प्रचण्डसँग भन्दा ओलीसँग बहस गर्दा रमाइलो लाग्छ – मणि थापा [अन्तर्वार्ता]-Sutra News

प्रचण्डसँग भन्दा ओलीसँग बहस गर्दा रमाइलो लाग्छ – मणि थापा [अन्तर्वार्ता]

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

सर्वोच्च अदालतको आदेशका कारण मन्त्री पदबाट हटेका पूर्वमाओवादी नेता मणि थापा अहिले एमालेका स्थायी कमिटी सदस्य हुन् । गतसालको पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपाको दुईजना अध्यक्षमध्ये केपी शर्मा ओलीलाई साथ दिएका थापा त्यसपछि खानेपानी मन्त्री बनेका थिए ।



माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका नेता थापाले एमालेमा कत्तिको सहज महसुस गरेका छन् त ? भनेर थापालाई  सूत्रन्यूजकर्मीले सोधेका थिए । खुलेर कुरा गरेका थापाले आफूलाई प्रचण्डसँगको बहसमा भन्दा ओलीसँगको बहसमा निकै रमाइलो लाग्ने बताए ।

प्रस्तुत छ नेता थापाले सूत्रन्यूजसँग गरेको कुराकानीको सम्पादित अंश :

मन्त्रालय छोडेपछि तपाईको दिनाचार्य कस्तो छ ?

हामी आफ्नो पार्टीको स्थायी समितिको मिटिङ हुन्छ, त्यहाँ उपस्थित हुन्छौं । आफ्नो जिल्लाको विकास निर्माणका बारेमा अहिले जसरी बजेट आएको छ त्यसका आधारमा छलफल र सहभागिता भइरहेको छ र त्यसलाई कार्यान्वयन गर्ने पक्षमा काम गरिरहेका छौं । प्रधानमन्त्रीले बोलाउनुहुन्छ, हामी सुझाव दिन या अन्य काममा लागि त्यहाँ पुगेकै हुन्छौं । हामीले पार्टीको संगठन निर्माणका निम्ति पूर्व माओवादी कार्यकर्ता संगठित पनि गर्दै छौं । जो संगठनमा आबद्ध छैन, उसलाई आबद्ध गराउने काम गरिरहेका छौं ।

तपाईं पूर्व माओवादी नेताहरू एमालेका अध्यक्ष केपी ओलीसँग एक्लाएक्लै सहमतिमा जानुभएको थियो । पार्टीभित्र हुने विभिन्न विचार समूहहरूमध्ये तपाईंहरूको छुट्टै समूह पनि देखिएको छैन, किन ?

हामी सिंगल डील भन्दा पनि जब नेकपा फुट्यो तब पहिलो अध्यक्षका रूपमा रहनुभएको केपी ओलीलाई साथ दिएका हौँ । जुन-जुन साथीहरूले पहिलो अध्यक्षलाई नेता माने, सबै त्यहाँ भेट भएका हौँ । नेकपा नफुटोस भन्नेमा पूर्व माओवादी साथीहरू लागिरहेका थियौं । हामी एकताकै पक्षधर थियौं ।

नेकपा दुईवटा हुनु हुँदैन एकै ठाउँमा हुनुपर्छ भनेर हामीले पहिला प्रचण्ड कमरेडलाई एकतामा आउन आग्रह गर्यौं । सयौं प्रयत्नहरू गर्दा पनि कमरेड प्रचण्ड एकतामा नआएको हुनाले हामीले स्वाभाविक रूपले पहिलो अध्यक्षलाई समर्थन गर्यौं कुरा यत्ति हो

एमालेभित्र तपाईंहरूको छुट्टै विचार समूह या गुट छैन त्यसो भए ?

विचार समूहको कुरा के हो भने, नेकपा एमाले हिजोको पुरानो एमाले पनि होइन । बुझ्नुपर्ने के छ भने यो पार्टी सर्वोच्चले बनाइदिएको नेकपा एमाले हो, पुरानो एमाले होइन । नेपालको कम्युनिस्ट आन्दोलन नेकपामा विकास भइरहेको थियो, त्यसलाई अदालतले एमाले र माओवादी बनाइदियो । हामी नेकपा निर्माण गर्न चाहन्छौं । वृहत्तर नेकपा निर्माणको प्रश्न हाम्रो निम्ति मेजर कुरा हो ।

अदालतको फैसला मानेर नै हामीले पार्टीको पहिलो नेतालाई अध्यक्ष मानेका हौँ । यहाँ एमालेभित्र पूर्व माओवादीको एउटा समूह या गुट बन्ने कुरा नै जायज छैन । त्यो सैद्धान्तिक हिसाबले नै गलत हुन्छ । नयाँ ध्रुवीकरणमा जाने अवस्था आयो भने सबै पार्टीभित्र विचार समूह त बन्छन् नै ।

तर एमालेलाई जेठ २ गते फर्काउन कोशिस भइरहेको छ । जेठ २ गते फर्केर पूराना पार्टी संरचनाहरू नब्युँताए पार्टी एक नरहनेजस्तो पनि देखिन्छ । ओलीले यदि जेठ २ गते फर्काउने सहमति गरे भने तपाईंहरूको पोजिसन के हुन्छ ?

सबैभन्दा पहिला पूर्व एमाले एक ठाउँमा आउनुपर्छ । यहाँनेर एउटा कुरा के छ भने नेकपाको एकता भत्केपछि ४ वटा घटक जन्मे । एमाले दुईवटा भयो, माओवादी केन्द्र पनि दुईवटा नै भयो । यसरी त कम्युनिस्ट आन्दोलन विघटनतिर जान्छ ।

पूर्व एमाले एक ठाउँ आउँदा या जेठ २ मा फर्किदा हामी केही समय बाहिर बस्न तयार छौं । हामीलाई केही समस्या छैन । हामी नेकपाको एकीकरण प्रक्रियाबाट आएको हुनाले हामीलाई कुनै समस्या हुँदैन । ओलीको तर्फबाट पनि समस्या हुँदैन, नेपाल पक्षबाट पनि समस्या नहोला । उहाँहरू दुवै एकता पक्षधर हुनुहुन्छ ।

फेरि पनि कम्युनिस्ट आन्दोलन अलिकति केन्द्रित हुनुपर्छ, त्यसका निम्ति सर्वोच्चले गरेको निर्णयले केही फरक पार्नु हुँदैन भन्ने मान्यता राख्छौं । त्यसैले हामीलाई जेठ २ मा फर्किन कुनै गाह्रो हुँदैन ।

तपाईंले जुन एकताको पक्षधर हो भनेर दाबी गर्नुभएको छ, त्यो एमालेको एकता कि फेरि पनि नेकपाकै एकता हो ?

अहिलेको कन्टेक्स्टमा वृहत्तर एकता जरुरी छ तर त्यो अहिले नै सम्भव देखिन्न । पूर्व एमाले एक ठाउँमा आउन सक्छ, त्यो एक ठाउँमा आयो भने माओवादीबाट आएका नेताहरू त अटोमेटिकल्ली एकतामै रह्यौं नि । हामी केपी ओलीकै पार्टीमै छौं नि । कानूनी रूपमा सर्वोच्चको फैसला एउटा भयो तर राजनीतिक हिसाबले त हामी ओलीसँगै गोलबद्ध भएका छौँ नि ।

बाहिर आएजस्तो केपी ओलीको एकलौटी निर्णय गर्ने बानी, कसैलाई नटेर्ने बानी, अलोकतान्त्रिक शैलीका कारण तपाईं पूर्व माओवादीहरूलाई अप्ठेरो महसुस हुँदैन ?

हामीलाई गाह्रो र अप्ठेरो लागेको छैन । तपाईंलाई एउटा कुरा भनूँ ? ओली कमरेडका वरिपरी के छन् कस्तो छ त्यो हाम्रो विषय होइन । हामीले ओली कमरेडलाई चिनेरै समर्थन गरेका हौँ । तर अहिले ओली कमरेडसँग जसरी बहस गर्छौं हामीले अर्थात् मेरो पनि बहस हुँदा मलाई रमाइलो लाग्छ । रमाइलो र नयाँपन लाग्छ ।    

जस्तै कुन कुरा रमाइलो लाग्छ, एक दुईवटा भनिदिनुस् न !

उहाँले राम नेपालमा जन्मिएको भनेर जुन इस्यु उठाउनुभएको छ, उहाँले नेपालको संस्कृतिका बारेमा जे कुरा उठाउनु भएको छ, नेपालको जडीबुटीका बारेमा उहाँले जे गर्न कोशिस गर्नुभएको छ, नेपालको वनस्पतीका बारेमा उहाँको जुन चिन्तन छ, उहाँले जसरी यही बेसारपानीकै एड्भोकेसी गर्नुहुन्छ यसबाट उहाँले कम्युनिस्ट आन्दोलनमा भएका परम्परागत बहस भन्दा नयाँ ढंगले बहस गर्नुहुन्छ भन्ने देखिन्छ ।

यो सही हो कि गलत हो भनेर अहिल्यै नभनौं । उहाँले उखान टुक्कामार्फत नेपालको मनोविज्ञानको प्रस्तुत गर्न कोशिस गर्नुहुन्छ, कसलाई राम्रो लाग्छ कसलाई लाग्दैन त्यो मेरो कुरा भएन । म एउटा सांस्कृतिककर्मीकै रूपमा राजनीतिमा आएको हुनाले मलाई उहाँले निर्माण गरेको सेन्टिमेन्ट र बहस एकदम आनन्द लागेको छ ।

प्रचण्डसँगको बहसमा आनन्द कम, अलि रूढता बढी थियो । पुराना जार्गनहरू जोड्नुहुन्थो । तर ओलीको बहसमा जार्गन छैन । त्यो बहसलाई ओलीले कहाँ लैजानुभयो त्यो थाहा छैन । तर जे बहस गर्नुहुन्छ त्यो एकदमै इन्ट्रेस्टिङ लाग्छ ।

अन्तिममा तपाईंलाई प्रतिगामी सरकारको मन्त्री बनेको भनेर जिन्दगीभर आरोप लागिरहने भयो होइन ?

अहिले जो साथीले पश्चगमनको भयो भनिरहनु भएको छ, उहाँहरूको एनालाइसिस ठीक छैन । अहिलेको अग्रगमन र पश्चगमनको कुनै बहस नै आवश्यक छैन । नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा भएको डिबेट हो यो ।

कुनै अग्रगमन या पश्चगमनको डिबेट छैन अहिले । नेपालको संविधानको धारालाई क्रस गर्नेहरूलाई अग्रगमनकारी भनिन्छ । यो संविधानले नेपालको सोसाइटीको प्रतिनिधित्व गर्न सकेन या राजनीतिक सोसाइटीको प्रतिनिधित्व गर्न सकेन भने त्यो अलग कुरा भयो ।

तर संविधानलाई मान्नेहरूले कुनै पनि इभेन्टलाई पश्चगामी र अग्रगामी भन्न मिल्दैन । विप्लवजीले हामीलाई पश्चगामी भन्न मिल्छ । अथवा वैद्यजीहरूले मिल्छ । मधेशवादी दलहरूको पनि केही रिजर्भेसन थिए संविधानमा । तर हामी माओवादी, एमाले र कांग्रेस कुनै पनि दलले संविधानअन्तर्गतका कुनै पनि इभेन्टहरूलाई अग्रगामी र पश्चगामी भन्न मिल्दैन । यो सरकार पश्चगामी हो भनेर जे नारा तय गरिएको त्यो नारा नै त्रुटीपूर्ण छ ।

यो पनि – 

'बादललाई निकाल्नुस्' भन्दै प्रचण्ड दिल्ली गएपछि बिग्रिएको रहेछ कुरो ‘बादललाई निकाल्नुस्’ भन्दै प्रचण्ड दिल्ली गएपछि बिग्रिएको रहेछ कुरो

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट