनभने कोरोना भाइरसका कारण हालः सबै क्लब आर्थिक मन्दीको सामना गरिरहेका छन्।

यता बार्सिलोनालाई पनि बेचिहाल्न सजिलो छैन। किनभने बार्सिलोनामा उनको अझै एक सिजन सम्झौता बाँकी नै छ। यस्तो अवस्थामा उनलाई क्लबले जबर्जस्ती बेच्यो भने उनको एक वर्षको तलब उनले क्लबका लागि नखेले पनि तिर्नैपर्ने हुन्छ।

उनलाई बार्सिलोनाले बेच्नुपर्ने कारणका रुपमा उनको बढ्दो उमेर र खस्कँदो प्रदर्शन भनी दोष लगाँउदै आएको छ। हुन त सुवारेज अहिले ३३ वर्षका छन्। तर, बार्सिलोनाले लगाएको आरोपजस्तै के उनको प्रदर्शन साँच्चै खस्किएको हो? पछिल्ला समय सिंगो बार्सिलोना नै खराब लयबाट गुज्रिरहेको कुरा सबैलाई थाहा छ। यस्तो अवस्थामा उनीबाट मात्रै उच्च प्रदर्शनको अपेक्षा राख्नु कतिको जायज हुन्छ? सुवारेजको मात्रै कुरा गर्ने हो भने उनको व्यक्तिगत प्रदर्शनमा भने ठूलो परिवर्तन अर्थात् गिरावट आएको छैन। उनले गत सिजनमा बार्सिलोनाका लागि २१ गोल गरे। यो गोल संख्या उनी बार्सिलोना आएपछिको सबैभन्दा कम गोल संख्या हो। तर एक सिजनमा गोल कम गर्दैमा बार्सिलोनालाई एक उचाइमा पुर्‍याउन अतुलनीय योगदान गरेका खेलाडीलाई सम्झौता नै रद्द गरी बेच्नैपर्छ? उनी बार्सिलोना आएकै साल ४३ खेलमा २५ गोल गरेका थिए। त्यसबेलाको तथ्यांक र अहिलेको तथ्यांकमा खासै फरक छैन। रोनाल्डो र मेस्सीजस्ता गोल मेसिन खेलाडीलाई पछि पारेर दुईपटक गोल्डेन बुट जित्न सफल खेलाडीलाई एक सिजन उपाधि जित्न नसकेको आवेशमा निर्णय लिइ बेच्दा पछि पछुताउनु त पर्दैन?

क्लबले पछिल्ला समय देखाइरहेको गतिविधिअनुसार सुवारेजलाई जसरी पनि बेच्नलाई तम्सिरहेको प्रष्ट देखिन्छ। अर्कातिर मेस्सी क्ल्बमा बस्ने भएपछि उनले आफ्नो मिल्ने साथीलाई क्लबमै राख्न भूमिका खेल्नसक्ने सम्भावना पनि उतिकै देखिन्छ।

गत सिजन अन्य सिजनको तुलनामा उनको गोल संख्यामा कमी आएकै हो। तर यसपछाडिको कारणलाई पनि हेर्न सक्नुपर्छ। ३३ वर्ष उमेर र गत सिजनमात्रै २१ गोल गरेकै आरोपमा उनलाई क्लब निकाला गरिन्छ भने फुटबल युगमा यो एक अन्यायपूर्ण घटनाको रुपमा स्थापित हुनेछ। सुवारेज गत वर्षको सुरुवातमै घाइते भएका थिए। उनी चार महिनासम्म मैदान बाहिर रहनुपर्‍यो। घुँडाको उपचार गरेका उनले कोरोना महामारीले गर्दा आफू निको भए पनि मैदान फर्केर प्रशिक्षण गर्न पाएनन्। लामो समय मैदान बाहिर बिताएका उनी पछि केही दिनको प्रशिक्षणपछि मैदान फर्केका थिए। उनले मैदानमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि केही हत्वपूर्ण खेलहरुमा गोल गरी टोलीलाई जिताएका थिए। उनले लामो समयसम्म फुटबलबाट टाढा बस्दा आफूले खास प्रदर्शन गर्न नसकेको र आफू पूर्ण फिट हुने कुरा मिडियासामु बारम्बार याचना गर्दै आएका छन्।

लिभरपुलका सबैभन्दा खतरनाक गोलकर्ताका रुपमा परिचित विंगर फरवार्ड मोहमद सालहले गत सिजनमा कूल ४८ खेलमा जम्मा २३ गोल गरे भने सोही क्लबका उत्कृष्ट मानिने सेन्ट्रल फरवार्ड रोबर्ट फिर्मिन्होले कूल ५२ खेलमा मात्रै १२ गोल गरे। त्यस्तै टोटन ह्यामका मुख्य स्ट्राइकर ह्यारी केनले गत सिजन २४ गोलमात्रै गरे भने म्यानचेष्टर सिटीका प्रमुख स्ट्राइकर सर्जियो अगुएरोले पनि २३ गोलमात्रै गरे। यता रियल मड्रिडका मुख्य स्ट्राइकर कारिम बेन्जेमाले गत सिजनमा जम्मा २७ गोल गरे भने पिएसजीका प्रमुख स्ट्राइकर किलियन एम्बाप्पेले कूल ३० गोल गरे। यस तथ्यांकलाई हेर्दा युरोपका टप टिमका टप गोलकर्ताहरुको गोल संख्या पनि २० देखि ३० सम्मको मात्रै देखिन्छ। लामो समय घाइते भएर मैदान फर्केर पनि २१ गोल गरेका सुवारेजको प्रदर्शनलाई खस्केको भन्न मिल्दैन।  

उनी फुटबल इतिहासकै एक उत्कृष्ट फरवार्ड हुन भन्ने कुरामा दुईमत छैन। उनले विगत वर्षमा गरेको प्रदर्शनलाई हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ। सुवारेजको काम भनेको खेलमा गोल गर्ने हो। उनलाई अरु भूमिकामा अपेक्षा गरिन्छ भने त्यो उनीमाथिको अन्याय हो। किनभने हरेक खेलाडी मेस्सीजस्ता हुनसक्दैन, ताकि एकै जना खेलाडी फरक-फरक भूमिकामा देखिन सकोस्। पछिल्लो समय हेर्ने हो भने युभेन्टसका रोनाल्डो मात्रै गोलकर्ताका रुपमा स्थापित छन्। उनी पहिला टिममा ड्रिबलिङ गर्ने र वपक्षीलाई थकाउने काम पनि गर्थे। सुवारेजलाई पनि त्यसरी नै बुझ्न जरुरी छ।

पछिल्ला समय बार्सिलोनाले खेलमा गोल नगरेर भन्दा बढी गोल खाएर धेरै खेल हारेको छ। यसको अर्थ टिममा रक्षापंक्ति कमजो छ भन्ने हुन्छ। त्यसैले सुवारेजको क्षमतामाथि क्लबले सम्मान गर्न सक्नुपर्छ। त्यसो हुन सकेन भने सुवारेजको बहिर्गमनले क्लबलाई पक्कै पनि घाटा हुनेछ।

किनभने प्रतिभालाई नचिन्दाको घाटा यसपाली चुकाउनुपरेको कुरा बार्सिलोनालाई राम्ररी  थाहा छ। उसले गतवर्ष फिलिपे कौटिन्होलाई लोनमा बार्यन म्युनिख पठाएको थियो। उनले त्यहाँ गएर च्याम्पियन्स लिगसहित ट्रेवल उपाधि जितेका थिए। यसै करणले बार्सिलोनाले कौटिन्होको पुरानो क्लब लिभरपुललाई ५ मिलियन युरो तिर्नुपर्ने भएको छ। यसतर्फ पनि बार्सिलोनाले सोच्न जरुरी छ।

क्लबले पछिल्ला समय देखाइरहेको गतिविधिअनुसार सुवारेजलाई जसरी पनि बेच्नलाई तम्सिरहेको प्रष्ट देखिन्छ। अर्कातिर मेस्सी क्ल्बमा बस्ने भएपछि उनले आफ्नो मिल्ने साथीलाई क्लबमै राख्न भूमिका खेल्नसक्ने सम्भावना पनि उतिकै देखिन्छ।

खैर, उनी बार्सिलोनामा रहेपनि, नरहेपनि सिङ्गो फुटबललाई गरेको योगदान भने सम्झन लायक छ।

३३ वर्षीय सुवारेजको फुटबल यात्रा सन् २००५ मा उरुग्वेको स्थानीय क्लब नासिओनल बाट सुरु भएको थियो। त्यसपछि उनी नेदर्ल्यान्ड्सको ग्रोनिन्जेन फुटबल क्लबमा गएका थिए। सुरुवाती दुई क्लबका लागि उनले १०/१० गोल गरेका थिए। त्यसपछि सन् २००७ मा नेदरल्यान्ड्सकै अर्को क्लब आयाक्स पुगेपछि सुवारेजको धमाकेदार यात्रा सुरु भयो। उनले आयाक्समा चार वर्ष बिताए। उनी त्यहाँ रहँदा कूल १ सय ५९ खेलमा १ सय ११ गोल र ६८ गोलका लागि पास मिलाइदिएका थिए। यस क्रममा उनको टिमले डच लिग र डच कप जित्न सफल भएको थियो। सन् २०१० मा नेदरल्यान्ड्सको फुटबलर अफ दी इयर अवार्डसमेत उनले जिते।

त्यसपछि उनी इङ्ग्लिस क्लब लिभरपूल पुगे। त्यहाँ तीन सिजन बिताएका उनले लिभरपूलका लागि १ सय ३३ खेलमा ८२ गोल गरे। उनले त्यहाँ एउटा उपाधि जितेका थिए भने व्यक्तिगतरुपमा प्रिमियर लिग र युरोपियन गोल्डेन बुट जित्न सफल भएका थिए।

लिभरपुलपछि उनको यात्रा हालको क्लब बार्सिलोनामा रहेको छ। उनी सन् २०१४ मा बार्सिलोना आएका थिए। बार्सिलोनाको जर्सीमा कूल २ सय ८३ खेल खेलेर १ सय ९८ गोल गरेका उनले १ सय ९ गोलका लागि पास मिलाइदिएका छन्। उनले हालसम्म बार्सिलोनाका लागि ४ वटा लालिगा, ४ वटा स्पेनिस सुपरकप, २ वटा कोपा डेल रे, एउटा च्याम्पियन्स लिग र एउटा क्ल्ब वर्ल्डकप गरी कूल ९ वटा उपाधि जितेका छन्। उनकै उत्कृष्ट प्रदर्शनले बार्सिलोनाले सन् २०१४-१५ को सिजनमा च्याम्पियन्स लिगसमेत जितेको थियो।

अहिलेसम्म उनले कूल १७ वटा क्लब उपाधि जितेका छन् भने उरुग्वेका लागि सन् २०१०-११ को सिजन कोपा अमेरिकाको उपाधिसमेत जितेका छन्। व्यक्तिगतरुपमा उनले उरुग्वेको फुटबलर अफ दी इयर २०१० समेत जितेका छन्। 

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट