कांग्रेसमा जस्तै माओवादीभित्र तालमेलविरोधी जनमत, २०८४ मा एक्लै चुनाव लड्ने !-Sutra News

कांग्रेसमा जस्तै माओवादीभित्र तालमेलविरोधी जनमत, २०८४ मा एक्लै चुनाव लड्ने !

आइतबार, १४ असोज २०८०

आइतबार, १४ असोज २०८०

काठमाडौं । माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव जनार्दन शर्मा पछिल्लो समय पार्टी कार्यक्रममा व्यस्त छन् । माओवादी केन्द्रको ‘जनतासँग विशेष रुपान्तरण अभियान’ अन्तर्गत उनी संगठन निर्माणदेखि राजनैतिक प्रशिक्षणका कार्यक्रममा जुटिरहेका छन् । विशेष अभियानमा सक्रियपूर्वक जुटेका शर्माले पार्टीभित्र आन्तरिक कार्यक्रममा गठबन्धनविरोधी र चुनावी तालमेलविरोधी अभिव्यक्तिहरु दिन थालेका छन् । माओवादी एक्लै लड्दा मात्रै बहुमत ल्याउन सक्ने तर्क उनको छ ।



शनिबार माओवादी केन्द्रको विराटनगर समितिले आयोजना गरेको स्कुलिङ कार्यक्रममा बोल्दै उनले २०८४ को निर्वाचनमा कसैसँग तालमेल नगरिने बताए । पटक–पटक अन्य दलसँग मिलेर चुनाव लड्दा माओवादीको आफ्नो स्वत्व हराएको र मतदाता अलमलिएको उनको भनाई छ ।

“कहिले कुनसँग तालमेल, कहिले कुनसँग, चुनावपिच्छे फरक–फरक तालमेलले गर्दा माओवादी नै के हो भन्ने भयो, अहिले माओवादीको आफ्नो स्वत्व हराएको अवस्था छ”, शर्माले भनेका छन्, “माओवादीले गरेको काम सबैले मन पराउने तर, जनतासँग नजोडिने अवस्था बन्यो, यो तालमेलको कारण हो, २०८४ मा हामी एक्लै लड्छौं र आफ्नै बलबुतामा बहुमत ल्याउँछौं ।”

शर्माले २०७९ को चुनावको वरिपरि पनि गठबन्धन विरोधी अभिव्यक्ति दिएका थिए । गर्नैपरे वामपन्थीबीच तालमेल गर्नुपर्ने भन्दै उनले अन्यसँग चुनावी तालमेलको विरोध गरेका थिए ।

माओवादी केन्द्रमा शर्मा जस्तै चुनावी तालमेलको विरोधमा अन्य नेताहरु पनि खुलेका छन् । तालमेल गर्दा माओवादी केन्द्र कमजोर बनेको नेताहरुको बुझाई छ ।

तालमेलको प्रभाव पार्टी संगठनमा

पटक–पटकका चुनावी तालमेलले माओवादी केन्द्रको सांगठनिक संरचना नै भद्रगोल बन्न पुगेको माओवादी केन्द्रका सचिव गणेश शाहको भनाई छ । चुनावी तामलेमकै कारण आफ्नो प्रभाव क्षेत्रबाट माओवादी क्रमशः बाहिरिँदै गएको उनले बताए ।

“पश्चिम नेपाल र तराई–मधेशका केही जिल्लामा माओवादी केन्द्रको एकलौटी वर्चश्व थियो, पटक–पटकका चुनावी तालमेलले त्यो वर्चश्व हराउने स्थिति बन्यो, कतिपय ठाउँमा प्रतिस्पर्धीसमेत नरहने अवस्था बन्यो”, शाहले भनेका छन्, “यदि पार्टीलाई बनाउने हो भने चुनावमा तालमेल गर्नै हुँदैन, पार्टीभित्र पनि आफ्नै हैसियतअनुसार अगाडि बढौं भन्ने छ ।”

चुनावी तालमेल गरेकै कारण माओवादीको पहिचान पनि हराउँदै गएको उनले बताए । “अरुको भन्दा माओवादीको पहिचान बेग्लै छ, चुनावी प्रणालीदेखि संसद र सरकारसम्म माओवादीको बुझाई बेग्लै छ तर, चुनावमा जनताले माओवादीलाई अरुभन्दा फरक के, भनेर छुट्याउन सकेनन्, जसको कारण माओवादीप्रति ठूलो जनमत घट्दै गयो ।”

२०८४ को चुनावमा माओवादीले कसैसँग तालमेल गर्ने अवस्था नरहने सम्भावना बनिरहेको उनको भनाई छ । “अहिले पार्टीभित्र जबरजस्त तालमेल विरोधी बुझाई विकास भइरहेको छ, जनतासँगको अभियानका क्रममा पनि जनताले माओवादीलाई बेग्लै शक्ति हुन सुझाएका छन्, जुन २०८४ को निर्वाचनमा मूर्तरुपमा देखिनसक्छ”, शाहले भनेका छन् ।

तर, तथ्य केलाउँदा तालमेल माओवादीलाई फाइदाजनक

२०७४ को निर्वाचनसँगै माओवादी केन्द्रले चुनावमा तालमेलको नीति अपनाएको थियो । २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलगायतका दलसँग तालमेल गरेको माओवादी केन्द्रले प्रदेश र संघीय निर्वाचनमा नेकपा (एमाले)सँग तालेमल गरेको थियो ।

तालमेल गरेकै कारण २०७४ मा भएको तीनै तहको निर्वाचनमा माओवादी केन्द्रलाई निकै सफलता पनि प्राप्त भयो । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले २९४ स्थानीय तहको नेतृत्व जित्दा कांग्रेसले २६६ र माओवादी केन्द्रले १०६ तहको नेतृत्व जितेको थियो ।

स्थानीय तहको निर्वाचनमा तेस्रो शक्ति बन्न सफल भएको माओवादी केन्द्र प्रदेश र संघीय निर्वाचनमा पनि तालमेलको नीतिले थप सफल बन्यो । संघीय निर्वाचनमा पाएको समानुपातिक मतअनुसार कुल मतको १३ प्रतिशत मात्रै मत पाएको माओवादी केन्द्र कुल सिट संख्यामा भने तेस्रो बलियो शक्ति बनेको थियो ।

तत्कालिन समय माओवादी केन्द्रलाई तालमेलकै कारण प्रत्यक्षतर्फ जित हात पार्न सहज भएको थियो । कुल ५३ सिट जितेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ मात्रै ३६ सिट जितेको थियो । जबकी कुल ६३ सिट जितेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको थियो ।

२०७४ को निर्वाचनमा चुनावी तालमेलकै नीतिबाट सफलता हात पारेको माओवादी केन्द्रलाई २०७९ को तीनै तहको निर्वाचनमा पनि तालमेलको नीति निकै लाभदायक बन्यो ।

स्थानीय तहको निर्वाचनमा जनमत कमजोर हुँदा हुँदै पनि माओवादी केन्द्रले एक महानगरसहित १२१ स्थानीय तहको नेतृत्व जित्न सफल भएको थियो । तालमेल गरेकै कारण कांग्रेसले ३२९ स्थानीय तहको नेतृत्व जितेको थियो भने एक्लै लड्दा एमालेले २०६ स्थानीय तहमा खुम्चिएको थियो ।

स्थानीय जस्तै संघीय र प्रदेश तहमा पनि तालमेल माओवादी केन्द्रका निम्ति निकै फाइदाजनक भयो । तालमेलकै कारण संघतर्फ कुल ३२ सिट ल्याउन सफल भयो भने प्रदेशतर्फ कुल ५३ सिट ल्याउन सफल भयो । जनमतका हिसाबले मुस्किलले तेस्रो बनेको माओवादी केन्द्र सिट संख्याका हिसाबले बलियो तेस्रो पार्टी बन्नुको पछाडि तालमेलको कारण देखिन्छ ।

यदि समानुपातिकतर्फ पाएको मतका आधारमा माओवादीको हैसियत हेर्ने हो भने अहिलेको हैसियत ठूलो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट