मेक्सिकोमा बन्धक बनेका ११ नेपालीको सकुशल उद्दार-Sutra News

मेक्सिकोमा बन्धक बनेका ११ नेपालीको सकुशल उद्दार

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । मेक्सिकोमा बन्धक बनाएर राखिएका ११ नेपालीको उद्दार भएको छ ।



रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका सम्राट भनेर चिनिने खगेन्द्र रेउले र मुसिकोट नगरपालिका सल्ले रुकुम पश्चिम घर भई हाल बाँकेको खजुरा बस्दै आएका पवन खड्काले मेक्सिकोमा बन्धक बनाएका एघार जना नेपालीको ‘सुल्तान’ भनेर चिनिने पाकिस्तानी एजेण्टको सहयोगमा ४७ दिनपछि उद्दार गरिएको हो ।

उनीहरुलाई सम्राट र पवनले एक महिनादेखि मेक्सिकोको एक होटेलमा बन्धक बनाएर राखेका थिए । उनीहरुलाई होटेलमा राखेर विभिन्न धम्की दिँदै पैसा मगिरहेका थिए । होटेलमा राखेर मानसिक यातना दिँदै पैसा मागेको पीडितहरूको भनाइ छ ।

पीडितका आफन्तले सुल्तानसँग गुहार गरेपछि उनले सहयोग गरेको बताएका छन् । सम्राट र पवनले नेपालीहरूलाई यसरी बन्धक बनाएको यो पहिलो पटक नभएको सुल्तानले जानकारी दिएका छन् ।

सम्राटले बारम्बार नेपालीहरूलाई फासाउने गरेको उनको भनाइ छ । ‘ये पहली बार नहीं है कि सम्राट ने ऐसा किया, सम्राट बारबार ऐसा करता है वह नेपालियों को वहां से यहां लाता है, उनसे पैसे वसूलता है और उन्हें फंसा हुआ छोड़ देता है,’ उनले भने ।

पीडितहरू जनावरी १८ मा दुबईको एयरपोर्टबाट जोर्डन-मोरक्को हुँदै निकारागुवा गएका थिए । उनीहरू निकारागुवा अवतरण गरेपछि सम्राट र पवनको निर्देशनमा सम्राट निकट चन्द्र गजमेर र पवन निकट अम्मर बहादुर ओलीले ३० नेपालीलाई माफिया लगाएर होटेलमा राखेर बन्धक बनाएका थिए ।

निकारागुवामा पैसा लिएपछि पीडितहरूलाई ग्वाटेमाला लगेर एक महिना बन्धक बनाएर राखिएको थियो । त्यहाँ अनेक धम्की दिने निधारमा पेस्तोल ताकेर पैसा माग्ने गरेको पीडितहरूको भनाइ छ ।

ग्वाटेमालामा एक महिना बन्धक बनाएपछि उनीहरूलाई म्याक्सिको लगेर १९ जनालाई छाडियो, ११ जनालाई बन्धक बनाएर राखिएको थियो, मेक्सिकोमा छोडिएका १९ जना भने मेक्सिको बोर्डर पार गरेर अमेरिका प्रस्थान गरिसकेका छन् ।

केही समयअगाडि पनि नेपालबाट कतार हुँदै ब्राजिल गएका सात नेपालीलाई सम्राटले बन्धक बनाएर पैसा असुलेका थिए । उनीहरुलाई सम्राटले ब्राजिलबाट बन्धक बनाएर मेक्सिको पुर्‍याएर प्रतिव्यक्ति ७० लाख असुलेर अलपत्र छोडेका थिए । उनीहरु मेक्सिकोबाट पाकिस्तानी एजेण्ट सुल्तानको सहयोगमा अमेरिका प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट