राजनीतिमा नयाँ कसरत : ओलीको आडमा अघि सर्दैछन् शेखर-Sutra News

राजनीतिमा नयाँ कसरत : ओलीको आडमा अघि सर्दैछन् शेखर

आइतबार, ३ भाद्र २०८०

आइतबार, ३ भाद्र २०८०

काठमाडौं । अहिले प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेकपा (एमाले)का नेताहरूको अभिव्यक्तिलाई आधार मान्ने हो भने एमाले अहिले नै सत्ताको दौडमा छैन् । एमालेले तत्काल सत्ताका लागि कुनै प्रयास गर्दैन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका अधिकांश नेताहरूले समेत पछिल्लो समयमा सत्ताको दौडमा नरहेको प्रतिक्रिया दिइरहेका छन् ।



तर, एमालेको शैलीमा आधार मान्दा एमालेको एकातिर ताकेर अर्कोतिर प्रहार गर्ने किसिमको छ । अहिले सत्ताको दौडमा छैन भन्नुको अर्थ सत्ताको दौडमा एमाले यतिबेला सबैभन्दा अगाडि दौडिरहेको छ ।

गत पुस १० मा एमाले–माओवादी सरकार बन्नुअघि स्वयम् एमाले अध्यक्ष ओलीले अब प्रचण्डसँग सहकार्यको सबै ढोका बन्द भएको भाष्य सिर्जना गरिदिएका थिए । ठिक उसैप्रकार नेताहरुको पछिल्लो अभिव्यक्तिहरु देब्रेतर्फ निशाना लगाएर दाहिनेतर्फ प्रहार त हुँदै छैन भन्ने आशंका उब्जिन्छ ।

एमालेको यस अभियानलाई कांग्रेस संस्थापन इतर समुह (शेखर कोइराला समूह)ले मलजल गरिरहेको पाइन्छ । पछिल्लो समय एमाले नेताहरुको सामिप्य र उठबस कांग्रेसको संस्थापन इतर समूहसँग बाक्लिएको छ ।

वर्तमान सत्ता गठबन्धन भत्काएर प्रचण्ड सरकार ढाल्ने रणनीतिमा एमाले सशक्त भएर लागेको छ । यसका लागि एमालेले कांग्रेस नेता शेखर कोइरालालाई प्रधानमन्त्रीकै अफर गरेको खुलेको छ । एमालेकै दोस्रो तहका केही नेताहरुले कोइरालासँगको भेटवार्ता बढाएका छन् भने स्वयम् कोइरालाले समेत एमाले अध्यक्ष ओलीसँग सामिप्यता बढाएका छन् ।

एमालेको पछिल्लो रणनीति वर्तमान सरकारलाई जसरीपनि असफल सिद्ध गराउने र नयाँ समिकरणको खोजी गर्ने रहेको छ । त्यसैका लागि एमालेले कहिले प्रधानमन्त्रीको राजीनामा माग त कहिले छानविन समितिको मागसहित निरन्तर संसदमा अवरोध सिर्जना गरिरहेको छ ।

एमालेले संसदमा सुनकाण्डको उच्चस्तरिय न्यायीक छानविन समिति बनाउने मागसहित अवरोध गरिरहँदा कांग्रेसकै संस्थापन इतरका नेताहरुले त्यसलाई साथ दिइरहेका छन् । संसदमा एमालेको अवरोध शैलीलाई नियाल्ने हो भनेपनि एमाले र कांग्रेस संस्थापन इतरको अघोषित गठबन्धन देखिन्छ ।

पछिल्लो पटक एमालेले संसदमा अवरोध गर्नुअघि एमाले सांसदहरुले आफ्नो धारणा राखे, त्यसपछि कांग्रेस सांसद सुनिल शर्मालाई बोल्ने समय दिइयो, शर्माले सरकारको विरोधमा भएभरको शब्दहरु खर्चिए, अनि मात्र एमालेले संसद अवरोधको गतिविधिलाई आक्रामक बनायो ।

सरकारलाई कतै न कतैबाट चिप्ल्याएर कांग्रेससँगको सहकार्यमा नयाँ सरकारको परिकल्पना गरेको एमालेले देउवासँगको साथ असम्भव देखेपछि शेखरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको नेताहरु बताउँछन् । स्वयम् कोइरालाले पनि एक सार्वजनीक कार्यक्रममा वर्तमान सरकार छिट्टै ढल्नसक्ने बताएका थिए ।

वर्तमान सरकारलाई सत्तापक्षबाटै असफल साबित गराउन एमाले लागिपरेको छ । यसका लागि एमालेले उठाएको प्रमुख अस्त्र हो कांग्रेस सांसद सुनिल शर्मा । पछिल्लो सुन प्रकरणमा शर्माले निरन्तर आफ्नै पार्टीबाट सरकारमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतसहित प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा खुलेर मागे ।

सरकारमा माओवादीको शरणमा रहनुपरेकोप्रति कांग्रेसमा असन्तुष्टी छ । त्यसमा सांसद शर्मालगायत कांग्रेस इतर पक्षले निरन्तर घिउ थपिरहेका छन् । नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा अचानक शर्मा पक्राउ परेपछि कांग्रेसभन्दा बढी एमाले नेताहरुमा बेचैनी पैदा भएको थियो । कांग्रेस इतरपक्षका नेताहरुले त यसको विरोध गरेका थिए नै, एमाले अध्यक्ष केपी ओलीले पनि यसको सबैभन्दा चर्को विरोध गरेका थिए ।

एमाले अध्यक्ष ओलीले भरेको हावामा सांसद शर्मा उडेका रहेछन् भन्ने सामान्य चेत भएकाले समेत बुझिसकेका छन् । जेलबाट रिहा भएलगत्तै शर्माले दिएका अभिव्यक्ति र बालकोटमै पुगेर एमाले अध्यक्षलाई भेटेपश्चात झन् चर्किएर प्रस्तुत भएका शर्माको हाउभाउले यसमा थप आधार प्रस्तुत गरेको छ ।

शर्माले सरकार परिर्वतनको लागि प्रयास भइरहेको र कांग्रेस एमालेको आलोपालो सरकार बन्ने बताएका छन् । उनले यतिमात्र भनेका छैनन्, शेरबहादुर देउवा, केपी ओली हुँदै शेखर कोइराला र गगन थापा सबैले प्रधानमन्त्रीको भाग पाउने समेत बताएका छन् ।

सरकार परिवर्तन र त्यसका लागि शेखर कोइरालालाई अगाडि सार्न एमाले तथा कांग्रेस नेताहरु तयार होलान् ? ओली र एमालेको विगत हेर्ने हो भने, नयाँ परिस्थितीको सम्भावना नरहला भन्न सकिन्न ।

विगतमा निर्वाचनका बेला होस् वा सरकार गठनका बेला कोइराला बालकोट पुगेर ओलीलाई भेट्ने गरेका थिए । यसअघि निर्वाचनका बेला देउवासँग बार्गेनिङमा उत्रिएका कोइराला र ओलीबिच चुनावी गठबन्धनकै समेत चर्चा चलेको थियो ।

अहिले पार्टी नै फुटाएर प्रधानमन्त्री बन्न कोइरालाले जोखिम नमोल्लान् तर, निकट भविष्यमै नयाँ सरकार गठनको दौडधुप सुरु भए अचम्म मान्नु पर्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट