हाम्रो पार्टीमा माधव नेपालजीहरूलाई स्वागत छः सुवास नेम्वाङ [अन्तर्वार्ता]-Sutra News

हाम्रो पार्टीमा माधव नेपालजीहरूलाई स्वागत छः सुवास नेम्वाङ [अन्तर्वार्ता]

बिहिबार, २७ फाल्गुन २०७७

बिहिबार, २७ फाल्गुन २०७७

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रूपमा अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नाम दिन नमिल्ने र एकता नै अवैधानिक रहेको फैसला गरेसँगै मुलुकमा राजनीतिक कोर्स परिवर्तन भएको छ । सर्वोच्चको उक्त फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा फर्किएका छन् । मुलुकको पछिल्लो राजनीतिक स्थितिमा केन्द्रित रहेर सूत्र न्यूजका लागि ऋषि थपलियाले पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंशः



सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम मात्रै होइन, एकीकरण प्रक्रिया नै असंवैधानिक भएको निर्णय ग-यो । यसमा तपाईंको कुनै टिप्पणी ?

हामी सर्वोच्च अदालतलाई संविधान र कानुनको आधिकारिक व्याख्याता मान्छौं, कानुनी राज्यको अवधारणालाई हामीले मानेका छौं । यसैले सर्वोच्चले गरेका फैसलाहरूलाई हामी त्यही रूपमा लिने गर्छौं । प्रतिनिधिसभा पुर्नस्थापनालाई पनि हामीले स्वीकार गरेर अघि बढ्यौं र त्यसैअनुरुप अहिले संसद् अधिवेशन चलिरहेको अवस्था छ । त्यसैगरी सर्वोच्चको यो पछिल्लो फैसला छ त्यसलाई पनि हामी मान्छौं र कार्यान्वयन गर्दै अगाडि बढ्छौं ।

ऋषि कट्टेलले पार्टीको नाममा दाबी गर्नुभएको थियो । तर, अदालतले नेकपाको एकीकरणलाई नै खारेज गरिदियो । रिट निवेदकले माग दाबी गरेभन्दा अदालतले फरक फैसला दियो भन्ने प्रश्न छ नि ?

कुरा त्यस्तो होइन । सर्वोच्च अदालतले ठीकै निर्णय गरेको छ भन्ने कोणबाट पनि उठेको छ । तर, यसभित्र म साह्रै धेरै प्रवेश गर्न चाहन्न । म त्यो मुद्दाको सन्दर्भमा के मात्रै भन्छु भन्दा हामी विपक्षी हौं । र, छोटो बुझ्ने भाषामा भन्दा पुर्नस्थापनाको मुद्दामा पनि हामी हार्यौं । सर्वोच्चले हामीलाई हरायो । हामीले त्यसो हुन हुन्न भनेर जवाफ फर्काएका छौं । हाम्रो तर्फबाट बहस गरिएको छ । यस मुद्दामा विपक्षी बनाइएको केपी ओली र प्रचण्डलाई हो । हामी यसको विपक्षी हौं । ऋषि कट्टेलजीले मुद्दा जित्नुभयो । हामीले हार्यौं । यथार्थ कुरा यही नै हो ।

पार्टी एकतापछि नेकपाको नाम र हैसियतमा धेरै निर्णय भएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन भएका छन् । सर्वोच्चको निर्णयले यी विषयमा कस्तो प्रभाव पर्छ ?

जो नेकपा एमालेबाट सूर्य चिन्ह लिएर निर्वाचन लडेर आएका थिए, उनीहरू एमालेमै रहने भए । जो माओवादी केन्द्रबाट अर्को चुनाव चिन्ह लिएर चुनाव लडेका थिए, उनीहरू माओवादी केन्द्र नै हुने भए । तर, पार्टी एकीकरण पश्चात् निर्वाचित या कुनै प्रक्रियाबाट आएका साथीहरूको हकमा केही प्रश्न र जटिलता छ त्यो हामीलाई थाहा छ । त्यसको हकमा भने कानुन बमोजिम नै हुन्छ, त्यसरी नै हामी अगाडि बढ्छौं । यसमा सर्वोच्च अदालतको फैसला बमोजिम निर्वाचन आयोग नै अग्रसर भएर केही निर्णय गर्ला । जे होस् संविधान र कानून बमोजिम नै यो टुंगोमा पुग्छ । यसमा कुनै पनि अप्ठ्यारो रहँदैन ।

अदालतले पनि पार्टी एकता गर्ने हो भने नयाँ प्रक्रियाबाट अघि बढ्नु भनेको छ । अब माओवादीसँगको पुनः एकता प्रक्रिया शुरु गर्नुहुन्छ ?

सर्वोच्च अदालतले गरेको पछिल्लो फैसलाको हकमा पनि हामीेले प्रष्ट बोलेका छौं । प्रधानमन्त्रीज्यूले बोल्नुभएको छ । हामी त कानूनको शासनमा विश्वास गर्छौं । सर्वोच्चले निर्णय गर्ने हो । उसले निर्णय गर्यो । हामीले यो मुद्दा हारेको भएपनि सर्वोच्चले निर्णय गरेपछि मान्छौं भनेका छौं । उसले अब तिमीहरू पार्टी एकता गर्नेभन्दा अघिको अवस्थामा पुग्यौ है भनेको छ । निर्वाचन आयोगलाई उसले आदेश दिएको छ । उक्त आदेश बमोजिम आयोगले आफ्नो निर्णय गर्ने होला । त्यसरी नै अघि बढ्छौं अर्थात् एकता भन्दा अघिकै नेकपा एमाले र माओवादी केन्द्रको स्थितिमा हामी पुग्यौं ।

subassutra1.PNG

नेकपा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत सरकारमा हुनुहुन्छ  । उहाँहरूको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

उहाँहरुले प्रष्ट शब्दमा भन्नुभएको छ, ‘हामीले केपी ओलीलाई समर्थन गरेको सिद्धान्तमा आधारित भएर हो ।’ नीतिगत रूपमा उहाँसँग हामी सहमत भएरै हामी एकै ठाउँमा उभिएका छौं । त्यसकारणले हामी उहाँसँगै रहन्छौं पदको कुरा ठूलो होइन भन्ने भनाई उहाँहरुको छ । पद त आउँछ–जान्छ त्योसँग हामी त्योसँग जोडिएर बस्दैनौं भनेर भनिसक्नु भएको छ ।

अहिले तपाईंहरू र माधव नेपालबीच सम्बन्धको अवस्था के हो ?

अदालतको फैसलापछि उहाँहरू अब आफ्नो पार्टीमा नै फर्किन्छौं र मिलेर बस्छौं भनेर निर्णय गर्नुभयो भन्ने कुरा मैले आधिकारिक रूपमै सुन्न पाएँ । मलाई खुसी लाग्यो । हाम्रो पार्टीमा उहाँहरूलाई स्वागत छ । फेरि हामी एकठाउँमा बसेर यो आन्दोलनलाई बलियो बनाउँदै अगाडि जान के–के गर्नुपर्छ सल्लाह गरेरै निचोडमा पुग्छौं ।

यो बीचमा दुवै तर्फबाट व्यक्तिगत स्तरका आरोप-प्रत्यारोप भए, एक पक्षले अर्को पक्षलाई खुइल्याउने काम भयो, त्यसलाई बिर्सिएर तपाईंहरू कसरी एक भएर अगाडि बढ्नुहुन्छ ?

आरोप–प्रत्यारोप लगाउने कुराहरू जहाँबाट भएको होस् त्यो बेठीक थियोे । त्यस्तो कुरा किमार्थ ठीक हुन सक्दैन त्यतिबेला पनि मैले त भनेको थिएँ । मैले कहिल्यै पनि एक शब्द प्रयोग गरिनँ र, मैले आग्रह गरेँ राजनीतिमा प्रत्येक कुराको सम्भावना हुन्छ । भोलि फेरि एकै ठाउँमा बस्न सकिन्छ । त्यसैले यस्ता आरोप–प्रत्यारोप नगरौं भन्ने मेरो आग्रह थियो । त्यसैले अहिले मलाई केही फरक परेको छैन । मैले देखिरहेको छु, हाम्रा कमरेडहरू खुसी हुनुहुन्छ । उहाँहरू अब सबै आउनुहुन्छ, हामी सबै एकठाउँमा छौं । हाम्रो पार्टी नेकपा एमाले मात्रै होइन, सिंगो कम्युनिष्ट आन्दोलनलाई नै सुदृढ र एकताबद्ध बनाउन हामी लाग्छौं ।

अब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा के हुन्छ ?

माओवादी केन्द्रले अहिले पनि हाम्रो यही सरकारलाई समर्थन छ भन्यो भने एउटा स्थिति बन्छ । विश्वास दिन्नँ भन्यो भने अर्को स्थिति होला । अथवा संसदमै रहेका अरू राजनीतिक दलहरू पनि छन् । ती राजनीतिक दलहरूले के भन्छन् । यी सबै आधारमा उभिएर एउटा निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

हेर्नुहोस् भिडियो अन्तर्वार्ता…

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट