कविता : त्रासदी-Sutra News

कविता : त्रासदी

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

म डराइरहें
सधैं सधैं डराइरहें
तिमी अब के भन्छौ भनी
डराइरहें!



मेरो हर भावनाको वेग
कण्ठमा आइ अवरूद्ध बन्दा
डराइरहें
तिमी अब के भन्छौ भनी
डराइरहें
म रूँदा पनि डराइरहें
मुस्कुराउँदा पनि डराइरहें
आँखामा भरिएको पानी देख्छौ कि
भनी डराइरहें!

‘किन मुस्कुरायो तेरो ओठ?’
सोध्छौ कि भनी डराइरहें
तिम्रो आगमनमा डराइरहें
तिम्रो अनुपस्थितिमा पनि डराइरहें
तिमीले बुझ्नै नसक्ने
कहानी लेख्न डराइरहें!

होशमा डराइरहें
मदहोशीमा पनि डराइरहें
तिम्रो मौजदगीमा हरपल
मात्र डराइरहें!

तिमी विना मर्छु कि भनी
डराइरहेंं
‘तिमी नभए कसरी बाँच्ने ?’ सोच्दै
डराई रहें
तिमीलाई पाउँदा डराइरहें
पाएरै पनि गुम्ने हौ कि भनी डराइ रहें!

फलत, जीवन त्रस्त बञ्जर बन्यो
त्यो रापमा जल्दै
निभ्छु कि भनी डराइरहें
तिम्रो आगमनसँगे छाएका
असुरक्षित भविष्यसँग डराइरहें!

यद्यपि जीवन चलिरहेथ्यो
विना तिमी पनि
निःसन्देह,
तिम्रो प्रवेशसँगै छाएका
पीडारूपी आतंककारी मिसाइलहरू
मेरो मस्तिष्कमा विस्फोट हुँदै गए

डरको अन्त्य गर्नु नै त थियो
केवल एकपटक डराउने
अनि
जीवनभरलाई बलियो बनाउने अठोटका साथ
केवल एक पटक डराएँ
अन्तिम पटक
दैलोबाहिर पाइला थियो

फर्केर हेरें,
त्यहाँ डरको भड्खारोले अझै
मलाई च्याप्न बोलाउँदै थियो
अगाडि हेरें
खुला आकाश अनि म
अनि अनन्त फैलिएको धरती!

आहा, कति सुन्दर
त्रासविहीन!

म अघि बढें
मनको दह्रिलो विस्वासले
त्यो डरको बध गरेर!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट