काठमाडौं महानगरमा गरिब परिवारको गणना सुरु-Sutra News

काठमाडौं महानगरमा गरिब परिवारको गणना सुरु

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । काठमाडौं महानगरभित्र आइतबारदेखि गरिब घर परिवार गणना सुरु हुने भएको छ । उक्त तथ्यांक संकलनका लागि महानगरभरि २०९ गणक खटिएका छन् ।



गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरभित्रका गरिब घर परिवार गणना गर्न सुरु गरिएको काठमाडौं महानगर सामाजिक विकास विभागका तथ्यांक अधिकृत कृष्णराज तिवारीले जानकारी दिए ।

उनले भने, ‘बढीमा पाँच महिनाभित्र गरिब घर परिवार गणना गरिसक्ने गरी आजबाट गरिब गणना सुरु भएको छ, महानगरभरि २०९ गणक खटिने छन् ।’

उनका अनुसार एक जना गणकले एक महिनामा कम्तीमा २५० घर परिवारको तथ्यांक संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै गणक वडा नं १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घर परिवारको परिचय पत्र वितरण गरिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ ।

काठमाडौं महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाअनुसार गरिब तथ्यांक संकलन २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट