प्रधानमन्त्री प्रचण्डको आग्रहलाई राष्ट्र सङ्घका महासचिवको साथ-Sutra News

प्रधानमन्त्री प्रचण्डको आग्रहलाई राष्ट्र सङ्घका महासचिवको साथ

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् ।



जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा शनिबार उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्च स्तरीय कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ ।”

उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनु पर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नु पर्ने बताए ।

“मैले आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु, अब यसमा ढिला भइसक्यो, सम्बोधन गर्न सबै लाग्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री दाहालले आयोजना गरेको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्री, भूटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिए ।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मङ्सिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट