चन्द्रग्रहण अगाडी लाग्ने खगोलीय घटना ‘सुतक’ भनेको के हो ?-Sutra News

चन्द्रग्रहण अगाडी लाग्ने खगोलीय घटना ‘सुतक’ भनेको के हो ?

सोमबार, २१ कार्तिक २०७९

सोमबार, २१ कार्तिक २०७९

मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्। पृथ्वीको छाया चन्द्रमामा पर्ने यस खगोलीय घटना “नाङ्गो आँखा”ले हेर्न मिल्छ या मिल्दैन भन्ने विषयमा भने जानकारहरूमा फरक मत पाइन्छ।



ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार ज्योतिषशास्त्रमा चन्द्रग्रहण सीमित राशिहरूले मात्र हेर्न मिल्ने जनाइएको छ। उनले बीबीसीसँगको कुराकानीमा भने,”केही राशिहरूलाई नकारात्मक असर पर्ने भएकाले नाङ्गो आँखाले ग्रहण हेर्नु उचित मानिँदैन। परामर्श अनुरूप जसलाई नराम्रो प्रभाव पर्दैन उनीहरूले मात्र हेर्नु ठिक।”

यद्यपि, भौतिकशास्त्रीहरूले भने चन्द्रग्रहण हेर्न नहुने धार्मिक मान्यता भए पनि यसको कुनै वैज्ञानिक आधार नभएको बताएका छन्।

वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक तथा भौतिकशास्त्री डा. सनत कुमार शर्माले भने,”चन्द्रग्रहणले मानव शरीरमा कुनै पनि किसिमको असर नपुर्‍याउने विभिन्न अध्ययन तथा अनुसन्धानहरूको निचोड छ। हामीले पनि ग्रहणहरू हेर्दै विभिन्न अध्ययन गर्छौँ र आजसम्म असर देखिएको छैन।”

प्रकृतिको हरेक स्रोत हरेक प्राणीको निम्ति बराबर हुने भएकाले ग्रहण कसैको निम्ति लाभदायी र कसैको निम्ति हानिकारक नहुने उनको तर्क छ।

चन्द्रग्रहण के हो ?

सामान्यतया ग्रहण दुई किसिमका हुन्छन्- सूर्यग्रहण र चन्द्रग्रहण।

पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्था नै चन्द्र ग्रहण हो।

तर, ग्रहण लाग्दा सूर्य वा चन्द्रमाको कति भागमा छाया पर्छ भन्ने आधारमा पनि यसको प्रकार छुट्टाइएको भौतिकशास्त्री डा. शर्मा बताउँछन् ।

चन्द्रग्रहण खग्रास र खण्डग्रासगरी दुई किसिमका हुन्छन्। शर्माका अनुसार चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्नेगरी छाया पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ। त्यस्तो अवस्थामा “चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ।” त्यस्तो देखिने चन्द्रमालाई रक्तिम वा ब्लड मून भनिन्छ।

के हो सुतक ?

ज्योषितशास्त्रले सुतककाललाई अशुभ समयको रूपमा व्याख्या गर्ने ज्योतिषीहरूको दाबी छ। यस्तो अवधिमा शुभ कार्यहरू गर्न नहुने उनीहरू बताउँछन्।

“ग्रहणको नराम्रो प्रभावबाट जोगिन सुतक बारिन्छ,” ज्योतिषी रिजालले भने।

उनका अनुसार सूर्यग्रहण हुनुभन्दा अघिको बाह्र घण्टा र चन्द्रग्रहण हुनुभन्दा अगाडिको ९ घण्टालाई सुतककाल मानिन्छ। सुतक अवधिमा पनि शास्त्रले भोजन निषेध गरेको उनको तर्क छ।

यद्यपि, वी.पी. कोइराला मेमोरियल प्लानेटेरियमका विज्ञहरूले विज्ञानले सुतक अवधिबारे कुनै आधार पुष्टि नगरेको बताए।

आजभोलि पर्यटकीय एवं अध्ययनको कोणबाट ग्रहण हेर्न चाहनेहरूको सङ्ख्या बढेको बताइन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट