दुर्गा प्रसाइँलाई सडकमा झर्नै गाह्रो-Sutra News

दुर्गा प्रसाइँलाई सडकमा झर्नै गाह्रो

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । व्यवस्था नै बदल्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइँ केन्द्रीय राजधानी काठमाडौं आए । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नाममा सडक प्रदर्शन पनि सुरु गरे । तर, उनले सुरु गरेको सडक प्रदर्शनमा न राजपरिवारको साथ पाए, न राजसंस्था पक्षधर राजनीतिक दलको । हिन्दु धर्मको पक्षमा रहेका विभिन्न संघसंस्थाको पनि उनले गतिलो साथ पाउन सकेनन् ।



मंसिर ७ गते काठमाडौंको बल्खुमा केही उत्साहजनक प्रदर्शन गरेपनि त्यसयता भने उनको प्रदर्शन पूर्ण सुस्ताएको छ । प्रदर्शनमा सहभागिता न्यून बनेसँगै प्रसाइँ नेतृत्वको अभियानले सडक प्रदर्शनका कार्यक्रमलाई घोषितरुपमै स्थगित गरेको छ । तथापी, छिटफुट कार्यक्रमहरुलाई भने समूहले निरन्तरता दिइरहेको देखिन्छ ।

यसबीचमा समूहले विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम र सामान्य सडक प्रदर्शन गरेको थियो । तर, उक्त कार्यक्रमहरु निकै नगन्य स्तरको बन्यो ।

सोमबार गौशालामा गर्न लागिएको प्रदर्शनलाई सुरक्षा निकायले बल प्रयोग गरेर छिन्नभिन्न बनाएको थियो भने मंगलबार पनि तयारी गरिएको कार्यक्रम पूर्ववत् स्थितिमै अवरुद्ध बनाइदिएको छ । मंगलबार प्रदर्शन सुरु हुन नपाउँदै तयारीका लागि जुट्दै गरेका समर्थकलाई प्रहरीले तितरवितर पारेको थियो । गौशाला हिँडेका स्वयम् प्रसाइँलाई पेप्सिकोलाबाटै फिर्ता गरिएको थियो ।

सुरक्षा निकायको उच्च बल प्रयोग

प्रसाइँ समूह अहिले संकटउन्मुख बनेको छ । एकातिर समर्थनले साथ छोडेका छन् भने अर्कोतिर सरकारको बल प्रयोग उच्च तहमा छ । मंसिर ७ का लागि काठमाडौं आएका थुप्रै समर्थक फिर्ता भइसकेका छन् भने सुरक्षा निकायले गरेको बल प्रयोगले प्रदर्शन गर्नै नसक्ने अवस्था समूहलाई बनेको छ ।

मूल नेतृत्वमा रहेका प्रसाइँ मंसिर ८ यता करिब उच्च निगरानीमा छन् भने उनका विश्वासिला नेतृत्वकर्ता क्रमशः पक्राउ परिरहेका छन् । मंगलबारसम्म प्रहरीले प्रसाइँकै स्वकीय सचिव विनञ्जय थापासहित दुई दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।

जसमा उनको समर्थनमा आएका आचार्य श्रीनिवास पनि छन् । थापा र श्रीनिवास सोमबारको प्रदर्शनका क्रममा समातिएका थिए ।

एकपछि अर्को गर्दै समूहका नेतृत्वकर्ता पक्राउ परिरहँदा र प्रदर्शन कमजोर बनिरहँदा प्रसाइँ स्वयम् पनि अहिले हार मान्ने स्थितिमा पुगेका छन् । उनको पछिल्ला सार्वजनिक अभिव्यक्तिअनुसार प्रसाइँले हालकै अवस्था कायम रहे प्रदर्शन गर्ने छैनन् ।

‘लिङ्देनले जोगाए पार्टी’

प्रसाइँले प्रदर्शनको आह्वान गर्दै गर्दा राप्रपा विभाजित बन्यो । राप्रपाका अध्यक्ष प्रसाइँको अभियानविरुद्ध उभिए भने अन्य नेताहरु समर्थन गर्नुपर्ने पक्षमा उभिए । जसको नराम्रो प्रभाव प्रसाइँको शक्ति प्रदर्शनमा देखियो । तथापी, केही नेता तथा कार्यकर्ता प्रसाइँको अभियानमा पुगे ।

तर, प्रसाइँको पक्षमा मूल नेतृत्व नदेखिनु नै राजनीतिकरुपमा राप्रपाका लागि भने फाइदाजनक बनेको छ । राप्रपाका एक नेता लिङ्देनको निर्णयले राप्रपाको जोगाएको बताउँछन् ।

“अहिलेको परिस्थिति निर्णायक आन्दोलन गर्ने खालको होइन, थिएन, यदि सिंगो पार्टी आन्दोलनमा उभिएको भए, आन्दोलन यस्तै परिस्थितितर्फ उन्मुख भएको भए, पार्टी नराम्रोसँग कमजोर हुने अवस्था हुन्थ्यो”, उनले भनेका छन्, “सिंगो पार्टीलाई पक्षमा नउभ्याएर लिङ्देनले पार्टी जोगाएका छन् ।”

राप्रपा नेतृत्वले प्रसाइँको अभियानले मूर्तरुप पाउन नसक्ने निष्कर्ष निकालेको छ । राप्रपाले राजसंस्थाको पक्षमा निर्णायक आन्दोलन गर्ने परिस्थिति बनिसकेको पनि बताएको छ ।

“आन्दोलन गर्ने विषयमा सबै परिस्थिति अनुकुल हुनुपर्छ, भावनामा बगेर हुँदैन”, ती नेताले भनेका छन्, “अहिलेको परिस्थिति अभियान चलाउने त हो तर, निर्णायक भनेर लाग्ने होइन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट