विभाजनको प्रभाव : संघ र प्रदेशको सरकारबाट एकैपटक बाहिरिने अवस्थामा उपेन्द्र-Sutra News

विभाजनको प्रभाव : संघ र प्रदेशको सरकारबाट एकैपटक बाहिरिने अवस्थामा उपेन्द्र

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । पार्टी विभाजित बनेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कमजोर मात्रै बनेका छैनन्, सत्ता राजनीतिको लागि पनि महत्वहिन बन्न थालेका छन् । संसदीय गणितमा कमजोर बनेका यादव सत्ता राजनीतिको रिङ्गबाट पनि क्रमशः बिमुख हुँदै गरेको देखिन्छ ।



पार्टी विभाजनपछि संघीय संसदमा जसपा नेपालका जम्मा ५ सांसद छन् । यता, आफैंले नेतृत्व गरिरहेको मधेश प्रदेशमा पनि जसपा नेपालबाट आधा जसो सांसद विभाजित जसपातर्फ लागेको बताइएको छ ।

यस्तोमा यादव पक्षीय जसपासँग भएको गणीत केन्द्रका निम्ति मात्रै महत्वहिन बनेको छैन, प्रदेशमा पनि नेतृत्व गर्न सक्ने हैसियत गुमाउँदै गरेको छ ।

हुन पनि जसपा विभाजनको क्रमका देखिएका दृश्यले यादव स्वभाविक किनारामा पर्ने अवस्थामा छन् । जसपा नेपाल फुटाएर बनेको जसपाले स्पष्टरुपमा वर्तमान सत्ता समीकरण भत्काउने खेलपछि विद्रोह गर्दै नयाँ पार्टी गठन गरेको बताएको छ । जुन आरोप यादव पक्षमाथि अस्वभाविक देखिन्न ।

विवादकै बीच बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका यादव उपस्थित भएनन् । उनको अनुपस्थितिलाई विभिन्न कारण बनाइए पनि सरकारबाट बाहिरिने तयारीको रुपमा विश्लेषण गरिएको छ ।

यहीबीच जसपा नेपाल नेतृत्वको मधेश सरकार ढलाउने खेल देखिने गरी सुरु भएको छ । केन्द्रका सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । जहाँ केही दिनभित्रै सरकार परिवर्तनको खेल हुने स्पष्ट देखिन्छ ।

प्रदेश तहमा जसपा के–कति संख्यामा विभाजित भएको छ भन्ने स्पष्ट नभएता पनि विगतका घटनालाई हेर्दा, सत्ताकाे गुलियाे भएतिरै धेरै जाने गरेकाे देखिन्छ । १९ सांसद भएको मधेशमा आधाको संख्यामा पनि विभाजित भएमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने ल्याकत राख्दैन ।

जहाँ वर्तमान सत्ता समीकरणका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा मिलेमा बहुमत जुट्न सक्छ ।

यस्तोमा यादव नेतृत्वको जसपा नेपाल संघीय सत्ताबाट मात्रै नभई प्रदेशको सत्ताबाट पनि एकैपटक बाहिरिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट