नयाँ वर्ष नजिकिएसँगै पोखरामा बढ्यो पर्यटकको चहलपहल-Sutra News

नयाँ वर्ष नजिकिएसँगै पोखरामा बढ्यो पर्यटकको चहलपहल

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । नयाँ वर्ष नजिकिएसँगै पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत–वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।



यहाँका होटलमा पाहुनाको संख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ,’ उनले भने, ‘नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।’

पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस-माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा सीमित थियो । नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ ।

महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ ।

‘अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्,’ उनले भने, ‘यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनु पर्छ ।’

यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफिरका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेको अध्यक्ष सुवेदीले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनिक डेढदेखि दुई सयसम्म भारतीय निजी सवारीसाधन पोखरा भित्रिरहेको बताएका थिए । ‘हवाईमार्ग र सार्वजनिक सवारीसाधन प्रयोग गरेर आउने पनि उत्तिकै छन्,’ उनले भने, ‘पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् ।’

पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा भित्रने विदेशी पर्यटकको यकिन तथ्यांक भने कुनै पनि निकायसँग नरहेको उनको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रविन कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अंग्रेजी महिना मार्चमा ३० हजार १९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल लगायतका गन्तव्य स्थल पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट