कविवर घिमिरेप्रति प्रथम राष्ट्रपतिको यस्तो छ सम्झना-Sutra News

कविवर घिमिरेप्रति प्रथम राष्ट्रपतिको यस्तो छ सम्झना

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- प्रथम राष्ट्रपति डा. रामवरण यादवले कविवर माधव घिमिरेको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताएका छन्।



बुधबार सूत्रन्युजसँग कुरा गर्दै यादवले ‘राष्ट्रले अमूल्य निधि’ नै गुमाएको भन्दै दुःख व्यक्त गरे।

‘राष्ट्रले अमूल्य निधि नै गुमाएको छ,’ यादवको भनाइ छ, ‘ अपुरणीय क्षति भएको छ। उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु। उहाँको शोक सन्तप्त परिवारप्रति मेरो गहिरो सम्वेदना छ।’

कविवर घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार काठमाडौं लैनचौरस्थित आफ्नै निवासमा निधन भएको थियो।

यादवले कविवर घिमिरेले राष्ट्रिय एकताको भावनाले प्रेरित भएर लेखेको भन्दै नेपाली साहित्यलाई धनी बनाएको बताए।

‘नेपाली साहित्यलाई धनी बनाउनु भएको छ,’ उनको मूल्यांकन छ, ‘उहाँका लेख, रचनाबाट राष्ट्र र राष्ट्रियताबारे हिमाल, पहाड, तराई सबैलाई समेटिएको छ। काहीँ न काहीँ उहाँले राष्ट्रिय एकताको भावनाले प्रेरित भएर लेख्नुहुन्थ्यो।’

यस्तो छ डा. यादवको थप भनाइ

उहाँ हाम्रो राष्ट्रको अमूल्य निधि नै हुनुहुनथ्यो। उहाँको लामो जीवनमा उहाँका धेरै लेख, रचनाहरु उहाँद्वारा रचित भएको छ।

नेपाली साहित्यलाई धनी बनाउनु भएको छ। उहाँको लेख, रचनाबाट राष्ट्र र राष्ट्रियताका बारेमा हिमाल, पहाड, तराईं सबैलाई समेटिएको छ। काहीँ न काहीँ उहाँले राष्ट्रिय एकताको भावनाले प्रेरित भएर लेख्नुहुन्थ्यो।

एक शताब्दीसम्म उहाँले उहाँले कलम चालाउनुभयो। पछिल्लो पाँच÷सात महिनादेखि मात्रै उहाँको कलम बन्द भएको थियो।

राष्ट्रको लागि उहाँले आफ्नो सिर्जनामार्फत् धेरै योगदन गर्नुभएको छ।

पहिले मैले उहाँको नाम सुनेको थिएँ, ठाँउ सुनेको थिएँ। म राष्ट्रपति भएपछि कार्यक्रमहरुमा र राष्ट्रपति भवनमा पनि उहाँलाई सम्मान गर्ने कार्यक्रम पनि भएको थियो। धेरै सहहृदयी मैले उहाँलाई पाएको थिएँ।

उहाँको चर्चित गीत ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली’ चाहिँ मेलै धेरै सुनेको छु।

उहाँ लमजुङको बाहुन डाँडामा जन्मेर दुरा डाँडामा पढ्न जानु भएको थियो। उहाँले स्कुले शिक्षा सुरु गर्नुभएको त्यो ठाँउमा मैले राष्ट्रपति भएको बेला स्कुल उद्घाटन गर्न गएको थिएँ।

राष्ट्रले अमूल्य निधि नै गुमाएको छ। अपुरणीय क्षति भएको छ। उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु। उहाँको शोक सन्तप्त परिवारप्रति मेरो गहिरो सम्वेदना छ।

यस्तो अवस्थामा उहाँको परिवारलाई धैर्यधारण गर्ने र उहाँको आत्माको चीर शान्तिका लागि म कामना गर्न चाहान्छु।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट