२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न-Sutra News

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

लण्डन- तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ ।



‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ, नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ’, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिको सीप, अनुभव एवं सम्पर्क सञ्जालको नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।

समापन समारोहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा.हेमराज शर्मा, दक्षिण कोरियाका डा.देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए । पत्रकार भगीरथ योगी तथा डा.दिनेश ज्ञवालीले अङ्ग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए ।

शुक्रबारदेखि विभिन्न सत्र सञ्चालन गरिएको र शनिबार लण्डनस्थित नेपाली दूतावासमा औपचारिकरूपमा सुरुआत गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीका बेलामा नेपालीको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरूपमा सम्मेलनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली सङ्घ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिए । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्‍याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट