संसदमा ‘देशबेचुवा’ भनेर आरोप लगाउनेहरू नै अहिले ओलीको पछि लागेका छन् : उपेन्द्र यादव [अन्तर्वार्ता]-Sutra News

संसदमा ‘देशबेचुवा’ भनेर आरोप लगाउनेहरू नै अहिले ओलीको पछि लागेका छन् : उपेन्द्र यादव [अन्तर्वार्ता]

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई हटाएर निरंकुश शासन चलाउन चाहेको आरोप लगाएका छन् ।



सूत्रटिभीको कार्यक्रम साझा सरोकारमा कुरा गर्दै अध्यक्ष यादवले असंवैधानिक र अलोकतान्त्रिक काम गर्ने निरंकुश ओलीलाई सत्ताबाट हटाउनुपर्ने बताए ।

‘ओलीले अध्यादेशमार्फत शासन चलाएर संवैधानिक अंगहरूलाई तहसनहस पार्न लागेका छन्,’ उनले भने । ‘संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र नै संकटमा पार्ने काम गरे ।’

यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओलीलाई स्पष्टसँग प्रतिगामी भनेकाले त्यही सरकारमा जानु प्रतिगामीको मतियार भएको आरोप लगाए । ‘उहाँहरू पार्टीको निर्णयविपरीत जानुभयो । पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्पष्टसँग ओलीलाई प्रतिगामी भनेको छ । प्रतिगामी ओलीको नेतृत्वको सरकारमा जाने र सहयोग गर्ने काम पार्टीको निर्णयविपरीत छ ।’

उनले जसपाकै महन्थ ठाकुर पक्षमाथि कार्यकारिणी समितिको निर्णयमा कीर्ते गरेको आरोप लगाए ।

‘उहाँहरूले पार्टीमा अनुशासनहीन, अराजकता मच्चाउने, विधि, पद्धति र प्रक्रियालाई नमान्ने काम गर्नुभयो । कीर्ते र जालसाँझीपूर्ण काम गर्नुभयो, कागजातसमेत नक्कली पेश गरेर आफ्नो नांगो हैसियत देखाउनुभयो त्यसैले अब एक भएर अघि बढ्ने सम्भावना कम देखिएको छ ।’

अहिलेसम्म गरेको गल्ती सच्याउनुका साथै पार्टी नीतिविपरीत जान्न भनेर गल्ती स्वीकारे एकताको सम्भावना पनि रहेको बताए । ‘पार्टीको नीतिविपरीत रहेर एकता हुन सक्दैन  उहाँहरूले दाबी गर्नुभएको कुरा बिलकुल गलत हो । पार्टीको विधानमा पहिलो र दोस्रो अध्यक्ष भन्ने छैन । दुवै अध्यक्ष बराबरी हो । अरूले तपाईं भनोस् नभनोस् आफैं मपाईं भन्ने काम हो ।’

फरक प्रसंगमा यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानको पालना नगरेको आरोप लगाए ।  

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवसँग सूत्र टिभीको कार्यक्रम साझा सरोकारका लागि ऋषि थपलियाले गरेको अन्तर्वार्ता हेर्नुहोस्…

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट