मिश्रमार्फत वैकल्पिक राजनीतिको अपहरण : राजनीतिमा ढोंग, ‘लेफ्ट राइट’ कबाजमा रुची !-Sutra News

मिश्रमार्फत वैकल्पिक राजनीतिको अपहरण : राजनीतिमा ढोंग, ‘लेफ्ट राइट’ कबाजमा रुची !

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

तत्कालीन विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले २०७५ सालको असार ३ गते अन्नपूर्ण पोस्टमा लामो लेख लेख्दै नेपालमा लेफ्ट राइट होइन, मध्यमार्गी राजनीतिको ठूलो स्पेस रहेको तर्क गरेका थिए । उनको दाबीअनुसार कांग्रेस ‘राइट’ र कम्युनिस्ट ‘लेफ्ट’ भएकाले आफूलाई बीचमा उभ्याउन सक्नु वैकल्पिक राजनीतिको सफलता हो । उनले कांग्रेसलाई राइट र कम्युनिस्टलाई लेफ्ट कसरी देखे, उनको हेराइ होला ।



हालका विवेकशील पार्टीका संयोजक रहेका पाण्डेले सोचेको राजनीतिक तौरतरिकालाई अध्यक्ष रविन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने व्यक्तिगत विचारमार्फत अपहरण गरिदिएका छन् । एउटा दलको अध्यक्षको व्यक्तिगत विचारले के अर्थ राख्ला र भन्न सकिएला, तर अध्यक्ष पद व्यक्ति मात्र होइन सिंगै संस्था हो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि देशमा युद्ध भइरहँदा मिश्र बीबीसीमा काम गर्थे । मिश्रले हजारौंको बलिदानी भएको समाचार बजाए र अन्त्यमा व्यक्तिगत विचार भन्दै ‘प्रतिगमन’ भजाएका छन् ।

मिश्रको पछिल्लो व्यक्तिगत विचारले राजनीति ‘लेफ्ट राइट’ गर्ने कबाज होइन भन्ने पाण्डेको धारणालाई खारेज गरिदिएको छ । परोपकारी र लोककल्याणकारी राज्यको पैरवी गर्ने मिश्रले वैकल्पिक राजनीतिलाई ‘राइट’ सिफ्ट गर्न खोजेका छन् । त्यो पनि डेढ दशकअघिको व्यवस्था परिवर्तनमाथि धावा बोलेर ।

राजनीतिमा ओभरटन विन्डो सिद्धान्तका आविष्कारक जोशेफ पी ओभरटन थिए । आफ्नो सिद्धान्तको व्याख्या गर्ने क्रममा उनले भनेका छन् – ‘ओभरटन विन्डो समाजमा विचारहरू कसरी परिवर्तन हुन्छन् र त्यसले राजनीतिमा कसरी प्रभाव पार्दछ भनेर बुझ्ने मोडेल हो । यसको मूल अवधारणा राजनीतिज्ञहरू कुन हदसम्म पुगेर नीतिहरूको समर्थन गर्न सक्छन् भन्नेमा सीमित छन् । तिनीहरू सामान्यतया केवल त्यस्ता नीतिहरू अनुसरण गर्दछन् जसलाई विकल्पहरूको रूपमा समाजमा व्यापक रूपमा स्वीकार गरिन्छ । यी नीतिहरू ओभरटन विन्डोभित्र पर्छन् । त्यस्ता नीतिहरू जसले कसैको राजनीतिक भविष्यमाथि जोखिम पैदा गर्छन् र समर्थन गुम्ने डर हुन्छ ती ओभरटन विन्डोभित्र पर्दैनन् ।’

अर्थात् राजनीतिज्ञहरू पपुलर जसरी हुन सक्छन् त्यसरीनै ओभरटन विन्डोलाई सेट गरेका हुन्छन् । यद्यपि यो विन्डोको स्पेक्ट्रम दायाँ र बायाँ हुन सक्छ । खुम्चिन र फुक्न सक्छ । मिश्रले यो स्पेक्ट्रमलाई एकैचोटी दायाँ सिफ्ट गर्न खोजेका छन् । अर्थात मध्यमार्गी राजनीतिमा भविष्य खोजिरहेका हजारौं युवाहरूका लागि मिश्रको अविभावकत्व एकपटक सोच्नलायक विषय बनेको छ ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मिश्रका लागि राजनीतिक उपलब्धी कहिल्यै थिएन । उनको दृष्टिमा यी परिवर्तनहरू जनतालाई सोधेर ल्याइएका होइनन् । त्यसकारणले एकपटक जनमतसंग्रहमा जानुपर्छ । ढलिसकेको राजतन्त्रमा उनले राजनीतिक जीवन देख्न थालेका छन् । पछिल्लो दस्तावेज त्यसैको प्रतिबिम्ब हो ।

राजनीतिको ठ्याक्कै यही आयाममा ‘स्पेस’ हुन्छ भनेर कहीं कतै किटानी गरिएको छैन । विचार र मूल्यको राजनीति गर्नेहरू स्पेसको खोजीमा हुँदैनन्, बरू त्यहाँ आफैं स्पेस बन्छ । राजनीतिक जीवनको उत्तरार्धमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्रको वकालत गरे । तर अहिले गणतन्त्रवादीहरूका लागि पनि उनी ‘प्रिय किसुनजी’ नै छन् । उनले सुराही, छाता र एउटा बाकस बोकेर बालुवाटारबाट निस्केको तस्वीर अहिले फगत तस्वीर मात्र होइन, जीवन बोकेर निस्किएका थिए उनी ।

रविन्द्र मिश्र किसुनजी बन्न खोजेका होलान्, त्यसका लागि त्याग र बलिदानी चाहिन्छ । व्यक्तिगत धारणा भन्दै वैकल्पिक शक्तिको सिद्धान्त धुजाधुजा हुने गरी प्रकाशित दस्तावेजले भव्य महलभित्र बसेर आइफोन १२ प्रोमा पब्जी खेल्ने किशोरहरू पनि प्रभावित हुने अवस्था छैन । बरू उनको मनमा रहेको लामो समयदेखिको कुण्ठालाई पोख्न वैकल्पिक शक्तिको ‘फोरम’ प्रयोग गरेका छन् ।

मिश्र आफ्नै चाहनाले राजनीतिमा आएका हुन् । तर बुझ्नुपर्ने कुरा के छ भने देशको आवश्यकताले नेतृत्व चयन गर्छ । मिश्रको चाहनाले देशको नेतृत्व उनलाई प्राप्त हुँदैन । एउटा दल दर्ता गरेर अध्यक्ष, संयोजक त जो पनि बन्न सकिहाल्छ । कतिपय राजनीतिक दलहरू अर्ली स्टेज (प्रेसर ग्रुप)को तहमा मात्र सही रहन्छन् । प्रेसर ग्रुपको तहबाट माथि राजनीतिलाई उठाएर सभ्य र सुसंस्कृत राजनीतिको पैरवी गरेका स्वर्गीय उज्ज्वल थापाले माथिबाट हेरेका छन् भने भन्दा हुन् – ‘दुख गरेर प्रेसर ग्रुपबाट दल बनाएँ, मिश्रले ऋषिमुनीको मुसो झैं पुनः ‘मुसिका भवः’को हैसियतमा पुर्याए ।’

विवेकशील साझाका संयोजक मिलन पाण्डे यतिबेला सबैभन्दा बढी तनावमा छन् । एकपटक फुटेको दललाई जोडजाम गर्न पाण्डेले भूमिका खेलेका थिए । उनीसँग दललाई पुनः विभाजन गर्ने सुविधा निकै कम छ । आफूनिकट नेता कार्यकर्तासँग उनले अनौपचारिक रूपमा भन्ने गरेका छन् – ‘वैकल्पिक शक्तिका रूपमा उदाउने हाम्रो चाहनामाथि कुठाराघात भयो ।’ व्यवस्था होइन, अवस्था परिवर्तन गर्ने नाराका साथ राजनीतिमा होमिएका पाण्डे र धेरै अरू युवाहरू अहिले थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा पुगेका छन् ।

औंलामा क्यान्सर लाग्यो भन्दैमा पूरै हात काटेर फाल्नुपर्ने मिश्रको तर्कका पछाडि उनको व्यक्तिगत कुण्ठाभन्दा अरू केही नभएको पुष्टि उनी आफैंले गरेका छन् । राजनीतिक वृत्तमा उनलाई वैकल्पिक राजनीतिक शक्तिकै अपहरण गर्न कसैले अह्राएको निर्मम टिप्पणीसमेत हुने गरेको छ ।

समय सधैं अघि बढ्छ । लोकतन्त्रको विकल्प थप लोकतान्त्रिकरण मात्र हुन सक्छ । जनतालाई अधिकार सम्पन्न बनाउन विकेन्द्रित राजनीतिक र प्रशासनिक व्यवस्था चाहिन्छ भन्ने सिद्धान्त नेपालका लागि विदेशीले बनाइदिएका होइनन् । राज्यको धर्म हुनुहुँदैन भन्ने बुझ्न कोही युरोपियन युनियन, भारत या अमेरिकाको एजेन्ट हुनुपर्दैन । राजनीतिक मूलधारमा नरहेका मिश्र यतिबेला वैकल्पिक राजनीतिको प्रतिगमनका ‘मतियार’ बनेका छन् ।

मिश्रका समर्थकहरूले उनको व्यक्तिगत स्वतन्त्रताको वकालत गर्लान् । ठीकै हो, एउटा राजनीतिक दलको प्रमुखले राखेको धारणामा देशव्यापी बहस हुनु पनि स्वतन्त्रताकै विषय हो । मिश्रले आफ्नो धारणा पार्टीबाट पारित गराउने प्रयास गर्नेछन् तर त्यो सफल हुन नदिने पाण्डेको रणनीति छ । पार्टीको आधिकारिक धारणाबेगरका विचार बोक्नेहरूले नैतिकताकै आधारमा आफूलाई राजनीतिबाट अलग गर्नु मिश्रको महानता हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट