१७ पटक प्रधानमन्त्रीमा पराजित कांग्रेस नेता पौडेल १८औं कसरतमा, देउवाले मौका दिन्छन् त?-Sutra News

१७ पटक प्रधानमन्त्रीमा पराजित कांग्रेस नेता पौडेल १८औं कसरतमा, देउवाले मौका दिन्छन् त?

आइतबार, ११ मंसिर २०७९

आइतबार, ११ मंसिर २०७९

काठमाडौं– पहिलो संविधानसभाका बेला माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदको लालसामा प्रतिस्पर्धी बनेका थिए कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल।



तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि उनको प्रधानमन्त्री बन्ने सपना पुनः जागृत भएको छ। उनले यसका लागि पहल थालेका छन्। १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवारी दिँदा बहुमत ल्याउन नसकेका पौडेल १८ औं पटकमा प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् तर उनको यो सपनामा धेरै तगारा छन्।

हालै सम्पन्न निर्वाचनमा तनहुँ–१ मा पौडेल पाँच हजार ३ सय ८८ मतान्तरले एमालेका एकबहादुर रानालाई पराजित गरेका पौडेलले कार्यकारी पदका लागि नै आफू सक्रिय रहेको भनी प्रतिक्रिया दिइसकेका छन्। संसदीय दलको नेतामा चुनाव लड्नका लागि उनको महत्वकांक्षाको यात्रा शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार र बिमलेन्द्र निधिको निवासमा पनि भयो।

२५ हजार तीन सय १८ मत ल्याउँदै एमालेका रानालाई पराजित गरेका पौडेल यसअघि २०७४ को निर्वाचनमा भने तत्कालिन एमालेका नेता किसान श्रेष्ठसँग पराजित भएका थिए। प्रतिनिधि सभा सदस्य नभएका कारण त्यसबेलो प्रधानमन्त्री बन्ने पौडेलको सपना पूरा हुन सकेन।

तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले उपसभापति बनाएका पौडेल सभामुख भइसकेका छन् भने विभिन्न मन्त्री समेत बनिसकेका छन्। माओवादी शान्ति सम्झौता गर्दै खुला राजनीतिमा आएपछि भने कोइरालाले पौडेललाई शान्ति तथा पुननिर्माण मन्त्री बनाएका थिए।

पौडेलको उत्कट इच्छा प्रधानमन्त्री बन्ने त छँदैछ, यसअघि कांग्रेसको सभापति बन्ने थियो। तर, शेखर कोइराला नै आफ्नो समूहबाट सभापतिका लागि मैदानमा उत्रिएपछि पौडेलले शेरबहादुर देउवालाई सघाएका थिए। त्यसअघिको महाधिवेशनमा भने उनी देउवासँग नै पराजित भएका थिए।

पौडेलको राजनीतिक जीवन उतारचढावपूर्ण नै रहेको छ। प्रधानमन्त्रीका लागि उनलाई संसदीय दलको नेतामा कसले मौका दिन्छ भन्ने विषय नै संशयमा छ। उक्त पदका लागि युवा पुस्ताबाट गगन थापाको सार्वजनिक घोषणा आइसकेको छ भने देउवाले पनि छाड्नेवाला छैनन्।

संसदीय दलको नेताबिना प्रधानमन्त्री बन्न कांग्रेसकै विधानले नदिने भएपछि पौडेलको पहिलो दौड सोही पदमा मेसो मिलाउनका लागि चलिरहेको छ। स्रोतले भन्यो,‘अहिले संसदीय दलमा जीताउनका लागि सभापति देउवालगायतका नेतासँग परामर्शमा हुनुहुन्छ, चुनावको सबै परिणाम आइसकेपछि केही बुझ्न सकिएला।’

पौडेलले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं। १बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं।२बाट विजय हासिल गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल पहिलो संविधानसभाको निर्वाचनमा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। तर, दोस्रो संविधान सभामा भने उनी संसदीय दलको नेतामा देउवासँग नै पराजित भएका थिए।

बीपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको थियो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परिसकेका थिए।

प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोटकर्ता हुन्। तर केही महत्वकांक्षाभित्र उनले प्रधानमन्त्री पदलाई राखेका छन्। जसका निम्ति उनको कसरत फेरि सुरु भएको मानिन्छ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामापछि उनले धेरै पटक प्रयास गर्दा पनि एमाले तटस्थ बस्दा प्रधानमन्त्री बन्ने मौका गुमाए। त्यसबेला नेकपा माओवादी केन्द्र बलियो र ठूलो आकारको शक्ति हुँदा प्रतिपक्षमा रहनेगरी पौडेललाई सहयोग गरेको थिएन। पौडेलको १७औं दौड पनि असफल भएपछि प्रधानमन्त्री पदमा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालले बाजी मारेका थिए।

यस पटक के होलारु के पौडेललाई कांग्रेसभित्र नै संसदीय दलको नेता बन्ने बाटो खुल्ला कि नखुल्लारु यसैले नै उनको प्रधानमन्त्री बन्ने सपनाको टुङ्गो लगाउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट