व्यवस्था परिवर्तनकाे त्रास : कति छ राजसंस्थाको पक्षमा जनमत ?-Sutra News

व्यवस्था परिवर्तनकाे त्रास : कति छ राजसंस्थाको पक्षमा जनमत ?

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडाैं । हिन्दु राष्ट्र तथा राजसंस्था पुनर्स्थापना गर्ने शक्तिहरू पछिल्लो समयमा निकै सक्रिय छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजसंस्था पुनर्स्थापनाको लागि खुलेर मैदानमा देखिन्छन् ।



राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा त संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित निर्वाचन लडेर १४ सिटका साथ संघीय संसदको पाँचौ ठूलो संसदीय दल नै बनेकाे छ । त्यो बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका हर्ताकर्ता कमल थापा नेकपा (एमाले)को चुनाव चिन्ह लिएर चुनाव लडेपनि चुनावमा पराजित हुन पुगे । राजेन्द्र लिङ्देनसँग पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएपछि केही समय गणतन्त्रवादी बनेका उनी पछिल्लाे समय फेरि राजावादी बनेका छन्।

एक वर्षदेखि मात्रै नवराजावादी बनेका दुर्गा प्रसाईं त कुनै बेला कांग्रेस, माओवादी अनि एमालेको केन्द्रिय सदस्य हुँदै अहिले राजावादी कित्तामा पुगेका हुन् । बिर्तामोडमा सञ्चालित बि एन्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले मेडिकल कलेजको सम्बन्धन नपाएपछि त्यसको प्रतिशोधका लागि मात्रै प्रसाईं राजावादी बनेको भन्नेको संख्या पनि ठूलै छ ।

अघिल्लो वर्षको फागुन मै पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारलाई नै उपस्थित गराएर राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सुरु गरेका प्रसाईं एक वर्ष पनि नपुग्दै आफ्नै अभियानबाट थलिएका छन् । मंसिर ७ गते राजधानीमा लाखौं नागरिकलाई सडकमा उतारेर व्यवस्था परिवर्तन गर्ने उद्घोष सहित निरन्तर आन्दोलन गर्ने कार्ययोजना पेश गरेका प्रसाईं अन्ततः आफ्नै आन्दोलनले थलिन पुगे । मंसिर ७ गतेको आन्दोलनमा सम्मानजनक जनसहभागिता जुटाएका प्रसाईं मंसिर ८ गते आफ्नै निवासमा अघोषित नजरबन्दमा परेसँगै मंसिर ९ गते सिफलसम्म पुग्दा उनको आन्दोलन फिक्का सावित हुँदै विचलनमा पुगिसकेको देखिन्छ ।

अहिले उनकाे समर्थनमा सडकमा निस्किएका उनका स्वकीय सचिव विनञ्जय थापा र आचार्य श्रीनिवाससहित दर्जन बढी पक्राउ परिसकेका छन् । सडक तताउने समूह प्रहरी हिरासतमा रहेसँगै उनकाे आन्दोलन पनि सुस्ताएकाे छ ।

केही हजारको उपस्थितिले व्यवस्था परिवर्तन गर्छु भनेर आन्दोलनमा होम्मिनु प्रसाईंको साहस हो वा दुस्साहस हो त्यो आउने समयले नै प्रमाणित गर्ला, भलै प्रसाईंको यो आन्दोलनले राजावादी शक्तिलाई भने ठूलो हौसला प्रदान गरेको छ । २०७२ को नयाँ संविधानपछि व्यवस्थाकै विरोधमा यतिधेरै जनशक्ति एकत्रित भएको यो पहिलो अवसर हो र त्यसको नेतृत्वकर्ताको नाताले प्रसाईंले यसको पुरापुर स्वामित्व पाएकाे देखिन्छ ।

निकै लामो समयदेखि प्रसाईंले हल्लाखल्ला गरेर व्यवस्था परिवर्तनको आन्दोलन गर्ने उद्घाेष गरेका प्रसाईंका कारण निकै तनावमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो प्रभावक्षेत्र समेत रहेको झापामा ३० हजारभन्दा धेरै जनशक्ति उतारेर पूर्वराजालाई समेत उपस्थित गराउन सफल भएपनि लिङ्देनले प्रसाईंभन्दा धेरै ठूलो जनसहभागिता गराउन सकेको आत्मरतिमा रमाउने बाहेक थप केही त गर्न सकेनन् नै राजसंस्था पक्षधर शक्तिलाई एकत्रित गर्न नसकेको भन्दै पूर्व राजाको झपराई मात्रै खाए । हुन पनि एकजना व्यवसायीसँगको प्रतिस्पर्धामा नेकपा एमाले र राप्रपा जस्ता शक्तिहरू उत्रिनु दुर्गा प्रसाईंका लागि भने सफलता नै मान्नु पर्छ ।

तर, वास्तविकता भने ठिक उल्टो छ । हिन्दुराष्ट्र तथा राजसंस्था पुनर्स्थापना गर्न चाहने शक्तिहरू भने एक जुट भएकै छैनन् । राजा ल्याउने ठोकुवा गरिरहेका दुर्गा प्रसाईंले नै पूर्वराजा र राजेन्द्र लिङ्देनको असहयोग मात्रै हात पारे । प्रसाईंले राजा ल्याउनेभन्दा पनि आफ्ना अन्य स्वार्थ पूरा गर्न ॠण मिनाहाको नाममा गाउँगाउँबाट सर्वसाधारण उतारेको बुझाई व्याप्त छ । राजावादीबाट गणतन्त्रवादी हुँदै फेरि राजावादी बनेका कमल थापाले समेत प्रसाईंको आन्दोलनलाई खास महत्व दिएनन् ।

प्रसाई नेतृत्वको आन्दोलनमा पहिलो दिन हजारौँ जनता सडकमा आए पनि त्यसपछि दुइ चार जनामात्र सडकमा आउनुबाटै बुझ्न सकिन्छ की राजसंस्थाको पक्षमा जनता छैनन् । सामाजिक सञ्जालमार्फत जनताहरुले हालको व्यवस्था ठिक भएको तर, राजनीतिक दलहरुले आफू सत्तामा टिक्नको लागि मात्र काम गरिरहेको गुनासो गर्दै आएका छन् ।

उसो त राजनीतिक दलहरुले जनताको अपेक्षाअनुसार काम गरेको भए आज केही राजावादी शक्तिहरू सडकमा आउदैँमा झस्किनुपर्ने अवस्था आउने थिएन । दुई सय ५० वर्ष लामो जहानियाँ राजतन्त्र, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था र विगतको हिंसात्मक द्वन्द्व र अस्थिरताका कारण आम जनताले भोग्नुपरेका समस्या कहिल्यै भुल्न सकिँदैन ।

त्यसकारण प्रमुख राजनीतिक पार्टीहरूले आन्तरिक सुधार गर्ने र कार्यशैली बदल्ने हो भने नेपाली जनमत यो प्रणालीको विपक्षमा छैन। प्रणालीका कमीकमजोरीमा असन्तोष होलान्, तर प्रणालीकै विरुद्ध होइन भन्ने प्रष्ट नै छ ।

प्रमुख राजनीतिक दल एक ठाउँमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएका बताएका हुन् ।

‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन’, उनले भनेका छन् । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई चार जना सडकमा उत्रिदैँमा राजसंस्था नफर्किने दाबी गर्दै आएकाे छ । ‘दुई/चार जना सडकमा आएर ढुंगा हान्दैँमा राजा आउदैँन । त्यो सम्भव पनि छैन । दुई चार जनाले ढुंगामुडा गर्दैमा केही फरक पर्नेवाला छैन’, केही दिन अगाडि काठमाण्डुमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले पनि राजसंस्थावादीकाे पक्षमा जनता नरहेकाे बताएकाे छ । साेमबार वेबसाइट उद्‌घाट गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मुलुकलाई निरङ्कुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको तर, त्याे त्यति शक्तिशाली नभएकाे’ टिप्पणी गरेका थिए ।

गणतन्त्रको पक्षमा देखिएका सबै दलहरु पछिल्लो राजसंस्थापक्षधरको अभियानसँगै करिब एक ठाउँमा देखिएका छन् । उनीहरुबीच राजसंस्था पक्षधरलाई जसरी पनि ठेगान लगाउने भित्रि सम्झौता भएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट