प्रसाइँसँग सरकार र प्रतिपक्षी किन भयभीत ? -Sutra News

प्रसाइँसँग सरकार र प्रतिपक्षी किन भयभीत ? 

बिहिबार, ७ मंसिर २०८०

बिहिबार, ७ मंसिर २०८०

अहिले सत्ता पक्षदेखि आम नागरिकसम्मलाई दुर्गा प्रसाईँको काठमाडौं केन्द्रित प्रदर्शन कस्तो रहला भन्ने चाँसो देखिन्छ । जनप्रदर्शन भव्य बन्छ वा फितलो बन्ला सबैको चाँसो बनेको छ । प्रसाइँ समूहले शक्ति प्रर्दशनको तयारी गर्दै गर्दा यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले पनि काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । प्रसाइँ समूहको प्रदर्शनलाई फितलो देखाउन र चुनौति दिने तयारी युवा संघको छ । जसको लागि युवा संघले केही दिनदेखि नै तयारी गरिरहेको थियो । चाखलाग्दो कुरा, प्रसाइँ समूहसँग भिड्न सिंगो एमाले लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै प्रसाइँविरुद्ध उत्रिन संघलाई निर्देशन दिएका छन् । 



सबैको चाँसो लागेको विषय, विगतमा देशको कार्यकारी प्रमुख भइसकेको व्यक्ति किन यस्ता कुराका पछि लाग्दैछन् । किन एक पात्रको पछि सिंगो पार्टी र शक्तिलाई झोस्दैछन् ? असल अभिभावकको काम के हो ? द्वन्द्वलाई सकेसम्म रोक्ने कि द्वन्द्व गर्न उन्माद रहेको सन्तानलाई द्वन्द्व गर्नैपर्छ, हामीले हाम्रो शक्ति प्रदर्शन गर्नैपर्छ भनेर अझै उक्साउने काम गर्ने ? गाउँघरतिर एउटा उखान छ “आगोमा घिउ थप्ने काम गर्नु” अहिले ओलीले युवा संघलाई घ्यू थप्ने काम गरिरहेका छन् । 

प्रसाइँ समूहले शक्ति प्रदर्शन गर्दै गर्दा ओली मात्रै आतङ्कित छैनन् सरकार पनि भयभीत देखिन्छ । सरकारसँग सम्पूर्ण राज्यशक्ति छ, चार तहको सुरक्षा निकाय छ तथापी, सरकार प्रदर्शनलाई लिएर आतङ्कित भइरहेको छ । सरकारले प्रदर्शनलाई रोक्न अनेकन खालका हतकण्डा अपनाएको छ । प्रदर्शनकारीलाई उपत्यका आउन रोक्नेदेखि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउनेसम्मको भूमिकामा सरकार देखिन्छ । 

आज सरकार जसरी लागेको छ, यसलाई हेर्दा विगतमा कुनै निरंकुश शासकले जनप्रदर्शनलाई दबाउन खेलेको भूमिका जस्तो देखिन्छ । जसबाट प्रश्न उठेको छ, यति लामो संघर्ष र बलिदान यही फरक विचार राख्नलाई ल्याएको होइन ? सत्ता पाएपछि मैं सर्वेसर्वा, मेरो विचार, सिद्धान्त मात्र सर्वश्रेष्ठ अरू सबका विचार, आचार । 

लोकतन्त्र गणतन्त्रको सुन्दरता नै सबै किसिमको विचारलाई उचित स्थान प्रदान गर्नु हो । लोकतन्त्रमा लोकले, यो तन्त्र खराब छ भन्न पाउनुपर्छ, बिना कुनै रोकटोक । राणाकालमा राणा शासनविरुद्ध, पञ्चायती व्यवस्थामा पञ्चायतविरुद्ध र राजसंस्था राजाविरुद्ध नारा लगाउँदै ल्याएको यो लोकतन्त्र र गणतन्त्रमा लोकतन्त्र र गणतन्त्रविरुद्ध किन नारा लगाउन पाइँदैन ? सबै व्यवस्थाविरुद्ध नारा लगाउँदै गर्दा, हामी हाम्रो विगत बिर्सिनु हुदैँन । 

सबै व्यवस्थामा मुख्य र महत्वपूर्ण तत्व हो, भूँई तहका आम जनता, जस्लाई हामी सत्ता पुगिसकेपछि बिर्सन्छनौं । आम जनता चाहेमा वा आम जनताको साथ र सहयोग पाए मात्र कुनै व्यक्ति वा संगठनले वर्तमान व्यवस्था परिवर्तन गर्न सफल हुन्छ । कार्यकर्ता वा दैनिक ज्यालादारी ल्याएका मजदुरहरूले नारा लगाउँदै व्यवस्था ढल्ने होइन । राज्यले लोकतन्त्र कुनै पनि पात्र वा संगठनलाई नारा लगाउन निषेध गर्नु भनेको सरकार सञ्चालन गर्ने शक्ति आफूले प्राप्त गरेको जनादेशमाथि शंका गर्नु हो । यदि जनादेश सरकारसँग छ भने, सरकारमा यो विधि डर किन ? 

दुर्गा प्रसाईं समूह पनि त यही व्यवस्थाको उपज हो । लोकतन्त्र र गणतन्त्रवादीहरुले नै दुर्गालाई पालनपोषण गरेर यहाँसम्म ल्याएका हुन् । तर, आफ्नै उपजले आफैंलाई आज सकसमा पारेको भने यथार्थ हो । आज सत्तामा रहेकाहरु प्रसाईँसँग किन डराए ? जवाफ खोज्नु आवश्यक छ । १. उपजले गर्न लागेको प्रतिकार सही हो वा २. उपज उपजकर्ता भन्दा शक्तिशाली भयो । यहाँ हेर्दा, पहिलो करण नै समय सान्दर्भिक देखिन्छ । जब–जब शासन गर्ने शासक, शासित हुने जमातबाट टाढा हुन पुग्छ, जमातले नयाँ शासक खोज्न थाल्छ । नयाँ–नयाँ शासक प्रारम्भिक अवस्थामा जनतालाई आफ्नो शिरमा राख्छ । जसै जसै जमात शासकको शिरबाट अनुहार, गर्दन, छाती हुँदै पेटसम्म झर्छ तब–तब जमातले प्रतिकार गर्न सुरू गर्छ । 

शासकले समय रहँदै, आफ्नो गल्ती स्वीकार गरेर, नसच्चिए त्यही प्रतिकार विद्रोह रूपान्तरण हुन्छ । अहिले दुर्गा समूहले गर्न लागेको शक्ति प्रर्दशन प्रतिक्रिया मात्रै हो । दलहरू समय रहँदै सच्चिएर, यो प्रतिकारलाई विद्रोहमा रूपान्तरित हुनबाट रोक्न सफल हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट