कार्यदलका सदस्यहरूलाई प्रश्न – एमाले मिलाउन हिंडेको कि ओली र नेपालको ‘इगो’ व्यवस्थापन गर्न ?-Sutra News

कार्यदलका सदस्यहरूलाई प्रश्न – एमाले मिलाउन हिंडेको कि ओली र नेपालको ‘इगो’ व्यवस्थापन गर्न ?

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

विवाद समाधानका निम्ति भन्दै गठन गरिएको एमालेको १० सदस्यीय कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपछि लगभग सबै ठूला नेताहरू सामेल छन् । यसमा महासचिव ईश्वर पोखरेललाई अपवाद मान्न सकिन्छ ।



ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवाली र ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल रहेका छन् । सबैलाई दोस्रो पुस्ताका मुख्य नेतृत्वकर्ता भनेर चिनिन्छ ।

त्यस्तै नेपाल पक्षबाट कार्यदलमा प्रतिनिधित्व गर्नेमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, नवौं महाधिवेशनमा पराजित महासचिव सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराई रहेका छन् । ओली र नेपाल पछिका सबै सिनियर नेताहरूलाई मिलाएर कार्यदल बनाइएको हो ।

एमाले विभाजित भएमा आफ्नो राजनीतिक भविष्य अन्धकार हुने सबैले बुझेका छन् । एकाध बाहेकले त अब हुने आमनिर्वाचनमा जित्न पनि कठीन छ । आफ्नो राजनीतिक भविष्यको चिन्ता त सबैलाई छँदैछ तर दोस्रो पुस्ताका नेताहरू ओली र नेपालको इगो व्यवस्थापन गर्न यतिबेला कम्मर कसेका छन् । जसको दलील छ – ‘एमाले एक नभए पार्टी मात्र होइन, देशले नै दुख पाउँछ ।’

अब प्रश्न उठ्छ, ओली र नेपालको इगो व्यवस्थापनमा राजनीतिक भविष्य देख्ने कि एमालेको एकतामा ? खासमा अहिलेको प्रश्न एमाले एकजुट छ कि छैन भन्ने होइन । कानूनी र राजनीतिक रूपमा एमाले एक नै छ । समस्या त्यतिबेला निम्तिएको हो जतिबेला ओलीले नेपाल र नेपाल पक्षीय नेताहरूलाई बहुमतका बलमा भूमिकाबिहीन बनाउँदै लगे ।

नेकपा रहँदा नेता नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समीकरण बनाएर ओलीलाई भित्तैमा पुर्याउन खोजेको यथार्थ हो । त्यतिबेला फरक परिस्थिति थियो । पार्टी र सरकारको कमाण्ड ओली एक्लैले गरिरहेका थिए । उनको कार्यशैलीमा चित्त नबुझाउनेहरू एक हुनु स्वाभाविक हो ।

ओली जस्तो नेताले फरक परिस्थितिमा सिर्जित घटनाक्रमको ‘बदला’ फरक परिस्थितिमा लिन खोजेर हुँदैन । एमालेमा देखिएको समस्या यही हो । उता १५ वर्ष महासचिव बनेर एमाले हाँकेका, व्यवस्था परिवर्तनका लागि अग्रमोर्चामा खटेका नेता नेपालले आफूमाथि ‘अपमान’ भएको दृष्टान्त अघि सार्ने गर्छन् । उनी पनि यो वा त्यो रूपमा आफूमाथि गरिएको अपमानकै बदला लिन खोजिरहेका छन् । अर्थात् ओली र नेपाल दुवैले एकले अर्काको ‘इगो हर्ट’ गरेका छन् । त्यसले सिंगो एमालेलाई ‘हर्ट’ गरिरहेको छ ।  

नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरे, एकपटक प्रधानमन्त्री बने । ओलीले २०७१सालदेखि एमालेको नेतृत्व गर्न शुरू गरेका हुन् । कानूनी रूपमा जतिपटक प्रधानमन्त्री बनेपनि ओलीको यो दोस्रो कार्यकाल हो । दुवैसँग एमालेलाई ‘समथिङ टू नथिङ’ र ‘नथिङ टू समथिङ’ बनाएको अनुभव छ । दुवैको उमेर ७० हाराहारीमा छ । जुन नेपालीको औसत उमेर भन्दा धेरै हो ।

राजनीतिमा युवा पुस्ताको सहभागिता मात्र होइन, नेतृत्वकै कुरा उठाउनेहरू मध्ये सबैभन्दा धेरै नेताहरू एमालेमै छन् । फेरि पनि एमालेकै दोस्रो पुस्ताका नेताहरू ओली र नेपालको इगो शान्त पार्न हिंडिरहेका छन् । पूजाआजामा कुशको गणेश अनिवार्य चाहिने व्यवस्था भएझैं ओली र नेपाल दुवै समूहका दोस्रो पुस्ताका नेताहरू पनि एमालेमा आफ्नै ‘गणेश’ स्थापना हुनुपर्छ भनेर लागेका छन् । यो नेपालको राजनीतिमा सर्वाधिक बिडम्बनाको क्षण हो ।

एमाले एकताका लागि भन्दै नेताहरूले निजी र महंगा होटेलहरू चाहार्न थालेको धेरै भयो । त्यसको साटो पार्टी कार्यालयमै बैठक बस्ने गरे बाहिर सन्देश पनि एकताकै जान्थ्यो । खर्च जोगिन्थ्यो । मदन भण्डारीको नामसँग जोडिएको बल्खु (एमालेको पुरानो पार्टी कार्यालय) छँदै थियो । त्यहाँ चौरमै बसेर सहमति गरे पनि कार्यकर्ता खुसी हुन सक्थे । यतातिर पनि कार्यदलका सदस्यहरूले ध्यान दिन सकेका छैनन् ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा एकातिर छ । हस्ताक्षर फिर्ताको ‘अलाप’ गरेर मुद्दालाई प्रभावित पार्न खोजेको आरोप नेपाल पक्षले लगाउने गरेको छ भने अर्को दलको सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै गरेर अदालतमा बुझाउनेहरूले एमालेको ‘सर्वनाश’ चाहेको स्वयं ओली र उनीपक्षीय नेताहरूको जिकिर छ ।

प्राविधिक रूपमा जे जस्ता शर्त र मागहरू दुवै पक्षले तेर्स्याएको भएपनि यथार्थमा अहिलेको एमालेको एकता ओली र नेपालबीचको इगोको व्यवस्थापन नै हो । त्यसभन्दा माथि उठेर कार्यदलका सदस्यहरूले ‘ठूलो छाती’ देखाउनु अहिलेको आवश्यकता हो ।  

हात्तीको बारेमा बुढापाकाले भन्ने गरेको एउटा छोटो कथा छ । जब माउतेले हात्तीलाई हात्तीसारमा लैजान्छ, उसले निकै कमजोर डोरीले उसको खुट्टा बाँध्छ । हात्तीका लागि ठूलै फलामको सिक्री पनि केही होइन । तर हात्तीले त्यो डोरी कमजोर भएपनि तोडेर भने निस्किन्न । उ माउतेको वशमा परिसकेको हुन्छ ।

कतै हात्ती जस्तो शक्ति लिएर पनि एमालेका दोस्रो पुस्ताका नेताहरू माउतेको वशमा परेका त होइनन् ? उनीहरूलाई आफ्नो शक्तिको अन्दाज छैन ? नयाँ, परिष्कृत र समय सुहाउँदो एमालेमा ओली र नेपाललाई कुशको गणेश बनाएर स्थापना गरिरहनु अनिवार्य हो ? के दोस्रो पुस्ताका नेताहरूलाई एमालेको होइन, ओली र नेपालको इगोको चिन्ता हो ? यी प्रश्नहरूको उत्तर योगेश, घनश्याम, विष्णु र सुवासचन्द्रहरूले दिनुपर्छ कि नाई ?

गोकर्ण बिष्टलगायतका कतिपय कार्यदलका सदस्यहरू कम बोल्ने तर भरोसायोग्य नेता मानिन्छन् । पंक्तिकारसँग भएको कतिपय कुराकानी सकिने बेलामा एउटै जिज्ञासा उनीहरूको अनुहारमा झल्किन्छ । ‘कतै मैले बोलेका कुरा तोडमरोड गरेर लेखिदिने त होइन ?’ त्यही भएर उनीहरूले भन्ने गर्छन् – ‘ईश्वरजी, जति भन्या छु त्यत्ति है !’

अथवा उनीहरूले धेरैपटक नलेख्ने शर्त तेर्स्याउँछन् । मैले उनलाई किन भनेर सोध्दिन । स्रोतसँग अधिकतम इमान्दारीता देखाउनै पर्ने धर्म छ पत्रकारितामा । अब चाहिँ सोध्नै पर्ने बेला भएको छ कि किन ? ओली र नेपालको जुँगाको लडाईको वास्तविक कारण सिधै बाहिर भन्न सक्नुहुन्न तपाईंहरूले ? तपाईंलाई जनताले दिएको विश्वास किस्तीमा सजाएर नेपाल या ओलीको पाउमा चढाउनकै लागि मात्र हो ? 

जबसम्म एमालेको मुख्य लडाईं ओली र नेपालबीच रहन्छ, तबसम्म एमाले वास्तविक एमाले बन्न सक्दैन । अब लडाईंको तरिका फेर्नुपर्छ । ओली र नेपाल भर्सेस एमाले हुनुपर्छ । लडाईको एजेण्डा सशक्त एमाले हो कि ओली र नेपालको अतृप्त तृष्णा हो ?

जो कहिल्यै नमर्ने अतृप्त तृष्णा लिएर राजनीति गर्न खोज्छ, उ निश्चित समयसम्म त आवरणमा लोकतान्त्रिक नै देखिने प्रयास गर्छ तर त्यसपछि उसले अधिनायकत्व र निरंकुशताको ‘म्याउँ’ गर्न थालिहाल्छ ।

कार्यदलका सदस्यहरूलाई प्रश्न गर्नैपर्ने छ – अरूलाई नै अनन्तकालसम्म नेतृत्वमा देख्न रुचाइरहने, अरूकै निरङ्कुशताको भजन गाइरहने, अरूलाई नै मालिक बनाएर आफ्नो नोकरी सुरक्षित हुन्छ भन्ने ठान्ने तपाईंहरूले गणतन्त्र ल्याएको दाबी किन गर्नुहुन्छ ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट